गरुडामा फुटपाथ सरसफाई र सुन्दरीकरण केवल कागजमै? जनताको गुनासो बढ्दो

गरुडामा फुटपाथ सरसफाई र सुन्दरीकरण केवल कागजमै? जनताको गुनासो बढ्दो

रौतहट, २० वैशाख। रौतहटको गरुडा नगरपालिकामा पर्ने गरुडा बजार क्षेत्रमा फुटपाथ सरसफाई र सुन्दरीकरणको चर्चा धेरै भए पनि व्यवहारमा कुनै उल्लेखनीय काम भएको देखिँदैन। बजारका मुख्य सडक किनार फोहर थुप्रिएको, फुटपाथ अतिक्रमण बढेको र पैदल यात्रुहरू सडकमै हिँड्न बाध्य भएको अवस्था अझै कायमै छ।

रौतहटको मध्यभागमा अवस्थित गरुडा एक प्रमुख व्यापारीक नगरीका रूपमा चिनिन्छ। चन्द्रपुर र गौरको बीचमा पर्ने यस क्षेत्रमै विभिन्न ठाउँबाट दैनिक रूपमा सयौँ मानिसको आवागमन हुने गर्छ। तर, यति महत्वपूर्ण स्थान हुँदाहुँदै पनि यहाँको सरसफाई र व्यवस्थापन अत्यन्त कमजोर देखिएको छ।

स्थानीयवासीका अनुसार नगरपालिकाले बेला–बेला योजना र घोषणा गरे पनि कार्यान्वयन पक्ष फितलो छ। “फुटपाथ छ तर हिँड्न पाइँदैन, पसल र ठेलाले ओगटेको छ,” एक स्थानीयले गुनासो गरे।

बजार क्षेत्रमा जथाभावी फोहर फालिने, डस्टबिनको अभाव र नियमित सरसफाई नहुँदा वातावरण अस्वस्थ बन्दै गएको छ। सुन्दरीकरणको नाममा ठोस काम नदेखिएको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

यस विषयमा गरुडा नगरपालिका र गरुडा नगर उद्योग वाणिज्य संघको गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिएको छ। बजार व्यवस्थापन, फुटपाथ खाली गराउने, नियमित सरसफाई तथा दीर्घकालीन सुन्दरीकरण योजनामा दुवै निकायको सक्रियता अपरिहार्य देखिन्छ।

गरुडाको विकास केवल भाषणमै सीमित रहने कि व्यवहारमा पनि देखिने?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस