
रौतहट,०२ मंसिर। मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्री को बन्ने अन्योल देखिएको छ ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मंसिर ४ गते भित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरिसकेका छन् । तर सरकार कुन दलका को नेताको नेतृत्वमा बन्ने त्यो निश्चित भइसकेको छैन ।
कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई हटाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी-नेकपा) र जनता समाजवादी पार्टी -जसपा) नेपालबीच सहमति भएको हो । मधेश प्रदेशमा जसपा नेपाल सबै भन्दा ठूलो दल हो ।तर कांग्रेस अथवा एमालेको समर्थन बिना सरकार बनाउन सक्दैन । एमालेले जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सरकार बनाउन ग्रीन सिग्नल दिइसकेको छ ।
नेकपाले पनि यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नै सरकारमा नजाने षडयन्त्रमा लागेका छन् । उनले यादवको नेतृत्वमा पार्टी सरकारमा गए जितेन्द्र सोनल लगायतका नेताहरुले साथ छाड्ने भय अध्यक्ष यादवलाई छ । पार्टीका संरक्षक महन्थ ठाकुर भने सरोज कुमार यादवलाई नै मुख्यमन्त्री बनाउने पक्षमा छन् ।
तर शरतसिंह भण्डारीले सोनलको पक्षमा वातावरण बनाउन लागेका छन् । अध्यक्ष यादवले पार्टी सरकार बाहिर नै रहे आन्तरिक विवाद सामसुम हुने विश्वास लिएका छन् ।
एमाले र नेकपाले भने सरोज कुमार यादव बाहेकलाई मुख्यमन्त्रीको रुपमा जसपा नेपाललाई समर्थन नगर्ने प्रष्ट गरिसकेका छन् । लोसपा र जसपा एकिकृत भए पनि पार्टीका अध्यक्ष यादवको क्रियाकलापबाट असन्तुष्ट रहेका नेताहरु मध्ये अधिकांश नेताहरु एमाले तर्फ जाने संकेत देखिएको छ । भण्डारी र उनी निकटका नेताहरुले कांग्रेस पार्टीलाई रोज्ने बलियो सम्भावना छ । त्यसकारण मधेश प्रदेश सरकारको नेतृत्व चयनमा अन्योल देखिएको छ ।
पार्टी अध्यक्ष यादवको विरुद्ध बहुमत सांसद रहेका छन् । उनीहरुले सरोज यादवको नेतृत्वमा सरकार बनाउन समर्थन सहितको हस्ताक्षर दिइसकेका छन् ।
तर जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नदिन जसपाका सोनल समुह सहित कांग्रेसका कामु मुख्यमन्त्री यादव लागेका छन् । तर जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा रोके पार्टी नै बिभाजन हुने निश्चित भइसकेको बताइन्छ । सरकार बनाउने पक्षधरहरुले तीन दलबीच सरकार गठनको लागि सहमति भइसकेको छ ।
उच्चस्रोतका अनुसार जसपा नेपाल र एमालेले ४/४ मन्त्रालय र नेकपाले ३ मन्त्रालय लिने सहमति भइसकेको छ । सरोज कुमार यादव मुख्यमन्त्री हुनेमा एमाले र नेकपाका शीर्ष नेताहरुले मोहर लगाइसकेका छन् । एमाले र नेकपाको समर्थन नपाए कांग्रेस र जसपा नेपालले मिलेर सरकार बनाउनुको विकल्प देखिदैन ।
तर कांग्रेसलाई जसपा नेपालका अधिकांश सांसदहरुले समर्थन गर्ने पक्षमा छैनन् । सरकारमा जाने जसपाका नेताहरुले मुख्यमन्त्रीका लागि विवाद नरहेको दाबी गरेका छन् । उनीहरुले बुधबार साँझसम्म सरकार बनाउने दाबी पेश गर्ने बताएका छन् ।
नेकपा संसदीय दलका नेता समेत रहेका निवर्तमान अर्थमन्त्री युवराज भट्टराईले पर्वत्यौहारको कारण दलहरुबीच छलफल हुन नसकेको बताए । ‘सरकार गठन हुनेमा कुनै विवाद अथवा अन्यौल रहेको छैन’ उनले भने, पर्वतिहारको कारण मात्र ढिलाई भएको हो । उनले सरकार गठनको विषयमा सहमति भए जस्तै रहेको बताउँदै तर छलफल हुन अझै बाँकी रहेको बताए ।
जसपा नेपाल स्रोतका अनुसार सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार बनाउन दाबी पेश गरिनेछ । जसपा नेपालको चाहना अनुसार १६८ को उपधारा ३ बमोजिम सरकार गठन गर्न एमालेले सहमति नजनाएपछि १६८ को उपधारा २ अनुसार नै सरकार बनाउने सहमति भएको छ । एमाले स्रोतका अनुसार कांग्रेस नेतृत्वको सरकारमा एमालेले पाएका सबै मन्त्रालय नै रहने छ । तर नेकपाको भागबाट एउटा मन्त्रालय हटाइने छ ।
स्रोतले जनाए अनुसार उर्जा, सिंचाई मन्त्रालय जसपा नेपाललाई दिइनेछ । मुख्यमन्त्रीको समथसँगै एमाले र नेकपाका १/१ जना मन्त्रीले सपथ लिने स्रोतले जनाएका छन् । तर जसपा नेपाल भित्रको खिँचातानीले सरकार गठनमा कठिनाइ आउन सक्ने नेपाली कांग्रेसका केही नेताहरुको बुझाइ छ । उनीहरु सरकार बनाउन चाहे जस्तो सहज नभएको बताउँछन् ।
