‘अध्यक्षको राजीनामा नमाग्ने सहमति बन्यो’ : महेश बस्नेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२ घण्टा अघि)
  • ३ पटक पढिएको
‘अध्यक्षको राजीनामा नमाग्ने सहमति बन्यो’ : महेश बस्नेत

काठमाडौं, ०४ असोज । एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।

भर्खरै सकिएको कार्यदलको बैठकले यस्तो सहमति गरेको उनको दाबी छ । उक्त प्रतिवेदन अब पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने सचिव महेश बस्नेतले जानकारी दिए ।

आज पार्टी कार्यालयमा बसेको कार्यादलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेका प्रतिवेदनलाई एकीकृत पारेर ल्याइएको र उक्त प्रतिवेदन अब अघि बढ्ने उनले बताए ।

‘यो समग्र परिवेशलाई ध्यानमा राखेर कार्यदलको बल्थली बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौं त्यसका सन्दर्भमा केही कुराहरूलाई अझ स्पष्ट पार्ने गरी छलफल भयो’ बैठकपछि बस्नेतले भने ।

अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने भन्ने कुरा भ्रामक भएको दाबी गर्दै उनले अब अध्यक्षको राजीनामा कहीँ-कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले कहीँ-कतै नगर्ने सहमति भएको दाबी गरे ।

राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक चाहिँ पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी र वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधपूर्ण, निरङ्कुश तथा जनविरोधी शैलीविरुद्ध सशक्त आन्दोलन गर्नेगरी बोलाउने सहमति भएको उनको भनाई छ ।

‘अब पार्टीको विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने कि नबोलाउने भन्ने विषयमा, अहिले बोलाउनु उपयुक्त हुँदैन र बोलाइँदैन। कम्युनिस्ट पार्टीभित्र नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको कुरा आउनु स्वाभाविक हो; त्यसबारे धेरै व्याख्या गरिरहनुपरेन’ उनले भने,’विधान महाधिवेशनमा विगतका निर्णयहरूबारे छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्न सकिन्छ।’

प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावहरूलाई समावेश गरिने उनले बताए । उनले अध्यक्षले राजीनामा दिने लगायतका कुरा प्रतिवेनमा नलेखिने दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस