देवानगञ्ज घटनाका घाइतेको शल्यक्रिया, शरीरबाट निकालियो गोली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
देवानगञ्ज घटनाका घाइतेको शल्यक्रिया, शरीरबाट निकालियो गोली

सुनसरी, ०४ असोज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।

मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए । घटना लगतै उनलाई नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । आइतबार बिहान शल्यक्रिया गरेर उनको शरीरबाट गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार शरीरबाट निकालिएको गोली कटुवा पेस्तोलको जस्तो देखिन्छ । तर, गोलीको परीक्षणपछि मात्रै कुन हतियारबाट प्रहार भएको भन्ने खुल्नेछ ।

यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो। हतियार र गोलीको खोका नभेटिएका कारण प्रहरीले शल्यक्रियापछि मात्रै गोली लागेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषय खुल्ने बताएको थियो । शल्यक्रिया गरी चिकित्सकको टोलीले गोली निकालेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाउँ नजिकै गोली चलेपछि स्थानीयले विष्णु र जयकृष्णलाई नियन्त्रणमा लिएर रुखमा बाँधेका थिए। प्रहरी पुगेपछि स्थानीयले उनीहरूलाई जिम्मा लगाएका थिए। उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा आगजनी गरेका थिए । डीएसपी खड्काले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

शनिबार बेलुका आफ्ना छिमेकी विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका बेला निरजमाथि गोली प्रहार भएको थियो । गोली प्रहार गर्ने समूहले विवेकमाथि पनि हातपात गरेको थियो । ‘पुरानो रिसिइबीका र युवतीको विषयलाई लिएर पनि विवाद थियो भन्ने छ,’ उनले भने,‘ यस विषयमा अनुसन्धान गरिरहेका छौं ।’

गत साउन १० गते देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समूहबीचको विवादमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। सात जना घाइते भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस