मानवीय गतिविधिको असर : डाँफेको आवाज फेरिँदै, बासस्थान उक्लिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २१, बुधबार (१६ घण्टा अघि)
  • ५६ पटक पढिएको
मानवीय गतिविधिको असर : डाँफेको आवाज फेरिँदै, बासस्थान उक्लिँदै

२१ असोज, काठमाडौं । मानवीय गतिविधि बढ्दै जाँदा हिमाली क्षेत्रको सुन्दर पन्छी डाँफेको बासस्थान र सञ्चार गर्ने शैलीमा समेत परिवर्तन आउन थालेको अनुसन्धानले देखाएको छ ।

पाँच वर्ष लामो दुई छुट्टाछुट्टै अध्ययनले पूर्वाधार विकास, पर्यटन र बढ्दो मानवीय चहलपहलले डाँफेको प्राकृतिक जीवनमा गम्भीर असर पारिरहेको देखाएको बीबीसीले जनाएको छ ।

डाँफे हिमाली वन क्षेत्रमा पाइने सुन्दर चरा हो । भाले डाँफे हरियो, निलो र ताम्र रंगका चम्किला प्वाँखका कारण विशेष आकर्षक देखिन्छ । नेपालमा राष्ट्रिय पक्षीका रूपमा चिनिने डाँफे भारतको उत्तराखण्ड राज्यको पनि राज्य पक्षी हो ।

अनुसन्धानका अनुसार मानवीय गतिविधिका कारण डाँफेको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । अर्कोतर्फ, पर्यटकीय क्षेत्रहरूमा बढेको सवारीसाधन र मानिसको आवाजका कारण डाँफेले आफ्नो आवाजको पिचसमेत परिवर्तन गर्न थालेको पाइएको छ ।

बासस्थान खोज्दै डाँफे उचाइतर्फ

उत्तराखण्डको हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राजीव लोचन नेतृत्वको एउटा अध्ययनले जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेको उपयुक्त बासस्थान क्रमश: माथिल्लो भूभागतर्फ सर्दै गएको देखाएको छ ।

डाँफे सामान्यत: हिमाली वनको तल्लो क्षेत्रदेखि वन रेखाभन्दा माथिका उच्च हिमाली घाँसे मैदानसम्म मौसमी रूपमा आवतजावत गर्छ । तर हिमाली क्षेत्रमा पर्यटन तथा पूर्वाधार विकास बढ्दै जाँदा उसका परम्परागत बासस्थानमा मानवीय दबाब बढेको छ ।

अनुसन्धानकर्ताका अनुसार हिउँ पग्लिँदै जाँदा माथिल्लो क्षेत्रमा वनस्पति बढ्नुले डाँफेलाई केही नयाँ क्षेत्र उपलब्ध गराएको छ । तर त्यही क्षेत्रमा मानिसको अतिक्रमण र गतिविधि बढ्दा डाँफे थप माथि धकेलिँदै गएको छ ।

जलवायु परिवर्तनको प्रभावलाई समेत समेटेर गरिएको मोडलिङले सन् २१०० सम्म भारतीय हिमालयमा डाँफेको उपयुक्त बासस्थान निरन्तर खुम्चिन र अस्थिर हुन सक्ने देखाएको छ ।

बासस्थान साना–साना टुक्रामा विभाजित हुँदै गएमा डाँफेको समूहहरूबीच प्रजननको सम्भावना घट्ने र स्थानीय रूपमा लोप हुने जोखिम बढ्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

पर्यटकीय क्षेत्रमा डाँफेको आवाज नै फरक

लोचनसहित दिनेशकुमार शर्मा र आनन्द कुमारले गरेको अर्को अध्ययनले भने डाँफेको आवाजमा मानवीय गतिविधिको प्रभाव देखाएको छ ।

उत्तराखण्डको केदारनाथ मस्क डियर सेन्चुरीका दुई उपत्यका (चोपता र मदमहेश्वर) मा अध्ययन गरिएको थियो । चोपता पर्यटकीय तथा सवारीसाधनको चहलपहल बढी भएको क्षेत्र हो भने मदमहेश्वर तुलनात्मक रूपमा शान्त क्षेत्र हो ।

अनुसन्धानकर्ताले दुवै क्षेत्रमा एक वर्षसम्म डाँफेका ७०० भन्दा बढी आवाज रेकर्ड गरेका थिए । त्यस क्रममा आवाजको पिच, अवधि र वरपरको ध्वनि प्रदूषणको स्तर मापन गरिएको थियो ।

अध्ययनले मानिसको चहलपहल र सवारीसाधनको आवाज बढी भएको क्षेत्रमा बस्ने डाँफेले शान्त क्षेत्रमा बस्ने डाँफेको तुलनामा उच्च पिचमा आवाज निकाल्ने गरेको देखाएको छ ।त्यस्तै, चोपताका डाँफेले तुलनात्मक रूपमा छोटो समयका लागि आवाज निकाल्ने गरेको पनि पाइएको छ । अनुसन्धानकर्ताका अनुसार कम फ्रिक्वेन्सीको मानवीय आवाज र सवारीसाधनको कोलाहललाई पार गरेर आफ्नो आवाज सुनाउन डाँफेले यस्तो व्यवहार देखाएको हुन सक्छ ।तर यसलाई डाँफेको स्थायी वा क्रमिक विकासका कारण आएको परिवर्तन भने मान्न नसकिने अनुसन्धानकर्ता लोचन बताउँछन् । उनका अनुसार यो विभिन्न ध्वनि वातावरणअनुसार डाँफेले देखाएको व्यवहारिक अनुकूलन हुन सक्छ ।

‘डाँफे हिमाली पारिस्थितिक प्रणालीको सूचक’

अनुसन्धानकर्ताहरूले डाँफेलाई उत्तर–पश्चिमी हिमालयको पारिस्थितिक स्वास्थ्यको महत्त्वपूर्ण सूचकका रूपमा हेरेका छन् ।डाँफे सीमित बासस्थानमा निर्भर रहने र तल्लो पहाडी क्षेत्रदेखि उच्च हिमाली क्षेत्रमा मौसमी रूपमा सर्ने भएकाले यसको बासस्थानमा देखिएको परिवर्तनले अन्य पक्षी तथा वन्यजन्तुले भोगिरहेको समस्याको पनि संकेत गर्न सक्ने लोचनको भनाइ छ ।पर्यावरणविद् विशाल सिंहका अनुसार डाँफेले आफ्नो ‘आवाज’ र ‘ठेगाना’ दुवै परिवर्तन गर्नुपर्ने अवस्था आउनु अन्य अझ संवेदनशील प्रजातिका लागि गम्भीर चेतावनी हो ।

‘आर्थिक विकास र पूर्वाधार विस्तार भइरहे पनि त्यो हिमाली क्षेत्रको पारिस्थितिक अखण्डतासँग मेल खाएको छैन,’ सिंहले भनेका छन् ।पर्यटन, सडक तथा अन्य पूर्वाधार विस्तारले हिमाली क्षेत्र मानिसका लागि सहज बनाउँदै लगे पनि त्यसले वन्यजन्तुको प्राकृतिक बासस्थानमा दबाब बढाएको छ । त्यसमा जलवायु परिवर्तनको प्रभाव थपिँदा हिमाली जैविक विविधतामाथि जोखिम अझ बढेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।अनुसन्धानकर्ता लोचनले आफ्नो अध्ययन प्रारम्भिक चरणको भएकाले यसको पारिस्थितिक प्रभावबारे ठोस निष्कर्ष निकाल्न थप अध्ययन आवश्यक रहेको बताएका छन् ।तर यी दुई अध्ययनले एउटा महत्वपूर्ण संकेत भने दिएका छन्– मानिसको बढ्दो गतिविधिले हिमालमा डाँफेले बस्ने ठाउँ मात्र होइन, आफ्नो साथी र प्रतिद्वन्द्वीलाई बोलाउने आवाजसमेत बदल्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस