प्रधानमन्त्री बालेनलाई मौलापुरकी मेयरको ५ बुँदे आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • ५० पटक पढिएको
प्रधानमन्त्री बालेनलाई मौलापुरकी मेयरको ५ बुँदे आग्रह

काठमाडौं, ३० भदौ। मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बिभिन्न पाँच बुँदामा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर सार्वजनिक अपिल जारी गर्दै उनले मौलापुर नगरपालिका पुरै अस्तव्यस्त रहेको बताएकी छन् ।

संघीय सरकारका कारण पूर्णरुपमा ठप्प भएको भनेर उनले ध्यानाकर्षण गरेकी हुन् । ‘मेरो पहिलो कार्यकालको प्रथम आ.व. २०७४/०७५ देखि आ.व. २०८१ / ०८२ सम्म ९० प्रतिशत भन्दा बढी वित्तिय तथा भौतिक प्रगति गर्दै आएको यस नगरपालिकाले यहाँको सरकार गठन पश्चात संघीय सरकारको अनुचित हस्तक्षेप र कुदृष्टि परेको कारण गत आ.व. २०८२ /०८३ मा बजेट खर्च ५०.६८ प्रतिशतमा झरेको छ’, अपिलमा उल्लेख छ ।

संघीय सरकारले आफू नेतृत्वको नगरपालिकाका लागि खटाईएको उपसचिव प्रमुख प्रशासकीय अधिकृतले जनताका आधारभूत सेवाहरु विजुली, खानेपानी, सिंचाइ महसुलका साथै एकिकृत दलित वस्ति निर्माण, पशु पकेट विकास कार्यक्रम अगाडि बढाउन नचाहेको बताएकी छन् ।

साथै, बहुक्षेत्रिय पोषण कार्यक्रम, खानेपानीका लागि डिप बोरीङतर्फ शून्य बजेट खर्च गरेका कारण दलित विपन्न, कुपोषणको जोखिममा रहेका सिमान्तकृत समुदाय, कृषक एवं सुख्खाबाट प्रभावित आम जनसमुदाय सेवाबाट बञ्चित हुन पुगेको स्मरण गराएकी छन् ।

स्थापनाकाल देखि ९ वटा बजेट अधिवेशन प्रत्येक वर्ष असार मसान्तभित्र सम्पन्न गर्दै आएको नगरपालिकाको १०औं बजेट अधिवेसन हाकिम विहिनताको कारण असार मसान्तभित्र पारित हुन नसकेको उल्लेख गरेकी छन्

‘२०८३ साल असार १२ गतेबाट सम्पर्क विहिन रहेको हाकिम खोज्न म स्वयं असार २२ गते मन्त्रालय पुग्दा सचिवज्यू र मन्त्रिज्यूले दर्शन भेट दिन पनि अस्विकार गर्नुभयो’ उनले भनेकी छन्, ‘सम्पर्क विहिन रहेका प्रप्रअलाइ कारबाही गरि कार्यालयमा फर्काउनुको सट्टा निजलाइ प्रोत्साहन दिइ अन्यत्र सरुवा गरियो जसका कारण जनजिविकासंग जोडिएको करोडौं रकम खर्च हुन नसकी फीज हुन पुग्यो ।’

बदनियतपूर्ण तरिकाले असार मसान्त समाप्ति पछि संघीय सरकारले खटाएको प्रप्रअ २०८३ साल साउन ४ गतेबाट कार्यालयमा हाजिर भएको तर २०८३ साल भदौ ५ गतेबाट विना जानकारी अनुपस्थित रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हाकिम विहिनताको अवस्था कायमै छ ।’

यहाँनेर उनले बालेन्द्र शाह काठमाडौं महानगरपालिकको मेयर भएको समय स्मरण गरेकी छन् । ‘सम्माननीयज्यू आफैँ काठमाण्डौ महानगरको प्रमुख हुनुहुँदा प्रमुख प्रशासकीय अधिकृत नहुँदाको पीडा र अनुभव भोगिसक्नु भएकोले निम्नानुसारका सल्लाहका लागि विनम्र अनुरोध छ ।’

पूर्व नगर प्रमुखको नाताले हाकिम विहिनताको अवस्थाको कारण प्रधानमन्त्री आफैँले भोगिसकेको अनुभवलाई आत्मसात गर्दै आफ्नो नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन अविलम्ब प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गर्दै उनले ५ बुँदे सार्वजनिक अपिल गरेकी हुन् ।

५ बुँदे सार्वजनिक अपिल

१. तपाईंँ महानगरका नगर प्रमुख हुँदा सफाइ कर्मचारीहरुको तलव भुक्तानी १ हप्ता भित्र नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिनु भएको थियो । मेरा कर्मचारीहरुको तलव २ महिना देखि ८ महिना सम्म, जनप्रतिनिधीहरुको सुविधा ४ महिना, वडा संचालन खर्च ८ महिना भुक्तानी हुन बांकी रहेको छ, यसका लागि ककसलाई लालबकैयामा गाड्नु पर्ने हो ? सल्लाह पाउँ ।

२. मैले दोश्रो कार्यकालको पदभार ग्रहण गरेको पहिलो दिन २०७९।०२।०६ गते गरेको प्रतिबद्धता अनुरुप ठेक्का बन्दोवस्त भई निर्माणधिन रहेको वडा नं. ९ स्थित सोनरनिया एकिकृत दलित वस्ति निर्माण कार्यको गत आव र चालु आवमा उपसचिव प्रप्रअहरुले भुक्तानी नदिएको कारण उक्त आयोजनाको कार्य हाल अवरुद्ध भई यसै आवमा अति विपन्न दलित समुदायले सुविधा सम्पन्न आवास पाउने सपना माथि बज्रपात हुने संभावना देखिएकोले दलित समुदायलाई मैले कसरी चित्त बुझाउने हो ? सल्लाह पाउं ।

३. मौलापुर नगरसभाबाट २०७८ साल देखि निरन्तर सर्वसम्मत पारित नगर गौरवका नि:शुल्क विजुली पानी कार्यक्रमका ५ हजार भन्दा बढी लाभग्राहीहरुको विद्युत महसुल सम्मानीत सर्वोच्च अदालतको आदेश पछि पनि भुक्तानी नभएको कारण नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रले जनताको विद्युत लाइन काट्न थालेकोले जनआक्रोसबाट सिर्जित हुने अप्रिय घटनाको जिम्मा कसले लिने हो? जानकारी पाउँ ।

४. मौलापुर नगरसभाबाट २०७४ साल देखि निरन्तर सर्वसम्मत पारित नगर गौरवका छोरी संग मेयर कार्यक्रमबाट गत आ.व.मा भुक्तानी हुन बांकी रहेका ३ सय भन्दा बढी विपन्न लाभग्राहीहरुको छोरीको विवाहका लागि अनुदान रकम भुक्तानी नभएको कारण उहांहरु दिनहुँ कार्यालय आउने र रित्तो हात फर्किने अवस्थाको सिर्जना भएको छ । ती सिमान्तकृत विपन्न छोरीका अभिभावकको श्रापको भागिदार को हुने हो ? जानकारी पाउँ ।

५. आजको मितिमा पेट्रोल पम्पवालाले कार्यालयलाई ईन्धन दिदैनन्, अतिथी सत्कारकोलागि चिया पसलले चिया दिदैनन्, इन्टरनेटको लाइन काटीएको कारण नगरपालिका र मातहतका कार्यालयबाट अनलाइन सेवाहरु अवरुद्ध छन् । फोहोरमैला एवं नाला व्यवस्थापन नहुँदा चांडवांड सुरु हुन लागेको वेला नगर स्वच्छ, सफा हुनुको सट्टा आज दुर्घन्धित हुन पुगेको छ । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरु आन्दोलित हुने अवस्था बन्दै गएको छ । यहांको कार्यकालको प्रथम वर्ष “सुशासनका लागि शून्य सहनशीलता” को नाराबाट हौसिएका हामी मौलापुरमा यहांको सरकारको कस्तो सुशासन हो ? स्पष्ट हुन पाउँ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस