
रौतहट, २८ जेठ। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुर चोकमा साइकल यात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ। दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो।
गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने टिप्पर चालक सवारीसहित फरार भएका थिए।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै गौर–चन्द्रनिगाहपुर सडकसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत गरुडा बजार क्षेत्रमा सडक अवरुद्ध गरी आन्दोलन गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न सवारी र चालकलाई एक साताभित्र नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो।
दुर्घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिप्पर तथा १७ जनाभन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोही क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा एजाजले नै प्रमोद सहनीलाई ठक्कर दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एजाजले बृन्दावन नगरपालिकास्थित शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा घर फर्किरहेका सहनीलाई ठक्कर दिएका थिए। ठक्करपछि चालक घटनास्थलबाट फरार भएका थिए।
प्रहरीले पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि लामो समयसम्म अन्योलमा रहेको घटनाले चालक पक्राउ परेसँगै नयाँ मोड लिएको छ भने मृतकका परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
