दिपेन्द्र जयसवाल,बारा बैशाख ३०
निजगढ देखि काठमाडौ द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का रद्द गर्न भनेर गरिएको निर्णयमा पुनर्विचार गर्न प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिलाई नेपाली सेनाले आग्रह गरेको छ । समितिले सुरुङ निर्माणको ठेक्का प्रक्रिया रोक्न भन्दै वैशाख १५ मा नेपाली सेनालाई ताकेतापत्र पठाउँदै सम्बन्धित कागजपत्र पठाउन भनेको थियो । यसअनुसार एक साताअघि रक्षा मन्त्रालयमार्फत जवाफ र आवश्यक कागजपत्र पठाइएको सेनाले जानकारी दिएको छ । गत चैत १९ मा समितिले ठेक्का प्रक्रिया रद्द गरी पुनः नियमअनुसार दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण (पीक्यू) का लागि प्रक्रिया अघि बढाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर सेनाले अटेर गर्दै वैशाख १२ मा पीक्यूमा छानिएका निर्माण कम्पनीलाई नै ठेक्का सम्झौता गर्न भन्दै आशपत्रको सूचना निकालेपछि समितिले ताकेतापत्र पठाएको थियो । रक्षा मन्त्रालयमार्फत सेनाले पठाएको जवाफ र आवश्यक कागजपत्र वैशाख २३ मा समितिमा प्राप्त भएको समिति सचिव रोजनाथ पाण्डेले बताउनुभयो । सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेल भने सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार नै काम गरिएको दाबी गर्नुभयो । एउटा सार्वजनिक निकायले टेक्न मिल्ने धारा र दफामै रहेरै पूर्णरूपमा पारदर्शी ढंगले काम गरेको पौडेल बताउनुभयो । दुबै प्याकेजको पीक्यू प्रक्रिया एउटै कानुन र ऐनअनुसार गरिएकाले ठेक्का प्रक्रियामा कुनै खराब नियत नरहेको उहाले प्रस्ट्याउनुभयोे । एउटा मात्र निर्माण व्यवसायी छानिएपछि आर्थिक चलखेल हुने भन्दै समितिले चैत १९ मा दोस्रो प्याकेजको पीक्यू प्रक्रिया रद्द गरेर पुनः नयाँ प्रक्रिया थाल्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर सेनाले रद्द गर्न भनेकै प्याकेजमा छानिएका कम्पनीलाई ठेक्का सम्झौता गर्न आउन सूचना निकालेपछि समितिले सिधै सेनालाई ताकेतापत्र पठाएको थियो । ७ दिनको समय दिएर सेनाले सूचना निकालेपछि प्रतिस्पर्धा गरेर नछानिएका कसैले पनि उजुरी दिएका छैनन् । उजुरबाजुर नआए सात दिनपछिको १५ दिनभित्र ठेक्का सम्झौता गर्नुपर्छ । तर ठेक्का सम्झौता गर्ने १५ दिनको समय बित्न लाग्दा पनि यसबारे निर्णय नहुँदा थप अन्योल बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याक निर्माणको काम आर्थिक वर्ष २०८०÷८१ सम्म सक्नुपर्ने छ । तर अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशतभन्दा बढेको छैन । फास्ट ट्र्याक अन्तरगत पर्ने मुख्य सुरुङ र पुल निर्माणको काम नै सुरु भएको छैन ।