बर्डफ्लु फैलिनुमा काग मुख्य कारण, उपत्यका र काभ्रे उच्च जोखिममा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (७ घण्टा अघि)
  • ४३ पटक पढिएको
बर्डफ्लु फैलिनुमा काग मुख्य कारण, उपत्यका र काभ्रे उच्च जोखिममा

काठमाडौं, १४ असार। पछिल्लो समय काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण तीव्र रूपमा फैलिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा दिनहुँ संक्रमण भेटिएको पशु सेवा विभागले जानकारी दिएको छ ।

साना र स्थानीय स्तरमा पालिएका कुखुराहरूमा रोग देखिएपछि यसको नियन्त्रणमा चुनौती थपिएको छ ।

पशु सेवा विभागका अनुसार १० असारसम्म यी ४ जिल्लाका ४० स्थानमा बर्डफ्लुको संक्रमण पुष्टि भएको थियो । तर, बिहीबार, शुक्रबार र शनिबार थप ३ दिनमा अरू १७ ठाउँमा संक्रमण देखिएको छ । अहिले यी ४ जिल्लाका ५७ स्थानमा बर्डफ्लु देखिइसकेको विभागले जनाएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला भक्तपुर रहेको छ । भक्तपुरका मात्रै २५ स्थानमा संक्रमण पुष्टि भएको छ, जसमा चाँगुनारायण क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको छ ।

यसका साथै सूर्यविनायक र मध्यपुर थिमी लगायतका क्षेत्रमा साना फार्महरूमा बर्डफ्लु फैलिएको छ । त्यसैगरी, काठमाडौंका कीर्तिपुर, टोखा, कागेश्वरी मनोहरा र बूढानीलकण्ठ गरी १५ स्थानमा संक्रमण देखिएको छ भने ललितपुरको गोदावरी, महालक्ष्मी र सुनाकोठीका १२ स्थानमा बर्डफ्लु फैलिएको छ । उपत्यका बाहिर काभ्रेको पनौती र बनेपाका ५ वटा व्यावसायिक फार्महरूमा पनि संक्रमण पुष्टि भएको विभागले जनाएको छ । १० असारसम्म काभ्रेमा जम्मा २ स्थानमा मात्रै संक्रमण पुष्टि भएको थियो ।

‘मरेका कुखुरा जथाभावी फ्याँक्दा मानिसमा सर्ने जोखिम’

विगतमा कोशी प्रदेशलगायतका क्षेत्रमा ठूला व्यावसायिक (कमर्सियल) फार्महरूमा संक्रमण देखिँदा नियन्त्रण गर्न सहज भए पनि काठमाडौंमा भने रोगको प्रकृतिले जटिलता थपेको डा. उपाध्यायले बताए ।

‘व्यावसायिक फार्ममा देखिँदा आवतजावतमा रोक लगाएर मुभमेन्ट कन्ट्रोल गर्न र कुखुरा नष्ट गर्न हामीलाई निकै सजिलो थियो,’ डा. उपाध्यायले अनलाइनखबरसँग भने, ‘तर, काठमाडौंमा भने स्थानीयस्तरमा पालिएका लोकल कुखुराहरूमा धेरै फैलिएको छ, कहाँ–कहाँ पालिएका छन् भन्ने थाहा पाउनै गाह्रो छ ।’

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण तीव्र गतिमा फैलिनुमा ‘काग’ मुख्य संवाहक बनेको पशु सेवा विभागको निष्कर्ष छ । कतिपय किसानले भाइरसका कारण मरेका कुखुरा बोरामा पोको पारेर जथाभावी फ्याँक्ने गर्दा अवस्था थप जोखिमपूर्ण बनेको हो ।

वरिष्ठ पशु चिकित्सक डा. उपाध्यायका अनुसार यसरी फ्याँकिएका संक्रमित कुखुराको सिनो खाएका कागले उडेर अन्यत्र पुग्दा भाइरसको विस्तार गरिरहेका छन् । ‘कतिपय ठाउँमा दुई–चारवटा कुखुरा मर्दा किसानले बाहिर फ्याँकिदिने गरेका छन्, जसलाई कुकुरले तानेर अन्तै पुर्‍याइदिन्छ, अहिले कागहरू पनि मरिरहेका छन्,’ उनले भने, ‘हामीले किसानलाई मरेका कुखुरा जथाभावी नफ्याँक्न र खाल्डोमा गाड्न अनुरोध गरेका छौं, सक्दो चाँडो संक्रमण स्रोतलाई नष्ट गर्न सकिएन भने भाइरसले नयाँ स्वरूप (म्युटेसन) लिएर तेस्रो भाइरस जन्मिने र मानिसबाट मानिसमै सर्ने उच्च जोखिम हुन्छ ।’

उनका अनुसार संक्रमित कुखुराको मासु खाएका काग उडेर नयाँ ठाउँमा पुग्छन् । त्यहाँ गएर उनीहरूले घाँस टिप्ने, दाना खाने र अन्य पन्छीको सम्पर्कमा पुग्ने गर्दा स्वस्थ कुखुरा तथा पन्छीमा तत्कालै रोग सरेको छ ।

कागको यही आनीबानी र एक ठाउँबाट अर्को ठाउँमा भइरहने चहलपहलका कारण विशेषगरी उपत्यकाका काँठ क्षेत्रमा बर्डफ्लु उच्च दरमा फैलिएको विभागको भनाइ छ ।

साढे ६ लाख कुखुरा र १० लाख अन्डा नष्ट

बर्डफ्लु नियन्त्रणको प्रयास स्वरूप सरकारले ठूलो परिमाणमा कुखुरा तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेको छ । डा. उपाध्यायका अनुसार हालसम्म देशभरि ६ लाख ६ हजार ७ सय ५८ वटा कुखुरा नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १ लाख ४८ हजार ४ सय ८९ वटा कुखुरा मारिएको छ ।

यस्तै, देशभरि ९ लाख ९४ हजार ६ सय ४९ वटा अन्डा र १ लाख ९५ हजार ५ सय ९५ किलो दाना नष्ट गरिएको विभागको तथ्यांक छ । संक्रमण देखिएका स्थानमा स्थानीय तह, जिल्ला, प्रदेश र संघीय सरकारको समन्वयमा ‘द्रुत प्रतिकार्य टोली’ (र्‍यापिड रेस्पोन्स टिम) परिचालन गरी कुखुरा नष्ट गर्ने र खोरलाई पूर्णरूपमा निर्मलीकरण गर्ने काम भइरहेको छ ।

राहतका लागि ५२ करोड व्यवस्था

कुखुरा नष्ट गरिएका किसानहरूलाई राहत वितरण गर्न सरकारले ५२ करोड रुपैयाँ व्यवस्था गरेको छ । अर्थ मन्त्रालयबाट रकमान्तर भएर पशु सेवा विभागमा उक्त रकम आइसकेको छ ।

‘हामीसँग राहत कोषमा सुरुमा २ करोड रुपैयाँ मात्र थियो, पछि रकमान्तर गरेर थप ५० करोड पनि आइसकेको अवस्था छ, जम्मा ५२ करोड रुपैयाँ हामीसँग छ,’ डा. उपाध्यायले भने, ‘अहिलेसम्म देशभरि करिब ५७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ ।’

सरकारले क्षतिको ७५ प्रतिशत मात्र राहत दिने भएकाले यो ५२ करोडले उपत्यका र कोशी प्रदेशलगायतका पीडित किसानलाई अहिलेको अवस्थासम्म दिन पुग्ने उनले बताए । उनका अनुसार डेढ महिनाअघि नष्ट गरिएका कोशी प्रदेशका किसानहरूबाट राहतका लागि कागजात मागिसकिएको छ भने उपत्यकाका किसानहरूलाई पनि प्रक्रिया पुर्‍याएर तत्कालै राहत वितरण गरिनेछ । अपुग रकम अर्को आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिनेछ ।

४ चैत २०८२ मा कोशी प्रदेशको मोरङ जिल्लास्थित सुन्दरहरैंचा–४ र उर्लाबारी–८ मा बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता विस्तारै देशका अन्य भागमा फैलिँदै गएको थियो।

विभागका अनुसार अनुसार ४ चैतयता ११ जिल्लामा संक्रमण फैलिएको छ । यसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे बाहेकका ७ जिल्ला चितवन, झापा, मोरङ, सुनसरी, नवलपरासी पश्चिम, बारा र महोत्तरीेमा बर्डफ्लु नियन्त्रणमा आइसकेको छ ।

बर्डफ्लु संक्रमण नियन्त्रण गर्न चितवनमा ५७ हजार ६३ कुखुरा, २ लाख ९५ हजार ५० वटा अन्डा र १२ हजार किलो दाना नष्ट गरिएको विभागले जनाएको छ । यस्तै झापामा २० हजार ९० कुखुरा, ९७ हजार ४ सय ५० वटा अन्डा र १० हजार ४ सय ६५ किलो दाना, मोरङमा १ लाख १ हजार ८ सय ६० कुखुरा, ९८ हजार ३२ अन्डा र २३ हजार ८ सय १० किलो दाना नष्ट गरिएको छ ।

सुनसरीमा २ लाख ८५ हजार ५ सय ६४ वटा कुखुरा, ४ लाख २७ हजार ५ सय ८० वटा अन्डा र १ लाख २० हजार २ सय २५ किलो दाना नष्ट गरिएको विभागले जनाएको छ ।नवलपरासी पश्चिममा २ सय ८ वटा कुखुरा र १ सय किलो दाना, बारामा २ हजार ८ सय ६५ कुखुरा, ४ हजार १ सय २२ वटा अन्डा र ३ हजार १ सय २५ किलो दाना र महोत्तरीमा ७८ वटा कुखुरा नष्ट गरिएकोे छ ।

सरकारले यही तथ्यांकका आधारमा अहिलेलाई राहत वितरण गर्न लागेको छ । बर्डफ्लु संक्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसक्दा किसान र पोल्ट्री क्षेत्रले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहाल रोग विस्तारै नियन्त्रणोन्मुख अवस्थामा गइरहेको भए पनि पूर्णरूपमा नियन्त्रणमा ल्याउन अझै चुनौतीपूर्ण देखिएको बताउँछन् । ‘विशेषगरी जैविक सुरक्षा (बायोसेक्युरिटी) नअपनाइएका र सँगसँगै पालिएका लोकल कुखुराहरूमा बढी संक्रमण देखिएको छ,’ दाहालले भने, ‘यो भाइरस कोभिडभन्दा पनि तीव्र गतिमा फैलने प्रकृतिको छ ।’

दाहालका अनुसार भक्तपुरको चाँगुनारायण र सूर्यविनायक क्षेत्र अहिले बर्डफ्लुको मुख्य ‘हटस्पट’ को रूपमा देखा परेका छन् र यी क्षेत्रमा क्रमिक रूपमा नियन्त्रणको प्रयास भइरहेको छ ।

राति १२ बजेसम्म खटिन्छ ‘रेस्पोन्स टिम’

बर्डफ्लुको कुनै प्रभावकारी उपचार र खोप नभएकाले रोग देखिएको ठाउँमा पन्छी नष्ट गर्नुको विकल्प नरहेको विभागले प्रस्ट पारेको छ ।

‘यो रोगको उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जहाँ रोग देखियो, त्यो ठाउँबाट भाइरस अन्यत्र नजाओस् भन्नका लागि पन्छी नष्ट गर्ने एउटै मात्र विकल्प छ,’ महानिर्देशक डा. दाहालले भने, ‘हाम्रो टोली राति ११–१२ बजेसम्म खटेर पन्छी, दाना र अन्डा नष्ट गर्ने काम गरिरहेको छ, रोग देखिएको जानकारी पाउनासाथ तत्कालै प्रतिकार्य गरिरहेका छौं ।’

बर्डफ्लुको त्रासले खस्कियो कुखुराको मासु व्यवसाय

बर्डफ्लु संक्रमण बढेसँगै उपभोक्तामा देखिएको मानसिक त्रासको सिधा असर कुखुराको मासु व्यवसायमा परेको छ । काठमाडौं उपत्यकाका व्यवसायीले मासुको माग र खपतमा उल्लेख्य गिरावट आएको बताएका छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार बर्डफ्लुको डरका कारण पछिल्लो समय उपत्यकामा कुखुराको मासुको बिक्री २० देखि ३० प्रतिशतसम्म घटेको छ ।

संघ अध्यक्ष जंगबहादुर बीसीले सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ३ लाख किलो मासुको माग हुने गरेकोमा अहिले त्यो परिमाण घटेर २ लाखदेखि २ लाख ४० हजार किलोको हाराहारीमा खुम्चिएको बताए ।

यसरी हेर्दा राजधानीमा मात्रै दैनिक ६० हजार किलोसम्म मासुको खपत कम हुन पुगेको छ । उनले कुखुरा मासुको मूल्य पनि घटेको बताए ।

आइकालु मिट सेन्टरका सञ्चालक कृष्णराम खड्कीले पनि आफ्नो पसलमा कुखुरा मासुको बिक्री ७० प्रतिशतसम्म घटेको बताए ।

कुखुराको मासुको खपत घटेसँगै उपभोक्ताको आकर्षण खसीको मासुतिर बढेको छ । सञ्चालक खड्कीका अनुसार बजारमा खसीको मासुको व्यापार २० देखि २५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, मागअनुसार जिउँदो खसीको अभाव रहेको उनले बताए ।

‘बजारमा जिउँदो खसीको नै सर्टेज छ, माग बढेपछि जिउँदो खसी निकै महँगो भएको छ, पहिले प्रतिकिलो ७ सय ७५ रुपैयाँ रहेकोे मूल्य अहिले ८ सयदेखि ८ सय ५० रुपैयाँसम्म पुगेको छ,’ उनले भने ।

खड्कीका अनुसार यसअघि बजारमा प्रतिकिलो १४ सय रुपैयाँमा बिक्री भइरहेको खसीको मासुको मूल्य बढेर अहिले १५ सय रुपैयाँ पुगेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार उच्च तापक्रममा बर्डफ्लुको भाइरस नष्ट हुने भएकाले उपभोक्ताले आवश्यक सावधानी अपनाएर कुखुराको मासु तथा अन्डा ढुक्कले खान सक्छन् ।

पशु सेवा विभागले मासु वा अन्डालाई कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्रोसँग पाक्ने गरी पकाएर मात्र सेवन गर्न सल्लाह दिएको छ । यसका साथै, मासु काट्न प्रयोग गरिने चक्कु, अचानो (काट्ने ठाउँ), भाँडाकुँडा र भान्साको सरसफाइमा विशेष ध्यान पुर्‍याउन पनि विभागले आग्रह गरेको छ ।

विभागको अपिल

विभागले पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाइसाथ लागु गर्न र पन्छीमा कुनै पनि असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा जानकारी गराउन अपिल गरेको छ ।

फार्म परिसरमा जैविक सुरक्षा विधि कडाइसाथ पालना गर्न, अन्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोगमा नल्याउन र ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनु अघि अनिवार्य रूपमा निसंक्रमण गर्न अनुरोध गरिएको छ ।

त्यस्तै काग र जंगली चराचुरुङ्गीबाट घरपालुवा पन्छी जोगाउन जैविक सुरक्षाका मापदण्ड अपनाउनुका साथै पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र ढुवानी गर्न सचेत गराइएको छ ।

विभागले कुनै पनि फार्म वा पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परे वा मरे तुरुन्त नजिकैको सरकारी पशु सेवा निकायमा खबर गर्न आग्रह गर्दै रोग नियन्त्रणको यस साझा अभियानमा सबै सरोकारवालाको सहयोग र सचेतना आवश्यक रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस