माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु,१४ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २१, मंगलबार (६ महिना अघि)
  • ५ पटक पढिएको
माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु,१४ जना घाइते

सिराहा, २० श्रावण। खोटाङमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन्। सबै घाइतेहरूको परिचय खुलेको छ।

सिराहाबाट हलेसी मन्दिर दर्शन गरेर फर्कँदै गरेको यात्रु बोकेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस हलेसी–जयराम सडकखण्ड अन्तर्गत डौँठेखोला नजिक कडुवा मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा सिराहा नराह गाउँपालिका–५ की २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। गम्भीर घाइते अवस्थामा उद्धार गरेर कटारी अस्पताल लगिएको ममतालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनामा नराहकै ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, नराह–२ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव, धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका ७९ वर्षीय दुर्योधन यादव र झालुदेवी यादव घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि सबैलाई एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर रेफर गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सामान्य घाइतेहरुको उदयपुरको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनापछि माइक्रोबस चालक सिराहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह भने फरार छन्। इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार उनको खोजी कार्य जारी छ। माइक्रोबसमा चालकसहित १६ जना सवार रहेको खुलेको छ। सवारी करिब २०० मिटर तल खसेको र दुर्घटना स्थल वरपर झाडी र बुट्यान रहेकोले मानवीय क्षति ठूलो हुन नपाएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस