
बारा,०२ मंसिर। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गिरीको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेपछि मङ्गलवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गिरीको प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा नियुक्ति लिन गिरीले पेस गरेको तीन वर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त प्रमाणपत्र गिरीको नभई अर्कै व्यक्तिको रहेको पुष्टि भएको आयोगले जनाएको छ ।
गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए । सोही नियुक्तिका क्रममा उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी आफ्नो वास्तविक शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको आयोगको ठहर छ ।
आयोगले गिरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको जिकिर गर्दै सोही कानुनी व्यवस्थाअनुसार कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ ।
यस सम्बन्धमा आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ ।
