गौशाला नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा तालाबन्दी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • २ पटक पढिएको
गौशाला नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा तालाबन्दी

महोत्तरी, १३ माघ। वडाध्यक्षको नेतृत्वमा महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिका पुगेका स्थानीयले तालाबन्दी गरेका हुन् ।

गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी रोक्का गरिएको र चालु आर्थिक वर्षको योजना बाँडफाँटमा असमान व्यवहार गरिएको उनीहरूको आरोप छ ।

नगरप्रमुख डा. दीपेन्द्र महतो तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । तालाबन्दीपछि मंगलबार नगरपालिका पुगेका सेवाग्राहीको काम तथा कार्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ ।

वडाध्यक्ष साहले गत वर्ष सम्पन्न वडास्तरीय योजनाको भुक्तानी नगरप्रमुखले अहिलेसम्म रोक्का गरेको बताए । यस वर्षको योजना बाँडफाँटमा पनि विभेद गरिएको वडाध्यक्ष साहको भनाइ छ ।

‘अन्य सबै वडामा योजना छुट्याएर बजेट विनियोजन गरिएको छ तर हाम्रो वडामा काम गर्न नपाओस् भन्ने नियतले एकमुष्ट बजेट राखिएको छ,’ आक्रोश पोख्दै वडाध्यक्ष साहले भने ‘कतिपय विषयहरूमा आफूले सचेत गराएकै कारण मेयरले आफूहरूको सिंगो वडामाथि सौताको व्यवहार देखाएको छ ।’

आफ्नो वडासँग गरिएको व्यवहार नसच्याएसम्म ताला नखोल्ने उनले बताए । गौशाला नगरपालिकाका प्रमुख डा. महतोले स्थानीयबाटै व्यापक जनगुनासो आएकाले केही योजनाको भुक्तानी प्रक्रिया रोकिएको प्रतिक्रिया दिए ।

‘बोरिङको योजनामा त्यस वडाका वडाध्यक्षले किसानहरूसँग १–२ लाख उठाएको गुनासो व्यापक आएपछि हामीले भुक्तानीमा कडाइ गरेका हौं । डिप बोरिङका योजनाहरूमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा पनि मुद्दा छ । त्यसकारण पनि भुक्तानीमा ढिलाइ भएको हो,’ नगरप्रमुख महतोले भने ।

योजना बाँडफाँटको विषय नगरसभासँग सम्बन्धित रहेकोले त्यसको जवाफ सभाले नै दिने नगरप्रमुख महतोको भनाइ छ । उनले बुधबारबाट पालिकाको नियमित कामकाज अघि बढ्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस