रौतहटमा झिझिया नृत्यको मौलिकता हराउँदै, भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिएको भन्दै चौतर्फी आलोचना

रौतहटमा झिझिया नृत्यको मौलिकता हराउँदै, भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिएको भन्दै चौतर्फी आलोचना

रमेश कुमार यादव
कार्तिक ०४, रौतहट
रौतहटको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक पहिचानसँग गहिरो रूपमा जोडिएको झिझिया नृत्यको परम्परागत स्वरूप क्रमशः हराउँदै गएको भन्दै संस्कृतिप्रेमी तथा स्थानीय समाजसेवीहरूले चिन्ता व्यक्त गरेका छन्। विजयादशमीको आगमनसँगै रौतहटसहित मधेश प्रदेशका विभिन्न स्थानमा झिझिया नृत्यका कार्यक्रम आयोजना हुन थाले पनि मौलिक लोकगीत र परम्परागत नृत्यको सट्टा आधुनिक भोजपुरी गीतमा आधारित प्रस्तुतिहरू बढ्दै गएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

मंगलबार रौतहटको गरुडा नगरपालिका–४, गरुडामा आयोजना गरिएको ‘संस्कृति हाम्रो पहिचान, बज्जिकाञ्चल हाम्रो शान’ भन्ने नारासहितको गरुडा झिझिया महोत्सव मा प्रस्तुत गरिएका केही नृत्य तथा गीतलाई लिएर स्थानीयस्तरमा आलोचना भएको बताइएको छ। स्थानीयका अनुसार झिझिया नृत्यको मौलिकता झल्काउने परम्परागत लोकगीत प्रस्तुत गराउनुको सट्टा साना बालबालिकालाई आधुनिक भोजपुरी गीतमा नृत्य गर्न लगाइएको थियो।

महोत्सवमा ‘आव ना रे, आव ना रे सखिया, सलेहरी बोलावना रे’ लगायतका भोजपुरी गीतमा प्रस्तुति दिइएको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार झिझिया महोत्सवको मुख्य उद्देश्य परम्परागत लोकसंस्कृति, धार्मिक आस्था र मौलिक कलाको संरक्षण गर्नु हुनुपर्नेमा कार्यक्रमका केही प्रस्तुतिले त्यसको उद्देश्यलाई नै कमजोर बनाएको भन्दै प्रश्न उठेको छ।

झिझिया मधेशको परम्परागत लोकनृत्य मात्र नभई धार्मिक विश्वास, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। विशेषगरी दशैँको समयमा महिलाहरू तथा युवतीहरूले टाउकोमा प्वाल पारिएको माटोको घैँटो राखेर त्यसमा बत्ती बाल्दै समूहमा झिझिया नृत्य प्रस्तुत गर्ने परम्परा रहिआएको छ। यस क्रममा परम्परागत लोकगीत गाउने, सामूहिक रूपमा नाच्ने र धार्मिक आस्थासँग जोडिएका भाव प्रस्तुत गर्ने गरिन्छ।

तर पछिल्लो समय झिझिया नृत्यका नाममा आयोजना हुने कतिपय कार्यक्रममा मौलिक लोकगीतभन्दा आधुनिक तथा व्यावसायिक गीतलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको संस्कृतिप्रेमीहरूको भनाइ छ। यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्पराबारे सही जानकारी दिन नसक्ने तथा मौलिक लोककलाको पहिचान क्रमशः कमजोर हुँदै जाने उनीहरूको चिन्ता छ।

स्थानीय समाजसेवी तथा संस्कृतिप्रेमीहरूले सांस्कृतिक महोत्सव आयोजना गर्नु सकारात्मक पक्ष भए पनि कार्यक्रमको नाम र उद्देश्यअनुसार प्रस्तुति हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार झिझिया महोत्सवमा स्थानीय भाषा, लोकगीत, परम्परागत भाका र मौलिक नृत्यलाई प्राथमिकता दिन सके मात्रै यस्ता कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुन सक्छ।

विशेषगरी बालबालिकालाई लक्षित गरी मौलिक लोकगीत गायन प्रतियोगिता, परम्परागत झिझिया नृत्य प्रतियोगिता तथा स्थानीय लोकसंस्कृति सम्बन्धी ज्ञानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ। यसबाट नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति, कला र परम्पराको महत्व बुझ्ने अवसर पाउनुका साथै त्यसको संरक्षणमा समेत योगदान पुर्‍याउन सक्ने उनीहरूको विश्वास छ।

स्थानीयस्तरमा प्रचलित बज्जिका, भोजपुरी तथा अन्य मौलिक लोकभाकाको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवाजसमेत उठेको छ। महोत्सवमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, परम्परागत गीत संकलन गर्ने र नयाँ पुस्तालाई पुराना लोकगीत सिकाउने कार्यक्रम सञ्चालन गर्न सके झिझिया नृत्यको मौलिकता जोगाउन सहज हुने उनीहरूको भनाइ छ।

गरुडामा आयोजित झिझिया महोत्सव नवसर्जक साहित्य चौतारी नेपाल, मधेश प्रदेश समितिको आयोजना, बज्जिका प्रज्ञा–प्रतिष्ठान नेपालको सह–आयोजना तथा बज्जिका साहित्य संगम र श्री दुर्गा पूजा तथा महोत्सव समिति, गरुडा–४, रौतहटको सहयोगमा सम्पन्न भएको थियो।

कार्यक्रमको मूल नाराले संस्कृति र मौलिक पहिचानको संरक्षणमा जोड दिए पनि प्रस्तुतिका क्रममा परम्परागत झिझिया गीत तथा नृत्यलाई कत्तिको प्राथमिकता दिइयो भन्ने विषयमा स्थानीयस्तरमा बहस सुरु भएको छ।

संस्कृतिप्रेमीहरूका अनुसार आधुनिकता र मनोरञ्जनलाई पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने होइन, तर मौलिक लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा त्यसको वास्तविक स्वरूपलाई प्राथमिकता दिन आवश्यक छ। परम्परागत झिझिया नृत्यको नाममा अन्य गीतमा आधारित प्रस्तुति मात्र गराउने हो भने भावी पुस्ताले झिझियाको वास्तविक पहिचान र महत्व बुझ्न कठिन हुने उनीहरूको चिन्ता छ।

स्थानीय समाजसेवीहरूको सुझाव छ— झिझिया महोत्सवलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी स्थानीय लोकगीत, मौलिक नृत्य, भाषा र परम्पराको संरक्षण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्छ। यसो गर्न सके मात्रै रौतहटको सांस्कृतिक पहिचानका रूपमा स्थापित झिझिया नृत्यलाई भावी पुस्तासम्म जीवन्त राख्न सकिने उनीहरूको धारणा छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    लेखकबाट अन्य

    ताजा अपडेट

    खोजी गर्नुहोस