अमेरिका उड्नुअघि प्रधानमन्त्री बालेनलाई भेटे कांग्रेस नेताले, जलवायु न्याय र विपत्तिबारे दिए सुझाव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ५, सोमबार (५७ मिनेट अघि)
  • ३१ पटक पढिएको
अमेरिका उड्नुअघि प्रधानमन्त्री बालेनलाई भेटे कांग्रेस नेताले, जलवायु न्याय र विपत्तिबारे दिए सुझाव

काठमाडौं, ०५ असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। भेटमा कांग्रेस नेताहरूले महासभामा नेपालको जलवायु संकट, भोटेकोशी विपद् तथा हिमाली राष्ट्रका समस्यालाई प्राथमिकताका साथ उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

सोमबार भएको भेटमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, सभापति गगनकुमार थापालगायत नेताहरू सहभागी थिए। भेटका क्रममा पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका विषयमा तयार पारेको अवधारणासमेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको शर्माले जानकारी दिएका छन्।

कांग्रेसका नेता भीष्मराज आङ्देम्बेसहितको टोलीसँग प्रधानमन्त्रीको भेटवार्तामा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबारे छलफल भएको बताइएको छ।

शर्माका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व समुदायको ध्यान नेपालतर्फ आकर्षित गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर गम्भीर रूपमा भोगिरहेको विषय तथ्य र प्रमाणसहित विश्वमञ्चमा प्रस्तुत गर्नुपर्ने कांग्रेसको धारणा छ।

कांग्रेस नेताहरूले हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट प्रभावित भएकाले नेपालले हिमाल तथा हिमाली राष्ट्रहरूको समस्या अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताएका छन्। साथै, ठूला प्रदूषक राष्ट्रहरूसँग कूटनीतिक संवादमार्फत जलवायु न्याय र सन् २०१५ को पेरिस सम्झौताको कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिक, बेपत्ता तथा आफन्तको पहिचानका लागि डीएनए परीक्षणको प्रतीक्षामा रहेका परिवारले भोगिरहेको मानवीय पीडालाई समेत महासभामा प्रस्तुत गर्न कांग्रेस नेताहरूले सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलमा सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय तथा हिमाली क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्यूयोर्क जाने र सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस