चैत्र ०५ गते ।
रौतहटको गरुडामा एउटा अनाथालय रहेको छ जसको नाम हो वंशीराम जयसवाल अनाथालय । यस अनाथालयले पचिस वर्ष पूरा गरेको छ । पचिस वर्षमा यस अनाथालयले के के ग¥यो भन्ने विषयमा सोधपुछ गर्नेहरु ज्यादै कम छन् । अनाथालयले कुन कुन क्षेत्रमा के कस्ता योगदानहरु दिएका छन् भन्ने विषयमा पनि कोही यथार्थको धरातलमा खोजीनिधि गर्न चाहँदैनन् । अनाथालयलाई कतिपयले स्वाभाविकरुपमा सहानुभूतिको थलोको रुपमा लिने गरेका गरेका छन्, वास्तवमा अनाथालयलाई सहानुभूति पनि चाहिएको छ तर सहानुभूतिभन्दा बढी सहयोग चाहिएको छ ।
अहिलेसम्म एकजना वंशीराम जयसवालले यस अनाथालयका लागि जे जति गरेका छन्, त्यो स्तुत्य छ । सबैले पूजा गर्न लायक काम गरेका छन् जयसवालले । उनी जीवित देवता हुन् भन्दा पनि हुन्छ । उनी यस्ता देवता हुन् जसले कैयाँैलाई उद्धार गरी नयाँ जीवन दिएका छन् । जयसवालले अनाथालयको स्थापना नगरेका भए आज कैयौँ अनाथ बालबालिका जो प्रौढ बनेर जीवनको विभिन्न क्षेत्रमा सफलतापूर्वक लागिसकेका छन्, को हालत कस्तो हुन्थ्यो होला ? अहिले जो अनाथालयमा आफ्नो आजीविका गर्दै पठनपाठन गरिरहेका छन्, ती बालबालिकाहरु कहाँ हुन्थे होलान् ?
कतिपयले के देख्ने गरेका छन् भने अनाथालयमा धेरै सहयोग आउँछ । अनाथालयमा बस्ने बालबालिकालाई खाजा र खाना चाहिन्छ दिनको चारपटक । शिक्षादीक्षामा खर्च हुन्छ । स्वास्थ्य र उपचारमा पनि खर्च हुन्छ । हरेक दिन कम्तीमा तीन हजारदेखि पाँच हजारसम्म सामान्य नगद खर्च रहेको छ अनाथालयको । कहाँबाट र कसरी खर्च धानेको छ अनाथालयले ? यतातिर कसैको ध्यान जान सकेको छैन । वास्तवमा अनाथालयको बारेमा सही अर्थमा बुझेर अनाथालयलाई के कस्तो सहयोगको आवश्यकता रहेको छ, त्यहीँअनुसार सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ । यहाँ रहेका अनाथल बालबालिकामध्ये सक्षमले एक एक जनाको शिक्षा वा खाना वा नानाको जिम्मा लिए पनि कति राम्रो हुन्थ्यो होला ? अभिभावकत्व ग्रहण गर्न हामीलाई सजिलो छैन भने सम्भव भएसम्म सकारात्मक दृष्टिकोण राखेर अनाथालयलाई सहयोग गरौँ ।