‘बाढीले झोलुङ्गे र पक्की पुल बगाएपछि दुवैतर्फ बेखबर छौं। सम्बन्ध टुटेको छ,’ नुवाकोट दर्शनटारका ८६ वर्षीय भुवनप्रसाद घिमिरेले भने, ‘सरकारले सम्बन्ध कहिले जोड्छ थाहा छैन।’
१० गतेको बाढीले मन स्थिर भएको छैन। अझै यस क्षेत्रका स्थानीय त्रासमै छन्। ‘म ८६ वर्षको भएँ। अहिलेसम्म यस्तो देखेको थिइनँ। यसपटक के आयो के, उर्लेर आयो,’ उनले भने, ‘बाउबाजेको पालोमा पनि आएको थिएन।’ उनका अनुसार २०१९ सालमा बाढी आएको थियो तर अहिलेको जस्तो भएको थिएन।
‘त्यो बेला पुल बनेको थिएन। बस्ती माथिमाथि थियो। सडक, पुल बनेपछि बस्ती पनि तल सर्यो। अहिले बाढीले सबै लग्यो,’ उनले भने।
बगे पुल
रसुवा, नुवाकोट र धादिङका थुप्रै गाउँबस्तीको साझा समस्या हो यो। बाढीले पक्की पुल मात्र ३५ वटा बगायो। तर झोलुङ्गे पुल कति बगायो यकिन छैन। गल्छीको एउटा मात्र पुल जोगिएको छ। अहिले वैकल्पिक मार्गबाट धादिङ हुँदै नुवाकोट र रसुवाको सिमाना त्रिशूली पुग्ने ‘लाइफलाइन’ बनेको छ।
कतै झोलुङ्गे पुलको लट्ठा मात्र छ। कति पुल खोलामा लत्रिएका छन्। कतिपय ठाउँमा पक्की पुलको जगै देखिँदैन। पहिले पुल भएको धेरै माथिबाट अहिले खोला बगेको छ। धादिङको गल्छीबाट उकालो लागेपछि भेटिए ७८ वर्षीय धनबहादुर अधिकारी।
उनको घर धादिङतर्फ पर्छ, पारिपट्टि नुवाकोट। ‘पहिले पुलबाट वारपार गर्न ५ मिनेट लाग्थ्यो। अब गल्छी पुगेर हिँड्दै जान ४–५ घण्टा लाग्ने भएको छ,’ उनले समस्या सुनाए।
नुवाकोटको देवीघाट वडा नम्बर ३ र ५ बाट बगेको छ, त्रिशूली। देवीघाटका लोकबहादुर पुडासैनी र उनकी श्रीमती दुर्गा पुडासैनी बाढी पसेको घर सफा गर्दै थिए। तर वारपार गर्न पाएका छैनन्।
पारिपट्टि दुर्गाको माइती छ। बाढीले भाइलाई बगाएको सुनेकी छिन् तर जान पाएकी छैनन्। ‘भाइ सम्पर्कमा छैन। उता जान पाएको छैन,’ उनले भनिन्।
लोकबहादुर पुडासैनीका अनुसार देवीघाट क्षेत्रमा तीनवटा पुल थिए। ‘२०३२ सालमा हालेको फलामे पुल बगायो। २०८२ र २०६४ मा हालेको पक्की पुल पनि गयो,’ उनले भने, ‘तीनवटा पालिकालाई जोड्ने देवीघाट हो। अहिले सम्बन्धविच्छेद भएको छ।’ बाटो र पुल नबनेसम्म वारिपारि आफन्तजनसँग भेट गर्न सम्भव छैन।
पहिले तुइन विस्थापित गर्ने अभियान चल्यो। र, झोलुङ्गे अनि पक्की पुल बन्यो। तर अहिले न तुइन छ, न पुल छ। ‘तुइन भएको भए पनि वारपार गर्न मिल्थ्यो। तत्कालको लागि तुइन भए पनि व्यवस्था सरकारले गरोस्,’ धनबहादुरले भने।
बिजुली र सञ्चारविहीन
धेरै ठाउँमा बाढीले बिजुलीका पोल र तार क्षतिग्रस्त बनाएको छ। पारिपट्टिका धेरै ठाउँमा अझै बिजुली आएको छैन। अनलाइनखबरको टिम पारिपट्टिको वैकल्पिक बाटो हुँदै देवीघाट पुग्दा स्थानीयहरू घरबाहिर चौतारामा भेला भएर बसेका थिए। अधिकांश स्थानीय घरबाहिर थिए।
‘बाढीले पोल लगेपछि बिजुली आएको छैन। गर्मी छ, बाहिर चौतारीको बास छ,’ ६५ वर्षीया अम्बिका रिमालले भनिन्। मोबाइल चार्ज गर्न घण्टौं हिँड्नुपर्ने अवस्था आएको छ।
यी क्षेत्रहरू अहिले विकट र दुर्गम गाउँ बनेको स्थानीय बताउँछन्। ‘पारि आफन्त छन्। के भयो थाहा छैन। फोन लाग्दैन। जान सकिएको छैन। ५ मिनेटमा वारपार हुन्थ्यो, यताको यतै उताको उतै छन्,’ देवीघाटकी ४८ वर्षीया बिन्दा अधिकारीले भनिन्।
जनजीवन ठप्प
भकारीमा धान छ, मकै छ। तर मिलमा कुट्न पाएका छैनन्। ‘मिल पारि छ। कुटेको चामल सकिएको छ, अब के खाने ? बिजोग भयो,’ उनले भनिन्, ‘लगाउने टीका पनि पारि बजारबाट किन्नुपर्छ। उता पनि बजारै छैन रे। जान पाएको छैन।’
सधैं आउजाउ गर्ने उनीहरूलाई बजारको खबर पनि थाहा छैन। ‘टीभी हेर्न पाएको छैन। मोबाइल अफ छ, मरुभूमि भएको छ,’ स्थानीय ५५ वर्षीय पूर्णबहादुर भुजेलले भने, ‘उजाडिएको छ। ढुङ्गेयुगजस्तो भयो, केही थाहा छैन।’
दैनिक जनजीवन नै प्रभावित भएको छ। ‘खाद्यान्न उताबाट यता ल्याउने र यताको उता लैजाने हो। अहिले ठप्प भएको छ,’ स्थानीय ५५ वर्षीय गोविन्द अर्यालले भने। पहिले गुल्जार बजार अहिले खण्डहर बनेको छ। स्थानीयले दैनिक उपभोग्य वस्तुसमेत किनबेच गर्न पाएका छैनन्। उत्पादन भएको तरकारी वारिपारि लैजान पाएका छैनन्।
वारिका विद्यार्थी पारि जाने, पारिका वारि पढ्न आउने गर्थे। तर यी तीनै जिल्ला, त्रिशूली वारिपारिका विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ। ‘बेलकोटगढी नगरपालिकासम्मका विद्यार्थी देवीघाट आउँछन्। अब वारिपारि विद्यार्थी पढ्न जान नसक्ने भए,’ ७७ वर्षीय कृष्णप्रसाद अर्यालले भने।
सडक छैन
तीन जिल्लाको सडक सम्बन्ध पनि टुटेको छ। स्थानीयलाई आवतजावत गर्न सडक छैन। जोगिएको गल्छीको एउटा पुल मात्र हो। त्यो मार्गबाट त्रिशूली, देवीघाट, ढुङ्गे, बेत्रावती पारिपट्टि पुग्न घण्टौं लाग्ने भएको छ। ‘पक्की सडक बगायो। गल्छीबाट आउनुपर्छ। साँघुरो बाटो छ। दुईतर्फी चलाउन गाह्रो छ,’ भुजेलले भने।
सडक कहिले बन्छ थाहा छैन। ‘विदुरदेखि गल्छी पुगेर फेरि गल्छीबाट बेत्रावतीको पारिपट्टिसम्म आइपुग्न ५ घण्टा लाग्छ,’ नुवाकोट विदुर–९ बोगटीटारका ३२ वर्षीय रामहरि बोगटीले भने, ‘बाटो कच्ची छ, गाह्रो छ।’
अहिले राहत सामग्री लिएर जाने र स्थानीयको आवतजावतले यो कच्ची बाटोमा पनि जाम हुन थालेको छ।
मारमा बिरामी
सडक र पुल नहुँदा अत्यावश्यक सेवा प्रभावित भएको छ। मानिस बिरामी हुँदा झन् समस्या भएको छ। बिरामी हुँदा काठमाडौं उपचारका लागि लैजान कठिन भएको छ।
‘जटिल उपचार गर्न काठमाडौं लैजानुपर्छ। दुई घण्टामा काठमाडौं पुगिन्थ्यो। अहिले गल्छी हुँदै जाँदा ७–८ घण्टा लाग्छ,’ बोगटीले भने, ‘एम्बुलेन्स बोलाउनुपर्छ। यहाँ आइपुग्न समय लाग्छ। त्यो बेलासम्म बिरामीको हालत के हुने हो थाहा छैन।’
बाढीका कारण पिमलटार, तारुकाघाट, पिपलडाँडा, कुमालटार, सिर्खाली, मुल्थला, गौरीबेंसी, कालीखोला र त्रिशूलीको माथिल्लो भेगका स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्।