मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति ८:१३
१३ मंसिर २०८३ आइतबारराति ८:१३ Sunday, November २९, २०२६

जनकपुर–अयोध्या रेल सेवाले जोड्यो धार्मिक सम्बन्ध, विवाहपञ्चमीको निम्तो लिएर मेयर साहको टोली अयोध्या प्रस्थान

शेयर५०२०००
Listen to this article
2 min listen · 298 words0:00 / 2:00
0:00
2:00

जनकपुरधाम,१३ मंसिर।  माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने जनकपुरधाम–अयोध्या सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। रेल सेवा सुरु भएसँगै जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली अयोध्या प्रस्थान गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको नेतृत्वमा जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद्, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार सम्मिलित टोली अयोध्या गएको हो।

टोलीले अयोध्यामा विवाहपञ्चमी महोत्सवको औपचारिक निमन्त्रणा दिनुका साथै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायत सामग्री समावेश गरिएको भारसमेत लगेको छ।

टोलीका नेतृत्वकर्ता मेयर साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताए। त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको धार्मिक प्रसंग स्मरण गर्दै उनले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या प्रस्थान गरेको बताए।

जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको परम्परालाई निरन्तरता दिँदै जानकी मन्दिरबाट अयोध्यामा जन्तीका लागि निमन्त्रणा पठाउने धार्मिक चलन रहिआएको छ।

यसैबीच, गत सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उद्घाटन गरिएको जनकपुरधाम–अयोध्या रेल सेवा नियमित भएको छ। यसअघि मंगलबार जनकपुरधाम आएको रेल सोही दिन अयोध्या फर्किएको थियो। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सञ्जालमार्फत थप मजबुत बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस रेलले करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्नेछ।

नेपाल रेलवे कम्पनीका अनुसार रेल सेवामा स्लीपर श्रेणीको भाडा ५८४ रुपैयाँ र एसी श्रेणीको अधिकतम भाडा २ हजार १७६ रुपैयाँ कायम गरिएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ। रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा भारतीय समयअनुसार अयोध्या क्यान्ट स्टेसन पुग्नेछ।

त्यस्तै, प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याबाट फर्किने रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा नेपाली समयअनुसार जनकपुरधाम आइपुग्नेछ।

पराजुलीका अनुसार बिहीबारदेखि सुरु भएको टिकट बुकिङ शनिबार बिहानसम्म जारी रहेको थियो। यद्यपि, हालसम्म कति यात्रुले टिकट बुकिङ गरे भन्ने तथ्याङ्क भने उनले सार्वजनिक गर्न चाहेनन्।

जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सञ्जालबाट जोडिएसँगै दुवै धार्मिक सहरबीचको आवागमन सहज हुने र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५०२०००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

लोकप्रिय

ट्रेन्डिङ