रौतहटमा प्रतिनिधिसभा निर्वाचन : चार वटै क्षेत्रमा १४३ उम्मेदवारको मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ६ पटक पढिएको
रौतहटमा प्रतिनिधिसभा निर्वाचन : चार वटै क्षेत्रमा १४३ उम्मेदवारको मनोनयन दर्ता

माघ ०६ गते । रौतहट
रौतहटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूला राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले आ–आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मंगलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रबाट कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

दर्ता भएका उम्मेदवारमध्ये १३० जना पुरुष र १३ जना महिला छन् । यस निर्वाचनमा १०८ जना नयाँ उम्मेदवारले पहिलो पटक चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । सबैभन्दा उल्लेख्य कुरा भने स्वतन्त्र उम्मेदवारको सहभागिता हो । चारै क्षेत्रमा गरेर ७० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्रगत विवरण
निर्वाचन क्षेत्र नम्बर १
यस क्षेत्रमा ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३६ जना पुरुष र ३ जना महिला रहेका छन् । २० जना स्वतन्त्र उम्मेदवार छन् भने ३० जना नयाँ अनुहार थपिएका छन् । यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरका अनुसार यस क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली काँग्रेसका अनिलकुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी लगायतले पनि मनोनयन दर्ता गराएका छन् ।

मनोनयनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता नेपालले लोकतन्त्रको रक्षा, संघीयतालाई मजबुत बनाउने, गणतन्त्रलाई संस्थागत गर्दै नागरिकलाई सुखी र समृद्ध बनाउने कार्य अझै अधुरो रहेको भन्दै त्यसलाई पूरा गर्न आफू उम्मेदवार बनेको बताए ।

यसैगरी आम जनता पार्टीका त्रिभुवन साह, जसपा–लोसपा गठबन्धनबाट योगेन्द्र यादव, जनमत पार्टीका देवेन्द्र मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रीराम साह लगायतले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २
यस क्षेत्रमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवार पुरुष रहेका छन् । महिला उम्मेदवार एक जना पनि नपरेको यस क्षेत्रमा १५ जना स्वतन्त्र उम्मेदवार छन् । १६ जना नयाँ उम्मेदवार थपिएका छन् ।
यहाँ नेपाली काँग्रेसका डा. फिर्दोष आलम, नेपाली कम्युनिष्ट पार्टीका किरण साह, नेकपा एमालेका महम्मद अतिउल्लाह, राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिर, जनता समाजवादी पार्टीका रामआशिष राय यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जयसवाल, आम जनता पार्टीका श्रीभगवान राउतसहित १३ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३
यस क्षेत्रमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३८ जना पुरुष र ४ जना महिला रहेका छन् । २५ जना स्वतन्त्र उम्मेदवार छन् भने ३२ जना नयाँ अनुहार थपिएका छन् ।
यहाँ नेपाली काँग्रेसबाट रामकृपाल यादव, नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव, नेकपा एमालेबाट कुन्दन कुशवाहा तथा आम जनता पार्टीबाट प्रभु साह, राष्ट्रिय स्वतन्त्र पार्टीका धिरज पटेल,जनता समाजवादी पार्टी बाट गोविन्द चौधरी,जनमत पार्टी बाट प्रवेज आलमले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४
यस क्षेत्रमा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३० जना पुरुष र ६ जना महिला उम्मेदवार रहेका छन् । २० जना स्वतन्त्र उम्मेदवार र ३० जना नयाँ उम्मेदवार थपिएका छन् ।
यस क्षेत्रबाट नेपाली काँग्रेसका देवप्रसाद तिमलसिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भटराई, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, आम जनता पार्टीका ऋषि धमला तथा जनता समाजवादी पार्टीका राजकुमार दास लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिस्पर्धा चर्किने संकेत
चारै क्षेत्रमा उम्मेदवारको संख्या धेरै र स्वतन्त्र उम्मेदवारको उपस्थिति उल्लेख्य रहेकाले यस पटकको प्रतिनिधिसभा निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ । नयाँ अनुहारको ठूलो सहभागिताले मतदातामाझ फरक विकल्प प्रस्तुत हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना गर्दै शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी निर्वाचन गराउने तयारी भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस