पार्टीको संसदीय भूमिकाबारे छलफल गर्दै नेकपा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४० पटक पढिएको
पार्टीको संसदीय भूमिकाबारे छलफल गर्दै नेकपा

काठमाडौं, ०४ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संसदीय भूमिका केलाउँदै छ ।

यसबारे केन्द्रीय संयोजन समितिको बैठकमा छलफल हुने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

‘संसद्भित्र हामीले खेल्दै आएको भूमिका र आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि छलफल हुनेछ,’ उनले भने ।

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्दैछ ।

‘बैठकको एजेन्डा वितरण भएको छैन । तर मूलत: आन्तरिक संगठनात्मक सवाल, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही, रसुवाको विनाशकारी बाढी लगायत प्राकृतिक विपद्मा सरकारको भूमिका र पार्टीको उपस्थितिका साथै संसदीय गतिविधिको विषयमा छलफल हुनेछ ।’

बैठकपछि पार्टीले संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा केही निर्णय लिइने नेताहरूले बताएका छन् ।

साथै, समसामयिक विषय र प्राकृतिक विपद्पछिको अवस्थाका सन्दर्भमा सरकारलाई सुझाव दिइने प्रवक्ता ज्वालाले जानकारी दिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा १७ सिटसहित चौथो दलको रुपमा छ । ५९ सदस्यीय राष्ट्रिय सभामा पनि नेकपा १७ सिटसहित दोस्रो दलको रूपमा छ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपाबाटै निर्वाचित नारायणप्रसाद दाहाल छन् ।

सरकार र सत्तारुढ दल रास्वपाले प्रतिनिधिसभाबाट सहजै विधेयक पास गर्न सके पनि राष्ट्रिय सभामा अप्ठ्यारो हुने बताउँदै आएका छन् । यो विषय सार्वजनिक रूपमा समेत उठेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट छ । बाँकी सिटमा कांग्रेसका ३८, नेकपा एमालेका २५, श्रम संस्कृति पार्टीका सात र राप्रपाका पाँच जना सांसद् छन् । स्वतन्त्र सांसद महावीर पुन सरकारमै छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल ५७ जना सांसद् बहाल छन् । जसमा सबैभन्दा ठूलो दल कांग्रेसका २४ जना छन् । दोस्रोमा रहेको नेकपाका १७, तेस्रोमा रहेको एमालेको १० जना सांसद् छन् । जनता समाजवादी पार्टी नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक जना र राष्ट्रपतिबाट मनोनित दुई जना सांसद रहेका छन् ।

नेताहरूका अनुसार यस्तो संसदीय अंकगणितको पृष्ठभूमिमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीले खेल्दै आएको भूमिका केलाएर आगामी दिनमा संसद्‍मा पार्टीकोा भूमिका कस्तो हुने भनेर तय गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस