निलम्बन फुकुवाबारे ठोस निर्णय नआए सोमबारदेखि गतिविधि सुरु गर्ने चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (४९ मिनेट अघि)
  • ३० पटक पढिएको
निलम्बन फुकुवाबारे ठोस निर्णय नआए सोमबारदेखि गतिविधि सुरु गर्ने चेतावनी

काठमाडौं, १ असोज। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् ।

‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन पनि पाउँछौं होला, अन्यथा यस्तो विकराल समस्याहरू भइरहेका छन्, सोमबारदेखि हामी फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्छौं’ तुलाधरले भने ।

उनले एन्फा एकेडेमीका बाल खेलाडीहरूको पढाइ र आवाससम्बन्धी समस्या बढ्दै गएको पनि बताए । ‘एकेडेमीमा रहेका बच्चाहरूको पढाइ र खानाको समस्या भइरहेको छ, खाना नै नदिइकन राख्ने कुरा पनि भएन’ उनले भने ।

तुलाधरका अनुसार सरकारले निलम्बन फुकुवाका लागि गर्ने कुनै पनि पहलमा एन्फाले पूर्ण साथ दिनेछ। तर कुनै प्रगति नभए फिफाको नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाइने उनले स्पष्ट पारे ।

‘सरकारले गर्ने पहलमा हाम्रो पनि साथ रहनेछ, केही पहल भएन भने फिफाको नियमअनुसार दैनिक गतिविधि अगाडि बढाउँछौं’ उनले भने ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिर छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस