रौतहट प्रहरीमा काण्डै काण्ड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १८, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रौतहट प्रहरीमा काण्डै काण्ड

रौतहट,१७ श्रावण। जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखाका असई भरत यादवमाथि मुद्दा कमजोर बनाउने, प्रमाण नष्ट गर्ने, र पीडितको साथमा अन्यायपूर्ण व्यवहार गर्ने गम्भीर आरोप लागेको छ।

शान्ति सुरक्षा, राजश्व वृद्धि, सीमा सुरक्षाभन्दा पनि रौतहट प्रहरीको भूमिका कमाऊ केन्द्रित रहेको पाइएको छ । प्रहरी स्रोत र पीडित पक्षको भनाइ अनुसार असई यादवले केही उच्च प्रहरी अधिकारीहरूसँग मिलेर मुद्दा मिलाउने कार्य गर्दै आएको गम्भीर आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पछिल्लो समय घटेका घुसखोरी र अनियमितताका विषयमा पीडित पक्षले प्रहरी प्रधान कार्यालयदेखि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरसम्म उजुरीको खात लागेको छ । सो उजुरी उपर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले अनुसन्धान शुरु गरेको छ ।

त्यसका लागि डीआईजी उमाप्रसाद चतुर्वेदीले एउटा अनुसन्धान टीम नै खटाएर सम्बन्धित फाइल झिकाइसकेको बताइएको छ । तर पीडित पक्ष भने हालसम्म दोषी उपर कुनै कारबाही नभएको भन्दै दिनहुँ सामाजिक अभियन्ता र पत्रकारको शरणमा पुग्ने गरेका छन् । प्रपका र प्रदेश प्रहरी कार्यालयमा दिएको उजुरीमा असई यादवमाथि वादी र प्रतिवादी दुवैसँग आर्थिक लेनदेनका आधारमा कार्य गर्ने, वादी र प्रतिवादी दुवै पक्षसँग घुस रकम नलिएसम्म फाइल लुकाउने तथा रकम पाएपछि वादीले बढी दिएमा झुटा प्रमाण बनाउने, प्रतिवादीले बढी दिएमा सबुद प्रमाण नष्ट गर्ने, बयान इन्कारी गराई मुद्दा कमजोर बनाउने तथा आवश्यक परेमा प्रमाण नै गायब गरिदिने आरोप लगाइएको छ।

उक्त उजुरी आरोप अनुसार उनले जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार राय र प्रहरी निरीक्षक रामकुमार महतोसँग मिलेर लाखौं रुपैयाँ घुस लिने गरेको र मुद्दाका फाइलहरू आफू वा नजिकका व्यक्तिबाहेक कसैलाई नदेखाउने गरेको जनाइएको छ।

उजुरी अनुसार जुन मुद्दाको पैसा असई यादवले लिन्छन् त्यो मुद्दाको फाइल उ र उसको विश्वासिलो केटा बाहेक अरूलाई हेर्न पनि दिदैन र फाइल दराजमा नराखी टेबुलको घर्रामा राखी ताला लगाएर राख्ने गरेका छन् । यदि माथिल्लो निकायबाट सबैको मुद्दाको फाइल झिकाई अनुसन्धान गर्ने हो भने आफै सबै कुरा खुल्छ, प्रमाण र बयान दिने मान्छेहरू सजिलै भेटनु हुन्छ, उक्त उजुरीको जिल्ला प्रहरी कार्यालय प्रहरी स्रोतले पनि आरोप सत्यताको नजिक रहेको दावी गरेको छ ।

गाँजा तथा हातहतियार मुद्दामा प्रमाण लुकाइएको

उक्त उजुरीमा ०८१/८२ सालको एक गाँजा र हतियार सम्बन्धी मुद्दामा रामनरेश साह पक्राउ परेपछि असई यादवले ४ लाख रुपैयाँ लिई उनले साथमा बोकेको मोबाइल फिर्ता गरेको, मोबाइलको डाटा डिलिट गरिएको र प्रमाण नै नष्ट गरिएको उल्लेख गरिएको छ। त्यस मोबाइलमा लागूऔषध कारोबारका स्पष्ट प्रमाणहरू (हाटसअप संवाद, बैंक भौचर, आदि) फेला परेको भए पनि ती उपयोग नगरिएको भनिएको छ।

यो मुद्दा नं.२९१ ०८१-८२० लागुऔषध १०९ किलो गाँजा र हातहतियार पिस्टन १ वटा र गोली ७ राउण्ड मुद्दामा मिति २०८१ चैत २६ गते सावन गिरी (गाँजा र हतियार सहित) पक्राउ परेको र ४ जना भागेका थिए। भागेका मध्येबाट रामनरेश साह (गाँजा धनी र मुख्य कारोबारी) २०८२ असार ८ गते गौरबाट पक्राउ परेको, निजको साथमा २ वटा मोबाइल फोन र ४ वटा सिम फेला परेको थियो ।
जसमा डीएसपी दीपक रायको आदेशले प्रनि रामकुमार महतो र असई भरत यादवले तत्कालै अभियुक्त रामनरेशसँग यो मोबाइल बरामद भयो भने १० बर्षसम्म जेल जान्छस् भनि बार्गेनिङ गरी उसैबाट उसको भाईलाई फोन गरी बोलाउन लगाई रु ४ लाख लिई मोबाइल बरामद नगरी केही दिन असई भरत यादवको जिम्मामा मोबाइल राखी रामनरेशको भाईलाई केही दिन पछि उक्त मोबाइल फिर्ता गरी दिएको उक्त उजुरीमा उल्लेख छ ।

उक्त मोबाइल फाँटमा काम गर्ने अन्य प्रहरी कर्मचारीहरूले पनि तत्कालै हेरेका थिए, त्यसको हवाटसएपमा गाँजाको अर्डर आएको, मूल्य तय भएको, गाँजाको नमूना पठाएको र ३-४ वटा बैंकका भौचरहरु समेत फेला परेको थियो । यस्तो गम्भीर केसका मुख्य नाइकेलाई नै सबुद प्रमाण प्रहरीले नै नष्ट गरी मुद्दामा ईन्कारी बयान गराई मुद्दा पेस गरेको उजुरीमा उल्लेख छ । मुद्दामा काम गर्ने कर्मचारीहरूका अनुसार काम गर्ने तलका कर्मचारीले अनि पैसा खाने डीएसपी, प्रनि रामकुमार महतो र भरत यादवले मात्र । यसरी पैसाको भागबण्डा नमिल्दा यो कुरा बाहिर आएको उजुरीमा जनाइएको छ ।

बलात्कार मुद्दामा पनि ढिलासुस्ती र सेटिङको आरोप

०८०-८१ सालकै एक जबरजस्ती करणी मुद्दामा प्रतिवादी खुर्सद खाँले प्रहरीलाई ६ लाख रुपैयाँ बुझाएको र त्यसपश्चात आफू प्रहरीमा हाजिर भएको बताइएको छ। पीडित पक्षलाई जानाजानी ढिला जानकारी दिइएको र पीडितलाई दुर्व्यवहार गरिएको पीडित परिवारले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए।

सो उजुरीमा भनिएको छ, मुद्दा नं.४१४ (०८०-८१) जबरजस्ती करणी प्रतिवादी खुर्सद खाँव पैठान मिति २०८२ असार १८ गते सेटिङ मिलाएर प्रहरी र सरकारी वकिलको लागि रु ६ लाख नगद असई भरत यादवको हातमा दिई आफै हाजिर भएको, हाजिर भएको १२ दिन पछि मात्र पीडित पक्षलाई प्रहरीले जानकारी गराएको, मुद्दामा प्रेसर नहोस भनि जानीजानी ढिलो जानकारी गराएको। यस सम्बन्धमा पीडित महिला र उसको श्रीमानले प्रनि रामकुमार महतोलाई सोधपुछ गर्न जाँदा रामकुमारले उनीहरूसँग कुकुरलाई जस्तो व्यवहार गर्यो।

अहिले पीडित पक्ष ४-५ दिनदेखि दिनहुँ प्रहरीमा नगई सामाजिक अगुवा (राजन साह ९८५५०४०४२२, अमिल अख्तर ९८१२२०३७४७) र पत्रकारहरूको घर घरमा गई सहयोगको लागि गुहार माग्दै यही श्रावण २ गते पत्रकार महासंघ गौरमा पत्रकार सम्मेलन नै गरेर आफ्नो पीडा सुनाएका छन्। यो घटनाको पुरै अडियो रेकर्डिङ छ तर पनि पैसा खाइसकेको कारण प्रतिवादीको बयान ईन्कारी गराइएको छ, उक्त उजुरीमा भनिएको छ ।

हत्या मुद्दामा पनि मिलेमतो ?

राजपुर नगरपालिकाको एक हत्याको घटनामा पनि प्रहरीले पैसाको डिल गरेर मुद्दा कमजोर बनाउने काम गरेको आरोप छ। पूर्व मेयर शेख सकिलको संलग्नतामा रातारात पैसा लिएर वास्तविक प्रतिवादीलाई नाम परिवर्तनसहित छुटाइएको पीडित पक्षको दाबी छ।

जसमा भनिएको छ, यही आषाढ महिनाको अन्तिम तिर रौतहट के राजपुर नगरपालिका ४ का एकजना ४०÷४५ बर्षका शेख असरफको हत्याकाण्ड हो। यो केसमा राजपुरका पूर्व मेयर शेख सकिलको अगुवाईमा डीएसपी दीपक रायको आदेशमा प्रनि रामकुमार महतो र असई भरत यादव रातीको समयमा शेख सकिलको घरमा गई शेख असरफलाई मार्ने मानिसहरूलाई त्यहा बोलाई पैसाको डिलिङ शुरु गर्छन् र ८ लाखमा कुरा मिल्छ, २ लाख शेख सकिलले लिने र ६ लाख प्रहरीले लिने डिल पक्का हुन्छ। नाम मात्रको कर्तव्य ज्यानको जाहेरी दिनको लागि असई भरत यादवले आफैले जाहेरी लेखी प्रतिवादीहरुको वास्तविक नाम नलेखी बोलाउने नाम लेखेको र बुबाको नाम फरक पारी लेखेको ताकि पछि प्रतिवादी नै कायम नहने अवस्था बनोस् । कसैले शंका नगरोस भनि केही दिनको लागि ती प्रतिवादीहरुलाई नाटकीय रुपमा भगाइएको उजुरीमा उल्लेख छ।

यस सम्बन्धमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी विजय यादवले उजुरी परेको स्वीकार्दै छानविन भइरहेको बताए । जनकपुर गणका एसपी नारायण रञ्जितकारको संयोजकत्व एउटा छानविन टीम बनेको बताउँदै प्रवक्ता यादवले मधेश प्रदेशमा भएको पनि नभएको पनि धेरै उजुरीहरु आउने गरेकाले वास्तविकता छानविन पछि नै पत्ता लाग्ने जानकारी दिए ।

यस्तै रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी दीपक रायले नेपालबहसले पटकपटक फोन गर्दा पनि फोन उठाएनन् । तर रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरिले प्रहरीले घुस खाएका प्रमाण हालसम्म कसैले नदिएको दावी गरे । मधेश प्रदेश प्रहरी कार्यालयलाई त्यस सम्बन्धमा जवाफ दिइसकिएको, प्रदेशबाट यस्ता धेरै उजुरी उपर जवाफ मागिरहने कुरा नयाँ नभएको बताउँदै एसपी गिरिले भने, पैसा खाएको त प्रमाणित गर्नुपर्ने होला नि त ?

उनले कसले पैसा खायो भन्यो त्यो मान्छे को हो भन्ने प्रतिप्रश्न गर्दै हाम्रो जानकारीमा नभएको दावी गरे। यदि पैसा खाएको भए सम्बन्धितले सजाय भोग्ने बताउँदै उनले मैले दिएको हुँ भन्ने मान्छे पनि चाहिने होला ? कारबाहीका लागि कोहीले त भन्नु पर्यो नि मैले पैसा दिएको हुँ भन्यो भने कारबाही हुने बताए । उजुरी त जसलाई हाले पनि भयो नि भन्दै एसपी गिरिले पीडकले घुस दिएको कुरा कसरी भन्ला र ? भन्ने नेपालबहसको प्रश्नमा उनले कसैले भन्नु त पर्यो भन्ने कुरा दोहोर्याए ।

उच्च प्रहरी तहमा समेत संलग्नता

डीएसपी दीपक राय, प्रहरी निरीक्षक रामकुमार महतो र असई भरत यादव मात्र होइन, जिल्लाको विशेष कार्य हेर्ने जिम्मा पाएका प्रहरी निरीक्षक सरोज डल्लाकोटीसमेत आर्थिक बार्गेनिङमा संलग्न रहेको उल्लेख छ। यसअघि यो जिम्मेवारीमा रहेका प्रहरी निरीक्षक रुद्र कँडेललाई दिउँसै रक्सी खाएर गोपनीयता भंग गरेको आरोपमा हटाइएको थियो।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा अहिले सिनियर अफिसरहरू बीच ठूलो गुटबन्दी चलेको छ । डीएसपी रायको गुटमा प्रहरी निरीक्षक रुद्र कँडेल र रामकुमार महतो रहेका तथा एसपी नेत्रमणि गिरिको गुटमा इन्स्पेक्टर सरोज डल्लाकोटी र महतो रहेको दावी गरिएको छ ।

घुसकाण्डको उजुरी र छानबिनपछि महताले गुट परिवर्तन गरि एसपी गटमा लागेको स्रोतको भनाई छ । पहिले रुद्र कँडेल क्राइम टोली भन्दै घमवा रहेकोमा हाल सरोज डल्लाकोटीले घुमुवा कमाण्ड सम्हालेको बताइएको छ । उनको टीममा यसअघि घुमुवा रही अडियो घुसकाण्डमा परि कारबाहीमा परेका सहायक हबल्दार राजकुमार गुरुङले जनकपुर गणमै बसेर रौतहट भरिको तस्करी लाइनको पैसा उठाउने गरेको दावी स्रोतको छ । गणका एसपी नारायण रञ्जितकारले बाहिर हिडने छुट दिदाँ गुरुङ र डल्लाकोटी चपुर आएर तस्कर सुनील जयसवाल र धर्मनाथ जयसवालको घरमै बसेर सबै सेटिङ मिलाउने गरेको आरोप छ ।

सम्भार : नेपालबहस

ताजा अपडेट

खोजी गर्नुहोस