
काठमाडौँ ,१५ असोज। नेपाल फार्मेसी परिषद्को सदस्य मनोनयन तथा नियुक्ति प्रक्रियामा विधि र प्रक्रिया मिचेर आफूनिकट व्यक्तिहरूलाई समेट्न खोजिएको भन्दै विवाद सिर्जना भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मन्त्रालय सम्बद्ध निकायका पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान भई गत भदौ १८ गते नै अन्तर्वार्ता सम्पन्न भइसकेको थियो । तर, प्रक्रिया पूरा भएको २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नगरी ‘भूलवश छुटेको’ भन्दै पुनः नयाँ संस्था र व्यक्तिहरूलाई समावेश गरेर अन्तर्वार्ताको सूचना जारी गरिएपछि नियुक्ति प्रक्रिया विवादित बनेको हो ।
गत असोज ११ गते स्वास्थ्य मन्त्रालयले नेपाल फार्मेसी परिषद्को रिक्त सदस्य पदमा मनोनयन तथा नियुक्तिका लागि अन्तर्वार्ता सम्बन्धी संशोधित सूचना प्रकाशित गरेको थियो । मन्त्रालयले २०८३ भदौ १ गते प्रकाशित सूचना अनुसार परेका आवेदनहरूमध्ये भदौ १७ गते सार्वजनिक गरिएको अन्तर्वार्ता सूचीमा प्राविधिक कारणले केही आवेदकको नाम छुट्न गएको जनाएको थियो ।
सिफारिस समितिको असोज ५ गतेको बैठकले छुट भएका आवेदकहरू नीरज बर्तौला र साहादत्त मन्सुरीलाई समेत अन्तर्वार्तामा सहभागी गराउने निर्णय गरेपछि असोज ११ गते संशोधित सूचना जारी गरेपछि विवाद सुरु भएको हो ।
प्रक्रियागत अलमल र ढिलासुस्तीलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारमाथि निष्पक्षताको प्रश्न उठाएकी छिन् । बिहीबार संसद्मा बोल्दै उनले तोकिएको समयमा अन्तर्वार्ता सकिएको २१ दिनसम्म नतिजा रोकेर आफ्ना पात्रहरूलाई नियुक्त गराउन प्रक्रिया लम्ब्याउने र ‘दिउँसै रात पार्ने’ काम भएको आरोप लगाइन् । विभिन्न सरकारी निकायमा विवादास्पद नियुक्ति गर्ने र निमित्तको भरमा चलाउने परिपाटीले वर्तमान सरकारको सुशासनको नारालाई गिज्याइरहेको भन्दै उनले सरकारको दाबी असान्दर्भिक र हास्यास्पद बनेको टिप्पणी गरिन् ।
उता, फर्मासिस्टहरूको छाता सङ्गठन नेपाल फार्मेसी सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्रालयको यो कदमप्रति भर्त्सना र आपत्ति जनाएको छ । सङ्घका महासचिव सुवर्णराज पन्तद्वारा हस्तान्तरित विज्ञप्तिमा परिषद्का वर्तमान अध्यक्ष डा.कादिर आलमसँग प्रत्यक्ष संस्थागत सम्बन्ध रहेको संस्था ‘मुस्लिम फर्मासिष्ट एसोसिएसन नेपाल’का उपाध्यक्षको नाम पछि थपिनुले सम्भावित स्वार्थको द्वन्द्व र निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख छ ।
परिषद् सदस्य नियुक्तिको प्रयोजनका लागि मात्र यस्ता संस्थाहरू गठन वा दर्ता भएका हुन् कि भन्ने शङ्का व्यक्त गर्दै सङ्घले सीमित र नयाँ संस्थालाई अस्वाभाविक रूपमा अघि बढाउने षड्यन्त्र रोकी क्षमता र पारदर्शिताका आधारमा विधिसम्मत छनोट गर्न माग गरेको छ ।
विवाद चुलिएपछि नेपाल फार्मेसी परिषद्ले भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका प्रचारबाजीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परिषद्का रजिस्ट्रार हरिससिंह थापाले विज्ञप्ति जारी गर्दै नेपाल फार्मेसी परिषद् ऐन, २०५३ को दफा ५ अनुसार सदस्य मनोनयनको सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहेको स्पष्ट पारिएको छ । परिषद्का अध्यक्ष वा कुनै पदाधिकारीलाई व्यक्तिगत रूपमा सदस्य नियुक्त गर्ने कानुनी अधिकार नै नभएको अवस्थामा अध्यक्ष डा.कादिर आलमको नाम जोडेर व्यक्तिगत दोषारोपण गरिनु कानुन विपरीत र भ्रामक रहेको परिषद्को दाबी छ ।
एकातिर पेसागत संघ संस्था र जनप्रतिनिधिहरूले नियतवश प्रक्रिया लम्ब्याएर आफन्त र निकटस्थलाई समेट्न खोजेको आरोप लगाइरहेका छन् भने अर्कोतिर परिषद्ले आफ्नो बचाउ गर्दै तथ्यहीन आरोप नलगाउन आग्रह गरेको छ । सार्वजनिक सरोकारको विषयमा पारदर्शिता र कानुनी प्रक्रियाको पालना हुनुपर्ने माग प्रबल बनिरहँदा मन्त्रालयले गर्ने अन्तिम निर्णय र यसको निष्पक्षतामाथि सबैको चासो केन्द्रित भएको छ ।

