सांसदको सम्बोधनकै बीच गृहमन्त्री हिँडेपछि ऐन महरको नियमापत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३६ मिनेट अघि)
  • ३२ पटक पढिएको
सांसदको सम्बोधनकै बीच गृहमन्त्री हिँडेपछि ऐन महरको नियमापत्ति

काठमाडौं, ३० भदौ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् ।

मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । सोही विषयमा एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन् ।

‘माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू …. प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ । यो नियमको उल्लंघन गर्दै माननीय गृहमन्त्री त्यो बीचबाट हिँड्नुभएको छ’, महरले सभामुख डोलप्रसादको ध्यानाकर्षण गराउँदै भने ।

विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको उनले बताए । यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने आग्रह गरे ।

नियमावलीको नियम २० मा बैठकमा पालन गर्नुपर्ने नियम छ । जसअनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नु पर्ने हुन्छ ।

बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने हुन्छ ।

सभामुखले समय दिएपछि मात्र बोल्नुपर्छ ।

बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने हुन्छ ।

सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने व्यवस्था छ ।

सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था यसमै छ ।

सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने पनि नियम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस