बाढीमा ज्यान गुमाएकाका पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्न सांसद ओलीको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३२ मिनेट अघि)
  • २९ पटक पढिएको
बाढीमा ज्यान गुमाएकाका पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्न सांसद ओलीको माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताइन् ।

साथै, उनले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाइन् ।

‘सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनएको रिपोर्ट म्याच भएपछि मात्रै दिन्छौँ भन्ने रहेको छ । पुलिस अस्पतालमा उहाँहरूले डिएनएको लागि रगत दिएको पनि १५ दिन भइसकेको छ । अझै पनि रिपोर्ट आएको छैन । डीएनए प्रमुखले सबैको डिएनए रिपोर्ट एकैपटक निकाल्ने भएको कारण समय लाग्ने कुरा गरेको पीडितको गुनासो छ,’ उनले भनिन् ।

उनका अनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उनले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताइन् ।

‘हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिनुपर्ने भएको कारण ३, ४ महिना पनि लाग्नसक्छ भन्ने कुरा गर्नुभएको रहेछ । उहाँ एक जना मात्र नभई यो अवस्थाबाट गुज्रिरहेको धेरै जना हुनुहुन्छ । पीडा भएको मान्छे यतिधेरै कुर्न सक्दैन । यस विषयमा राज्यको संवेदनशीलता आवश्यक छ,’ उनले भनिन्, ‘अनुहारसहित स्पष्ट रुपमा शव पहिचान गरेर गरिएको दाबी भएको कारण म राज्यसँग स्पष्ट अनुरोध गर्न चाहन्छु, पहिचान भइसकेका शवलाई सम्बन्धित परिवारलाई जिम्मा दिनुपर्‍यो । होइन डीएनए नै चाहिने हो भने छिट्टै रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्यो भन्ने उनीहरूको माग छ । पूर्ण पहिचान भएका शवको सनाखत गरी तत्काल हस्तान्तरण गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस