
धनुषा,०८ मंसिर। लामो समयदेखि अलपत्र परेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण कार्य करिब १५ वर्षपछि अन्तिम चरणमा पुगेको छ ।
पुलको मुख्य संरचना निर्माण तथा मर्मतसम्भार सम्पन्न भएको र अहिले पहुँच मार्ग, तटबन्ध तथा रेलिङ जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ । बाँकी काम पूरा भएपछि पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
जनकपुरधामस्थित हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको मुख्य निर्माण तथा मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ । अहिले पुलका जोड भागमा राखिने विशेष संरचना -एक्सपान्सन जोइन्ट) जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
यसका साथै, पुलको दुवैतर्फ माटो भर्ने, पहुँच सडक निर्माण गर्ने, तटबन्ध बनाउने र रेलिङ जडान गर्ने काम भइरहेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउने व्यवस्था मिलाइएपछि पुल सञ्चालनका लागि आवश्यक कामले गति लिएको महतोले बताए । सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार नियन्त्रण गरिएको र अब पुललाई दुवैतर्फको सडकसँग जोड्ने काम भइरहेको उनको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयले विशेष चासो देखाएपछि निर्माण कार्यले तीव्रता पाएको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले पनि पुल निर्माणबारे चासो व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत नोभेम्बरसम्म सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । आयोजना प्रमुख महतोले मन्त्रीले घोषणा गरेको समयसीमाभित्रै पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । उनका अनुसार मंसिरको पहिलो सातादेखि पुलमा सवारी आवागमन खुला गर्ने लक्ष्य राखिएको छ ।
कमला पुल निर्माणको ठेक्का सुरुमा सन् २०११ मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, निर्धारित समयभित्र काम पूरा हुन नसक्दा आयोजना लामो समयसम्म अलपत्र रह्यो। पछि ४७० मिटर लामो पुल निर्माण सम्पन्न गर्ने जिम्मेवारी सन् २०२१ जुलाई २८ मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला सन् २०२१ जुलाई १ मा लगातारको वर्षा र कमला नदीमा आएको बाढीले पुलका संरचनामा क्षति पु¥याएको थियो । बाढीका कारण केही पिलरका जग भासिनुका साथै स्ल्याबमा समेत क्षति पुगेपछि निर्माण प्रक्रिया थप जटिल बनेको थियो । त्यसपछि प्राविधिक मूल्यांकन, डिजाइन परिमार्जन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्दा आयोजना थप वर्षौँसम्म लम्बिएको थियो ।
पुल निर्माणमा भएको ढिलाइसँगै यसको गुणस्तर र दीर्घकालीन टिकाउपनबारे पनि प्रश्न उठ्दै आएको छ । विभिन्न प्राविधिक मूल्यांकनमा पुलको डिजाइन तथा निर्माणमा प्रयोग गरिएका सामग्रीको गुणस्तरमाथि प्रश्न उठाइएको बताइएको छ । सञ्चालनको तयारी भइरहेका बेला नै पुलका संरचनामा क्षति पुगेपछि यसको जग, डिजाइन र निर्माण गुणस्तरबारे थप चिन्ता व्यक्त गरिएको थियो ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलको डिजाइन बलान नदीमाथि निर्माण गरिएको पुलको डिजाइनबाट नक्कल गरिएको निष्कर्ष निकालेको बताइएको छ । स्रोतका अनुसार लामो समयदेखि अलपत्र पुललाई सञ्चालनमा ल्याउने बाटो सहज बनाउन आयोगले आफ्नो कारबाही प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको थियो ।
यद्यपि, पुल निर्माणमा भएको अनियमितता, प्राविधिक कमजोरी र त्यसको जिम्मेवारीबारे स्पष्टता आउनुपर्ने मागसमेत उठ्दै आएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले पुल निर्माण तथा नदी नियन्त्रणसम्बन्धी कामका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट बाँकी निर्माण कार्य पूरा गर्नुका साथै नदीको बहाव व्यवस्थापन र पुलको दीर्घकालीन सुरक्षासम्बन्धी काम अघि बढाउने अपेक्षा गरिएको छ । कमला नदीमा पुल नहुँदा सिरहा र धनुषाका हजारौँ बासिन्दाले वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका छन् । विशेषगरी वर्षायाममा नदीको बहाव बढ्दा डुंगाको सहारा लिनुपर्ने तथा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
यसले स्थानीयको दैनिक आवागमनसँगै शिक्षा, स्वास्थ्य, कृषि र व्यापारिक गतिविधिमा समेत प्रत्यक्ष असर पारेको छ । धनुषाको कमला नगरपालिकाका स्थानीय सुरेश यादव पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवागमन सहज हुने बताउँछन् ।
शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजका लागि सिरहा र धनुषाका बासिन्दालाई ठूलो राहत मिल्ने उनको भनाइ छ । पुल सञ्चालनमा आएपछि किसानलाई कृषि उपज तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज हुनेछ । ढुवानी खर्च र यात्रा समय घट्नुका साथै दुई जिल्लाबीच व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र सिरहा तथा धनुषाबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । करिब १५ वर्षको प्रतीक्षापछि निर्माणको अन्तिम चरणमा पुगेको कमला पुल सञ्चालनमा आउने दाबीले स्थानीयमा आशा जागे पनि पुल सञ्चालनको घोषणा मात्र पर्याप्त हुने छैन ।
विगतमा बाढीका कारण पुलमा क्षति पुगेको घटनालाई ध्यानमा राख्दै सम्बन्धित निकायले सुरक्षामा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । स्थानीयवासीले अब थप आश्वासनभन्दा सुरक्षित र सहज आवागमनको प्रतीक्षा गरिरहेका छन् ।
