
रौतहट, २२ श्रावण। बागमती नदीले माधवनारायण नगरपालिका–९ स्थित गढो गाउँको बाँधमा तीव्र कटान गर्न थालेपछि नगरपालिकाले ३०० मिटर लामो स्पर निर्माण गरी संभावित विपद् न्यूनीकरण गरेको छ।
पछिल्ला दुई दिनदेखिको अविरल वर्षासँगै नदीमा आएको बाढीले गढो गाउँस्थित बाँधमा तीव्र कटान सुरु गरेपछि नगरप्रमुख बैजनाथ यादवको विशेष पहलमा स्पर निर्माण गरिएको हो।
नगरपालिकाका अनुसार करिब ३०० मिटरको क्षेत्रमा नदीले बाँध कटान गर्न थालेको अवस्थामा तत्काल रोकथाम नगरिएमा सम्पूर्ण गाउँ जोखिममा पर्ने अवस्था थियो। यस्तो परिस्थितिमा नगरपालिका स्वयंको स्रोत र व्यवस्थापनमार्फत जाली, बोल्डर तथा बालुवायुक्त बोराको प्रयोग गरी स्पर निर्माण गरिएको हो।
नगरप्रमुख यादवले भने, “बाढीको कारण बाँध कटान भई बस्ती डुबानको उच्च जोखिम उत्पन्न भएको अवस्थामा नगरपालिकाले तत्काल कार्य अघि बढाउँदै स्पर निर्माण गरेको हो।”
उनका अनुसार थप एकवटा स्पर चाँडै निर्माण गर्ने योजना रहेको छ। दुईवटा स्पर निर्माण भएपछि सो क्षेत्रमा रहेको बाँध थप सुदृढ हुने र नदीको कटानबाट बस्ती सुरक्षित हुने विश्वास व्यक्त गरेका छन्।
यदि यथासमयमा रोकथाम कार्य नगरिएको भए गढो गाउँसँगै खडकी रज्वाडा, फुलबरिया, साथै छिमेकी दुर्गाभगवती गाउँपालिकाको भलोहिया बस्ती पूर्णरूपमा प्रभावित हुने सम्भावना रहेको बताइएको छ।
संघीय तथा प्रदेश सरकारबाट अपेक्षित चासो नदेखिएको अवस्थामा, स्थानीय तहको हैसियतले नगरपालिकाले जनताको सुरक्षाका लागि तुरुन्तै लगानी गरेर रोकथाम कार्य अगाडि बढाएको नगरप्रमुख यादवले स्पष्ट पारे।
