हेटौंडा कपडा उद्योग सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय अग्रसर, सरसफाइ सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (२ महिना अघि)
  • १०६ पटक पढिएको
हेटौंडा कपडा उद्योग सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय अग्रसर, सरसफाइ सुरु

काठमाडौं, ०५ असार। दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको छ । हेटौंडा आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कपडा उद्योग सञ्चालनमा प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष अग्रसरता लिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको अनुगमनसमेत गरेकी छिन् । मन्त्रीसहितको टोलीको अनुगमनपछि प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले कपडा उद्योगलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयबाट हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामासँग कपडा उद्योग सञ्चालनको सम्बन्धमा दुई दिनअघि फोनमार्फत छलफलसमेत भएको छ । प्रधानमन्त्री कार्यालयसँग कपडा उद्योग सञ्चालनमा उपमहानगरको भूमिकाबारे कुराकानी भएको नगर प्रमुख लामाले बताइन् ।

कपडा उद्योग चलाउन उपमहानगरको आगामी आर्थिक वर्षको सबै बजेट हाल्न पनि तयार भएको जवाफ आफूले दिएको लामा बताउँछिन् । प्रधानमन्त्री कार्यालयको अग्रसरताले कपडा उद्योग सञ्चालन हुने विश्वास दिलाएको प्रमुख लामाले बताइन् । ‘यो उद्योग चले मुलुकको आर्थिक उन्नतिमा बल पुग्नेछ । रोजगारी सिर्जनासँगै हेटौंडा र आसपासका क्षेत्र चलायमान हुने छन्,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्यालयको चासोसँगै नगर प्रमुख लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कपडा उद्योगको अनुगमन गरेका छन् । उद्योग मन्त्री गौरीकुमारी यादवले १० जेठमा उद्योगको अनुगमन गरेकी थिइन् ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी छिन् ।

उनले भनिन्, ‘रुग्ण उद्योगहरूमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउँछौं ।’

हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ बाट सञ्चालित कपडा उद्योगसँगै बुटवलमा धागो कारखाना र बाँकेको नेपालगञ्जमा कपास उत्पादन कारखाना पनि सँगै सञ्चालनमा ल्याइएको हेटौंडा औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भण्डारीले बताए । उनका अनुसार कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द हुन पुगेका थिए ।

भण्डारीका अनुसार कपडा उद्योग तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । ‘मेसिनहरू केही भएको छैन । केही ठाउँमा मात्रै मेसिनमा खिया लागेको छ । सामान्य मर्मतपछि सञ्चालन हुन्छन् । भवनहरू पनि राम्रो अवस्थामा छन् । केही मर्मत-सम्भारपछि उद्योग पूर्ण क्षमतामा चल्न सक्छ,’ भण्डारीले भने ।

पहिलो पटक उद्योग परिसर सरसफाइ

कपडा उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । त्यसअघि उद्योग परिसरको सुरक्षामा दुई जना हेरालु मात्रै थिए ।

उद्योगका बाहिरी क्षेत्रमा रहेका केही पाटपुर्जा विगतमा चोरी भएको सुरक्षा निकायको रिपोर्ट छ । यो उद्योग एक समय लागुऔषध सेवनकर्ताको अखडा बनेको थियो । सशस्त्र बस्न थालेपछि भने उद्योगको पूर्ण सुरक्षा भएको छ ।

उद्योग बन्द भएको दुई दशक बढी समयपछि पहिलो पटक उद्योगको पूर्ण सरसफाइ सुरु गरिएको छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले एकसाथ उद्योग परिसरको सरसफाइ गरेको सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक निबन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो पटक उद्योगको कंक्रिट संरचनाको पनि सरसफाइ भएको हो । ‘भवनको माथिल्लो भागमा रुख, बिरुवा उम्रिसकेका थिए । अहिले सरसफाइ भएको छ । झाडी फाँड्ने र अन्य सरसफाइको काम जारी छ,’ श्रेष्ठले भने ।

पटकपटक पुनः सञ्चालनको प्रयास

२०५७ सालमा उद्योग बन्द भएलगत्तै सञ्चालनको प्रयास गरिए पनि सफल भएको थिएन । त्यसपछि २०५८ मा सरकारले निजीकरण प्रयास सुरु गरे पनि दुई पटकसम्म सूचना निकाल्दा पनि कुनै आवेदन नै परेको थिएन ।

२०६५ सालमा पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला उद्योग सञ्चालनका लागि ८ करोडभन्दा बढी रकम विनियोजन भएको थियो । त्यो रकम बालुवामा पानी हाले सरह भयो ।

२०६९ मा उद्योगको सम्पूर्ण जायजेथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजु (आईडीएम)मा आएपछि पनि पटकपटक सरकारको बजेटमा अस्तित्वमै नभएको हेटौंडा कपडा उद्योग चलाउने भनेर घोषणा भयो । त्यसपछिका उद्योगमन्त्रीहरूले अध्ययनसमेत गराए ।

पूर्वउद्योग मन्त्रीहरू अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत र नविन्द्रराज जोशीले हेटौंडा कपडा उद्योग चलाउने बताएका थिए । उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूको कार्यकालमा पनि मन्त्रालयबाट अध्ययनका लागि सहसचिवहरूको टोली आएको हेटौंडा आईडीएमले जानकारी दिएको छ ।

प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा उनकै सक्रियतामा नेपाली सेनाले उद्योग सञ्चालनको लागि अध्ययन गरेको थियो । नेपाली सेनाले पटकपटक कपडा उद्योगमै आएर अध्ययन गरेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । नेपाली सेनाले यो उद्योग चलाउन करिब २ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव सरकारलाई यसअघि नै पेस गरेको थियो ।

सरकारी अभिलेखबाट हटिसक्यो

हेटौंडा कपडा उद्योग अहिले सरकारी अभिलेखबाटै हटिसकेको छ । १२ माघ २०७९ को मन्त्रिपरिषद्ले हेटौंडा कपडा उद्योगको भवन तथा जग्गा आईडीएमलाई हस्तान्तरण गरी लिमिटेडमा सरकारको सेयर कायम गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार उद्योगको २५६ रोपनी जमिनको मूल्य २० करोड १९ लाख र भवन तथा भौतिक पूर्वाधारको मूल्य ८ करोड १२ लाख रुपैयाँ मूल्यांकन गरिएको थियो । त्यो बराबर सेयर रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा सरकारका नाममा कायम गर्ने निर्णय त्यसबेला भएको थियो ।

उद्योगको प्लान्ट तथा मेसिनरीलगायत मूल्य ८ करोड १४ लाख रुपैयाँ कायम गरी त्यसमध्ये ७ करोड रुपैयाँ सरकारले लिने र बाँकी लिमिटेडलाई वार्षिक ५ प्रतिशतका दरले लगानी गर्ने निर्णय पनि भएको थियो । मन्त्रिपरिषद्कै निर्णयबमोजिम खारेज भएको कपडा उद्योगको विवरण कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागबाट पनि हटाइसकिएको छ ।

अब उद्योगको स्वामित्वमा न कुनै जग्गा छ, न भवन र मेसिनरी । त्यति मात्रै होइन, विगतमा हेटौंडा कपडा उद्योगको भवनले चर्चेको जमिनबाहेक बाँकी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अन्य २३ उद्योगीलाई भाडामा लगाइसकेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको अभिलेखमा छ ।

२० फागुन २०७१ मा तत्कालीन उद्योग मन्त्री महेश बस्नेतले विस्तारित औद्योगिक क्षेत्र (हेटौंडा औद्योगिक क्षेत्र-२) को शिलान्यास गरेका थिए । २० बिघा १२ कठ्ठा ८ धुर जग्गामा आईडीएमले औद्योगिक क्षेत्र विस्तार गरेको थियो ।

उद्योगको कूल जमिनमध्ये साउथ एसियन ब्रुअरी प्रालिले सबैभन्दा धेरै १०५ रोपनी, अविनाश एग्स प्रालिले ९.७५ रोपनी भाडामा लिएका छन् । उद्योग परिसरको २४३ रोपनीमध्ये ५५ रोपनी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अन्य उद्योग सञ्चालनका लागि भाडामा दिएको छ ।

हाल कपडा उद्योग रहेको १८८ रोपनी जग्गामा विभिन्न साना तथा मझौला करिब एक दर्जन उद्योग सञ्चालनमा आउन सक्छन् । तर जीर्ण भवन र खिया लागेका मेसिन भवनभित्र बन्द कोठामा थन्किएका छन् । न कपडा उद्योग नै चलेको छ, न यहाँ नयाँ उद्योग सञ्चालनको लागि जग्गाको उपयोग हुन सकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस