
रौतहट,१० मंसिर। सुनको मूल्यमा आएको तीव्र गिरावटले सुनचाँदी धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका सर्वसाधारण तथा व्यवसायीमाथि आर्थिक दबाब बढाएको छ ।
धितोका रूपमा राखिएको सुनको बजार मूल्य घट्दै गएपछि केही बैंक तथा वित्तीय संस्थाले ऋणीलाई थप सुन धितो राख्न, थप रकम जम्मा गर्न वा कर्जाको केही हिस्सा भुक्तानी गर्न आग्रह गर्दै ‘मार्जिन कल’ गर्न थालेका छन् ।
सुनको मूल्यमा आएको गिरावटले एकातिर सुनलाई सुरक्षित सम्पत्तिका रूपमा राख्ने सर्वसाधारणको सम्पत्तिको मूल्य घटाएको छ भने अर्कोतिर सुन धितोमा आधारित कर्जा कारोबारमा समेत दबाब सिर्जना गरेको छ ।
नेपाली बजारमा सुनको मूल्यले गत माघमा प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको ऐतिहासिक उच्च बिन्दु छोएको थियो । त्यसपछि क्रमशः उतारचढाव हुँदै आएको सुनको मूल्य पछिल्लो समय तीव्र रूपमा घटेको हो । गत आइतबार प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा झरेको सुनको मूल्य उच्च बिन्दुको तुलनामा ९६ हजार ५०० रुपैयाँले कम भएको थियो ।
यसअनुसार सुनको मूल्य उच्च बिन्दुबाट करिब २८ प्रतिशतले घटिसकेको छ । पछिल्लो दुई दिनमा केही सुधार देखिए पनि अन्तर्राष्ट्रिय बजारमा कायम उतारचढावका कारण नेपाली बजारमा सुनको मूल्य अझै अनिश्चित देखिएको छ ।
सुनको मूल्यमा आएको गिरावटले विशेषगरी सुनको मूल्य उच्च रहेको समयमा धितो राखेर ठुलो रकम कर्जा लिएका ग्राहकलाई बढी प्रभावित बनाएको छ । बैंक तथा वित्तीय संस्थाले सामान्यतया धितोमा राखिएको सुनको मूल्याङ्कनका आधारमा ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन् ।
तर बजार मूल्यमा उल्लेख्य गिरावट आएपछि कर्जा र धितोको मूल्यबिचको अनुपात बढेको छ । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लगानी सुरक्षित राख्न ग्राहकलाई थप धितो राख्न वा कर्जाको केही रकम भुक्तानी गर्न आग्रह गरिरहेका छन् ।
उदाहरणका लागि प्रतितोला ३ लाख रुपैयाँ मूल्याङ्कन भएको १० तोला सुन धितो राखेर २१ लाख रुपैयाँ कर्जा लिएको अवस्थामा सुरुमा धितोको कुल मूल्य ३० लाख रुपैयाँ हुन्छ । तर सुनको मूल्य घटेर प्रतितोला २ लाख ४० हजार रुपैयाँमा झर्दा त्यही सुनको मूल्य २४ लाख रुपैयाँमा सीमित हुन्छ । कर्जाको रकम भने यथावत् रहने भएकाले धितोको तुलनामा कर्जाको अनुपात ७० प्रतिशतबाट बढेर ८७.५ प्रतिशत पुग्छ ।
यसले बैंकको कर्जा सुरक्षामा दबाब सिर्जना गर्छ र बैंकले थप धितो वा रकम माग्न सक्ने अवस्था आउँछ ।
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यका अनुसार सुनको मूल्य घट्दा मार्जिन कल गर्नु सामान्य बैंकिङ प्रक्रिया हो । लामो समयसम्म प्रतितोला २ लाख ९० हजारदेखि ३ लाख १० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य एक्कासि २ लाख ४० हजार रुपैयाँ आसपास झरेपछि केही ग्राहकलाई थप धितो राख्न आग्रह गरिएको उनले बताएका छन् । उनका अनुसार बैंकले गहनामा ७० प्रतिशत र हलमार्क सुनमा ८० प्रतिशतसम्म कर्जा दिने गरेको छ ।
कर्जा प्रवाह गर्नुअघि सुनको शुद्धता परीक्षण गर्ने, जर्ती कटाउने र आवश्यक सुरक्षा मार्जिन कायम गर्ने भएकाले बैंकलाई ठुलो जोखिम नरहेको उनको भनाइ छ । केही ग्राहकलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म र केहीलाई बढीमा १ लाख रुपैयाँसम्म थप धितो राख्न वा कर्जाको रकम घटाउन आग्रह गरिएको उनले जानकारी दिएका छन् ।
यता नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले भने आफ्नो बैंकको सुनचाँदी धितो कर्जामा तत्काल मार्जिन कल गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनका अनुसार बैंकले औसतमा प्रतितोला १ लाख ६० हजार रुपैयाँसम्म मात्र कर्जा लगानी गरेको छ । गहनाको मूल्याङ्कन गर्दा जर्ती कटाएर ७० प्रतिशतसम्म कर्जा दिने नीतिका कारण सुनको मूल्य प्रतितोला २ लाख २० हजार रुपैयाँसम्म झर्दा पनि बैंकको कर्जा सुरक्षित रहने उनको दाबी छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सुनचाँदी धितो कर्जाको एकल ग्राहक सीमा ५० लाख रुपैयाँ कायम गरिएको छ । धितोमा राखिएको सुन वा चाँदीको शुद्धता परीक्षण गरेर मात्रै कर्जा प्रवाह गर्नुपर्ने, धितोको उचित मूल्याङ्कन गर्नुपर्ने, सुरक्षित भण्डारणको व्यवस्था मिलाउनुपर्ने तथा ढुकुटीको बिमा र जाँचकीसम्बन्धी आवश्यक प्रबन्ध गर्नुपर्ने व्यवस्था छ ।
यस्ता नियामकीय व्यवस्थाको मुख्य उद्देश्य बैंकको लगानी सुरक्षित गर्नुका साथै ग्राहकको धितोको वास्तविक मूल्य सुनिश्चित गर्नु हो । तर सुनको मूल्य छोटो अवधिमा ठुलो मात्रामा घटबढ हुन सक्ने अवस्थामा बैंकहरूले कर्जा प्रवाह गर्दा पर्याप्त सुरक्षा मार्जिन कायम गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब २५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। यसअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सुनचाँदी धितो कर्जा ४ अर्ब २ करोड रुपैयाँले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको असोज मसान्तमा यस्तो कर्जा ८६ अर्ब ४० करोड रुपैयाँ मात्रै थियो ।
एक वर्षको अवधिमा सुनचाँदी धितो कर्जा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ । यसले सुनलाई व्यक्तिगत सम्पत्तिका रूपमा मात्र नभई बैंकिङ प्रणालीमा कर्जा प्राप्त गर्ने महत्त्वपूर्ण धितोका रूपमा समेत प्रयोग गरिँदै आएको देखाउँछ ।
सुनचाँदी धितोमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । असोज मसान्तसम्म नेपाल बैंकले ५५ अर्ब ९४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४२ अर्ब ५५ करोड ९० लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकले १० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, नबिल बैंकको यस्तो कर्जा ४ अर्ब २ करोड रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यी पाँच बैंकको मात्रै सुनचाँदी धितो कर्जा जोड्दा १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुग्छ । यसले बैंकिङ क्षेत्रमा सुनचाँदी धितो कर्जाको महत्त्व र यस क्षेत्रमा मूल्य उतारचढावले पार्न सक्ने प्रभावसमेत स्पष्ट पार्छ ।
सुनको मूल्यमा आएको गिरावटको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव हो । विश्व सेयर बजारमा आएको गिरावट, अमेरिकी डलरको मजबुती, तरलताको माग र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अपेक्षाले सुनको आकर्षण कमजोर बनाएको छ । विशेषगरी प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएपछि लगानीकर्ताले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न तथा सेयर बजारमा भएको घाटा पूर्ति गर्न सुन बिक्री गर्दा बजारमा बिक्री चाप बढेको विश्लेषण गरिएको छ ।
त्यस्तै, अमेरिका–इरान तनावका कारण तेलको मूल्यमा आएको वृद्धि र त्यसले निम्त्याउन सक्ने मुद्रास्फीतिको दबाबले पनि सुनको बजार प्रभावित भएको छ। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अनुमानले ब्याज नदिने सम्पत्ति मानिने सुनको तुलनामा ब्याज दिने वित्तीय उपकरणप्रति लगानीकर्ताको आकर्षण बढाउन सक्छ ।
त्यसैले अमेरिकी आर्थिक तथ्याङ्क, मुद्रास्फीतिको अवस्था र ब्याजदरसम्बन्धी निर्णयलाई आगामी दिनमा सुनको मूल्य निर्धारण गर्ने महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटपछि पछिल्लो कारोबारमा केही सुधार देखिए पनि त्यसलाई दीर्घकालीन पुनरुत्थानको सङ्केत मान्न सकिने अवस्था छैन । अमेरिकी डलरको अवस्था, ब्याजदरसम्बन्धी अपेक्षा, विश्व अर्थतन्त्रको दिशा र भूराजनीतिक तनावले आगामी दिनमा सुनको मूल्यलाई प्रभावित गरिरहनेछन् ।
नेपाली बजारमा भने अन्तर्राष्ट्रिय मूल्यसँगै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको विनिमय दर, आयात लागत र स्थानीय बजारको मागले समेत प्रभाव पार्नेछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटे पनि नेपाली रुपैयाँ कमजोर भएमा नेपालमा मूल्य गिरावट सीमित हुन सक्छ भने रुपैयाँ बलियो भएमा मूल्यमा थप गिरावट आउन सक्छ ।
सुनको मूल्यमा आएको गिरावटले बैंकको धितो सुरक्षामा दबाब सिर्जना गरे पनि यसलाई तत्काल बैंकिङ सङ्कटका रूपमा बुझ्नु उचित हुँदैन । बैंकहरूले सुनको कुल बजार मूल्य बराबर कर्जा प्रवाह नगर्ने, शुद्धता परीक्षण गर्ने, जर्ती कटाउने र आवश्यक सुरक्षा मार्जिन कायम गर्ने भएकाले मूल्य घट्दैमा बैंकको लगानी स्वतः असुरक्षित हुँदैन ।
तर मूल्यमा निरन्तर गिरावट आएमा सुरक्षाका लागि राखिएको मार्जिनसमेत साँघुरिन सक्छ । ऋणीले थप धितो राख्न वा कर्जाको रकम घटाउन नसकेको अवस्थामा बैंकले कर्जा सम्झौतामा उल्लेखित व्यवस्थाअनुसार धितो बिक्री गरेर कर्जा असुली गर्नुपर्ने अवस्था आउन सक्छ । धितो बिक्रीबाट प्राप्त रकमले साँवा, ब्याज र अन्य खर्च धान्न नसकेमा बाँकी रकम असुलीका लागि थप प्रक्रिया अपनाउनुपर्ने जोखिमसमेत रहन्छ ।
सुन धितो राखेर कर्जा लिने सर्वसाधारणका लागि अहिलेको मुख्य चुनौती थप रकम व्यवस्थापन गर्नु र नियमित कर्जा भुक्तानी क्षमता कायम राख्नु हो । विवाह, शिक्षा, स्वास्थ्य उपचार, व्यापार सञ्चालन तथा आकस्मिक आर्थिक आवश्यकताका लागि सुन धितो राखेर कर्जा लिने ग्राहकले बैंकबाट मार्जिन कल आएमा त्यसलाई बेवास्ता नगरी बैंकसँग सम्पर्क गरेर कर्जाको अवस्था, थप धितोको आवश्यकता र भुक्तानीको विकल्पबारे छलफल गर्नु आवश्यक हुन्छ।
विशेषगरी व्यवसाय सञ्चालनका लागि सुन धितो राखेर कर्जा लिएका साना तथा मझौला व्यवसायीले एकातिर व्यवसायको आम्दानीबाट नियमित किस्ता तथा ब्याज भुक्तानी गर्नुपर्ने र अर्कोतिर बैंकको मार्जिन कल सम्बोधन गर्न थप रकम जुटाउनुपर्ने दोहोरो दबाब सामना गर्न सक्छन् ।
आगामी दिनमा अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीति, मुद्रास्फीतिको अवस्था, डलरको मूल्य, विश्व अर्थतन्त्र र भूराजनीतिक तनावले सुनको बजारको दिशा निर्धारण गर्ने देखिन्छ । ब्याजदर बढ्ने सम्भावना कमजोर भएमा, डलर कमजोर भएमा वा विश्व बजारमा अनिश्चितता बढेमा सुनमा पुनः खरिद चाप आउन सक्छ ।
यसको विपरीत ब्याजदर बढ्ने अपेक्षा बलियो रहेमा सुनको मूल्यमा थप दबाब पर्न सक्छ । त्यसैले अहिलेको गिरावटपछि सुनको मूल्य तत्काल पुरानै उच्च बिन्दुमा फर्किने वा अझै घट्ने भन्ने विषयमा निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।
एक वर्षमै सुनचाँदी धितो कर्जा ५० प्रतिशतभन्दा बढीले बढेर करिब १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको अवस्थामा यसको जोखिम व्यवस्थापन बैंकिङ क्षेत्रका लागि थप महत्त्वपूर्ण बनेको छ । सुनको मूल्य घट्नु उपभोक्ताका लागि खरिदको अवसर हुन सक्ने भए पनि त्यही सुन धितो राखेर कर्जा लिएका व्यक्तिका लागि भने थप आर्थिक दायित्वको कारण बन्न सक्छ ।
त्यसैले बैंकहरूले कर्जा प्रवाह गर्दा पर्याप्त सुरक्षा मार्जिन कायम गर्ने र ऋणीहरूले पनि तत्काल प्राप्त हुने कर्जाको रकमभन्दा भविष्यमा सुनको मूल्य घट्न सक्ने जोखिम तथा आफ्नो भुक्तानी क्षमतालाई ध्यान दिनुपर्ने देखिन्छ ।
