
काठमाडौं, ०९ असार। चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) नेपालले कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयात गरेको छ ।
विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्यवृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८ सय ७८ किलोलिटर डिजेल आयात भएको छ ।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्नु र अमेरिकी डलरको मूल्य बढ्दा आयात लागत महँगिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा यो वर्षभन्दा धेरै परिमाणमा डिजेल आयात भएको थियो ।
तथ्यांकअनुसार गत आवको ११ महिनामा १३ लाख १२ हजार ९ सय ५ किलोलिटर डिजेल आयात गर्दा १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबर मात्र बाहिरिएको थियो ।
यस्तै आयातित पेट्रोलको खर्च पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बराबरको ६ लाख ८५ हजार १ सय २७ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको ११ महिनामा ६ लाख ८१ हजार ४ सय ८४ किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बराबर रकम बाहिरिएको थियो ।
खाना पकाउने एलपी ग्यासको आयात पनि उच्च छ । तथ्यांकअनुसार चालु आवको ११ महिनामा ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ बराबरको ४७ करोड ५९ लाख ८० हजार किलो एलपी ग्यास आयात भएको छ ।
यद्यपि आयातित ग्यासको खर्च गत वर्षको तुलनामा केही घटेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो ११ महिनामा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको एलपी ग्यास आयात भएको थियो ।
समीक्षा अवधिमा ग्यासको आयात रकम गत वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले घटेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र युद्धको प्रभावले नेपालको सोधनान्तर स्थिति र व्यापार घाटामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ठूलो चाप पारेको देखिन्छ ।
