पाँचथरमा पाँच दिनदेखि हराइरहेका दाजुबहिनी मृत अवस्थामा भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २१, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
पाँचथरमा पाँच दिनदेखि हराइरहेका दाजुबहिनी मृत अवस्थामा भेटिए

पाँचथर, २० श्रावण। पाँच दिनदेखि हराइरहेका याङवरक-१ च्याङथापुका दाजुबहिनी मृत अवस्थामा भेटिएका छन् । उनीहरुको शव मंगलबार याङवरक-१ को बिरुवा खोलामा फेला परेको हो ।

स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर र उनकी ६ वर्षीया बहिनी नानुमा शुक्रबार बिहानैदेखि सम्पर्कविहीन थिए । याङवरक-१ का अध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरु बिरुवास्थित पूर्ण आधारभूत विद्यालयमाथि रहेको आफ्नो घरमा हजुरबा हजुरआमासँग बस्ने गर्थे ।

उनीहरुले साउन १४ गते साँझ विद्यालयमुनि रहेको बुबाको घरमा बस्न आएका थिए । घर आइपुग्दा बुबा नभेटेपछि छिमेकी कलम बान्तावाको घरमा बास बसेका उनीहरु साउन १५ गते शुक्रबार हजुरबा-हजुरआमा बस्ने घर जान भन्दै हिँडेपछि सम्पर्कविहीन भएका थिए ।

निरन्तर चार दिनसम्म खोजी गर्दा मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा दुवैको शव भेटिएको वडाध्यक्ष राईले बताए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार बालबालिका बेपत्ता भएको खबर प्राप्त भएसँगै प्रहरी चौकी च्याङथापु र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।

‘हराएका भनिएका दुवैको शव खोलामा भेटिएको छ, घटनाका सन्दर्भमा अनुसन्धान जारी छ,’ उनले भने । उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस