गगनसहित तीन पदाधिकारीमाथि कांग्रेसले ४ कारण देखाएर कारबाही

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ३०, बुधबार (१ महिना अघि)
  • ४ पटक पढिएको
गगनसहित तीन पदाधिकारीमाथि कांग्रेसले ४ कारण देखाएर कारबाही

काठमाडौं, ३० पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दिएका हुन्।

विश्वकर्माका अनुसार मुलुक विषम परिस्थितिमा रहेको र पार्टीको महाधिवेशनको संघारमा रहेको अवस्थामा महामन्त्रीद्धय र सहमहामन्त्रीले विधान विपरितका गतिविधि गरेको ठहर बैठकले गरेको छ।

 विशेषगरी फागुन २१ गते हुने संसदीय दलको निर्वाचन र महाधिवेशनको प्रक्रिया चलिरहँदा पार्टीको आधिकारिक निर्णय बिना नै काठमाडौंमा छुट्टै भेला आयोजना गरेको, कार्यकर्तालाई भड्काएको र समानान्तर गतिविधि सञ्चालन गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

के–के हुन् कारबाहीका मुख्य आधार ?
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको छ। कारबाहीका लागि बैठकले ४ आधार प्रस्तुत गरेको छ । 
१. समानान्तर अभ्यासः केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको।
२. अनाधिकृत महाधिवेशन घोषणाः मिति २०८२/०९/२९ गते ’विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनाधिकृत रूपमा पारित गरेको र महामन्त्रीद्धयले संयुक्त प्रतिवेदन पेश गरी छलफल गराएको।
३. समानान्तर निर्वाचन तालिकाः निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको र आज (मिति २०८२/०९/३०) गते महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति र अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्त समेत दिएको।
४. पार्टीलाई हानि नोक्सानीः पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष/अप्रत्यक्ष हानि नोक्सानी पुर्‍याएको।
यी गतिविधिहरू पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरित रहेको ठहर गर्दै उनीहरूलाई विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।

बैठकले गरेका ३ मुख्य निर्णय

निर्णय नं. १ः कार्यसम्पादन समितिका निर्णय अनुमोदन
बैठकले हालसम्म पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेका सम्पूर्ण निर्णयहरूलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
निर्णय नं. २ः पदाधिकारीमाथि कारबाही (निष्कासन)
पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ३ः अन्यलाई मूलधारमा फर्कन आह्वान
कारबाहीमा परेका बाहेक अन्य पदाधिकारी तथा सदस्यहरू, जो भ्रममा परी वा लैलैमा लागेर पार्टी हित विपरितका गतिविधिमा संलग्न थिए, उनीहरूलाई अनुशासनको दायरा सम्झाउँदै पार्टीको मूलधारमा फर्कन र नियमित काममा क्रियाशील हुन बैठकले हार्दिक अपिल गरेको छ।
कारबाही फुकुवाको सम्भावनाबारे पत्रकारको जिज्ञासामा प्रवक्ता विश्वकर्माले सम्बन्धित व्यक्तिले चित्तबुझ्दो स्पष्टीकरण वा पुनरावेदन गरेमा केन्द्रीय कार्यसमितिले भविष्यमा सुनुवाइ गर्न सक्ने बाटो भने खुला रहेको संकेत गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस