
काठमाडौं, २८ जेठ। क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले भिसा सिफारिस गरेको भेटिएको छ ।
प्रदर्शनीमार्गमा रहेको वाल्मिकी विद्यापीठ क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले अध्यागमनलाई १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरेको भेटिएको हो ।
शिक्षा मन्त्रालयले भिसाका लागि सिफारिस गरेपछि अध्यागमनले केही व्यक्तिलाई भिसा जारी पनि गरेको थियो । तर, थप व्यक्तिको जारी गर्ने बेलामा शंका लागेर जाँच गर्दा क्याम्पसको पत्र नै नक्कली रहेको भेटिएको छ ।
यो प्रकरणमा अध्यागमन विभागले अहिले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ पर्नेमा क्याम्पसको नक्कली पत्र बनाएर भिसाका लागि मन्त्रालयमा कागजात पठाउने व्यक्ति र एक चिनियाँ महिला छन् ।
जसमा वीरगञ्ज घर बताउने र आफू पीएचडी डाक्टर रहेको दाबी गर्ने सुबोध शुक्ला र चिनियाँ महिला छु छियाओ छन् । उनीहरू दुवैलाई बुधबार अध्यागमनले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।
नक्कली पत्रका आधारमा १० विदेशीको भिसा सिफारिस
गत ६ जेठमा वाल्मिकी विद्यापीठको लेटरहेडमा ‘एकेडेमिक अध्ययन भिसाको लागि सिफारिस सम्बन्धमा’ शिक्षा मन्त्रालयलाई पत्र लेखेर १० विदेशी नागरिकको भिसा सिफारिस गरिएको थियो ।
‘नेपाल संस्कृत विश्वविद्यालय, संस्कृत साहित्य विभागद्धारा लिइएको आन्तरिक प्रवेशार्हता (भर्ना पूर्वको प्रवेश परीक्षा)मा सहभागी भई उत्तिर्ण तपसिलका विदेशी विद्यार्थीहरुलाई यस वाल्मिकी विद्यापीठमा सन् २०२६ मार्च महिनादेखि संस्कृत साहित्यमा २ वर्षे आचार्य अध्यनन गर्न प्रथम वर्षमा रीतपूर्वक भर्ना भएकाले नियमानुसार एकेडेमिक अध्ययन भिसा उपलब्ध गराइदिनु हुनु आवश्यक कागजाहरू संलग्न गरी पठाएको व्यहोरा अनुरोध छ’ वाल्मिकी विद्यापीठको पत्रमा उल्लेख थियो ।

उक्त पत्रमा प्राचार्य अच्युतमप्रसाद लामिछानेको हस्ताक्षर थियो । जहाँ १० विदेशी विद्यार्थी भन्दै नाम र पासपोर्ट नम्बर पनि उल्लेख थियो ।
यो सिफारिसको आधारमा शिक्षा मन्त्रालयले ती १० विदेशी विद्यार्थीका लागि भिसा उपलब्ध गराउन भन्दै अध्यागमन विभागलाई सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयका सहसचिव समेतले टिप्पणी उठाएर आदेश गरिएको पाइएको छ ।
यसै आधारमा २१ जेठमा शिक्षा मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गर्दै भिसाका लागि सिफारिस गरेको थियो ।
शिक्षा मन्त्रालयको सिफारिस आएपछि अध्यागमनले ८ जनाको भिसाको समेत जारी गरेको थियो । भिसा जारी हुनेमा एक कोरियन, एक रसियन र ६ जना चिनियाँ नागरिक थिए । सिफारिस भएका मध्ये वाङ लि–सान र हासिङ यु हसिन जारी हुन बाँकी नै रहेको छ ।
..अनि खुल्यो नक्कली
मन्त्रालयबाट सिफारिस भएर आएका १० जना मध्ये बुधबार दुई जनाको भिसा जारी गर्ने क्रममा शंका लागेपछि अध्यागमनले कागजात जाँच गरेको थियो ।
मन्त्रालयबाट आएको पत्रबारे पनि अध्यागमनले बुझ्दा सही भएको ठहर भयो । त्यसपछि वाल्मिकी विद्यापीठको पत्रबारे पनि अध्यागमनले जाँच गरेको थियो ।
‘विशेषगरी हाम्रो क्षेत्राधिकार भनेको शिक्षा मन्त्रालयको सिफारिस हेर्ने हो । कुन कलेजबाट मन्त्रालयमा सिफारिस भएर आएको हो त्यो बुझ्ने काम मन्त्रालयको हो । तर हाम्रो क्षेत्रमै नपर्ने कलेजको पत्रबारे अनुसन्धान गर्दा त्यो पत्र नै नक्कली रहेको खुल्यो’ अध्यागमनका एक कर्मचारीले भने ।

पत्रबारे अध्यागमनले बुझ्दा वाल्मिकी विद्यापीठले नाम उल्लेख गरेका १० विदेशीलाई भिसाको सिफारिस नगरेको र त्यहाँ उल्लेख गरेको कोर्स संस्कृत साहित्यमा २ वर्षे आचार्य कोर्स समेत नरहेको खुलेको विभागका महानिर्देशक तिवारी बताउँछन् ।
यसबारे वाल्मिकी विद्यापीठले पत्रैमार्फत अध्यागमनलाई समेत जानकारी गराएको छ । बुधबार विद्यापीठले पठाएको पत्रमा भनिएको छ, ‘यस विद्यापीठबाट शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्रमा उल्लेख भए बमोजिम च. न.३७३५ मिति २०८३–०२–०६ बाट कुनै पत्र नपठाइएको व्यहोरा अनुरोध छ । साथै विद्यापीठमा विदेशी विद्यार्थीका लागि हाल आचार्य तहमा कुनै कक्षा सञ्चालन नगरिएको र पत्रमा उल्लेख भए बमोजिम कुनै पनि विदेशी विद्यार्थी यस विद्यापीठमा भर्ना नभएको व्यहोरा प्रमाणित गरी पठाइएको छ’ निमित्त प्राचार्य उमेशप्रसाद घिमिरेले लेखेको पत्रमा छ ।
भिसाका लागि सिफारिस भएका विदेशी व्यक्ति वाल्मिकी कलेजमा भर्ना नभएकोदेखि विदेशी विद्यार्थीलाई उक्त कोर्स समेत सञ्चालन नगरिएको पुष्टि भएपछि नक्कली पत्रको आधारमा भिसा सिफारिस भएर जारी समेत भएको खुलेको हो ।
यो कीर्ते कागजात बनाएर भिसाका लागि पठाउने व्यक्ति अहिले पक्राउ परेका शुक्ला रहेको अध्यागमनले बताएको छ ।
अब के हुन्छ ?
भिसा जारी भएकामध्ये एक जना अहिले अध्यागमनको हिरासतमा छन् । बाँकी भने सम्पर्कबिहिन छन् । उनीहरू नेपाल प्रवेश गरेको देखिएको छ । कीर्ते कागजात बनाएर अध्ययन भिसा समेत लिई नेपाल प्रवेश गरेका उनीहरुलाई विभागले अब पक्राउ गरेर अनुसन्धान गर्न सक्ने बताइएको छ ।
त्यसका लागि अध्यागमनले भिसा रद्दको प्रक्रिया समेत अघि बढाइएको विभागका महानिर्देशक तिवारीले बताए । ‘अब उनीहरूको भिसा रद्द हुन्छ । त्यसपछि पक्राउ गरेर अनुसन्धान गरिन्छ’ तिवारीले भने ।
अनुसन्धानबाट थप कसुर देखिएमा अन्य निकाय वा प्रहरीले हेर्नुपर्ने देखिए सोही अनुसार गरिने र डिपोर्ट समेत हुने बताइएको छ । यसका लागि जरिवाना तोक्नेदेखि केही वर्ष वा समयका लागि नेपाल प्रवेश समेत गर्न नपाउने गरी डिपोर्ट गर्ने अधिकार अध्यागमनसँग छ ।
राष्ट्रिय सुरक्षामै खतरा
विगत विदेशीहरू कलेजमा भर्ना हुने तर अध्ययन नगरी अन्य धन्दामा संलग्न हुने गरेका घटनाहरु बाहिरिएका थिए । यस्तो प्रवृत्ति देखिएपछि विभागले सार्वजनिक सूचना नै निकालेर अध्ययन भिसामा आएका व्यक्ति अनिवार्य अध्ययन गरेको हुनुपर्ने नत्र कलेजलाई कारबाही गर्नेसम्म बताएको थियो ।
तर अहिले कागजात नै नक्कली बनाएर अध्ययन भिसामा नेपाल प्रवेश गरेको देखिएको छ । नक्कली कागजातका आधारमा एउटा भिसामा नेपाल प्रवेश गर्नुको पछाडि आपराधिक प्रवृत्ति हुनसक्ने सुरक्षा मामलाका जानकारहरू बताउँछन् ।
यसरी नेपाल छिरेका व्यक्तिहरुबाट समग्र देशकै राष्ट्रिय सुरक्षामा समेत असर पर्नसक्ने विज्ञहरू बताउँछन् । नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी यो निकै संवेदनशील र राष्ट्रिय सुरक्षाको विषय रहेको बताउँछन् ।
‘फेक डमुकेन्ट नै बनाएर नेपाल छिर्नुपर्ने अवस्था होइन । यसको मतलब उनीहरू अपराधमा संलग्न हुने वा आतंकवादी गतिविधिमा तथा राज्यविरुद्धका गतिविधिमा प्रयोग हुने उद्देश्यले छिरेका हुनसक्छन्’ एआईजी भण्डारीले भने, ‘यो गम्भीर विषय भएकाले जरैसम्म पुगेर अनुसन्धान गर्न आवश्यक छ ।’
नक्कली कागजातका आधारमा विद्यार्थी भिसामा नेपाल आउनुका पछाडि उनीहरू लामो समय नेपाल बस्न खोजेको देखिउने भण्डारी बताउँछन् । यस्तोमा कुनै संगठित अपराध हुनसक्ने भएकाले उनीहरूको उद्देश्य पत्ता लगाएर गहिरो अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ ।
आफ्नो पहिचान छुपाएर सूचना संकलनका लागि छिर्नेसम्मका घटनाहरू विगतमा पनि देखिएकाले उनीहरुको नेपाल प्रवेशमा सफा नियत नदेखिएको सुरक्षाका जानकारहरू बताउँछन् ।
