कृष्णा तिवारी भदौ १५ गते, रौतहट ।
रौतहटमा फेरी थप दुइ साता निषेधाज्ञा लम्ब्याइएको छ । रौतहट प्रशासनले भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा अवधी थप गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सुचना जारी गर्दै जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै भदौ ३१ गते राति १२ बजेसम्मको लागि जारी निषेधाज्ञा थप गरिएको जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखी लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो । निषेधाज्ञा अवधी मंगलवार राति सकिन लाग्दा फेरी भदौ ३१ गतेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलवार बसेको बैठकले आगामी भदौ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नेे निर्णय गरेको छ । कोभिड १९ दोश्रो स्वरुपको संक्रमण जोखिम न्यूनिकरण गर्न सीसीएमसी, मन्त्रिपरिषदको बैठक तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले समेत निषेधाज्ञा आदेश जारी गर्न भनेकोले सीसीएमसी, मन्त्रिपरिषद र डीसीसीएमसीको निर्णय कार्यान्वयन गर्न दोश्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन । पछिल्लो समय बढ्दो भिडभाड र चहलपहल कारण जिल्लामा कोरोना संक्रमण बढन थालेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, अति आवश्यक कामका लागि घर बाहिर जानै परे अनिवार्य रुपमा मास्क लगाउन, समाजिक दुरी कायम गर्न तथा स्यानिजाइजरको प्रयोग अथवा साबुन पानीले मिची मिची हात धुन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरेपनि बैंक, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पाल्न गर्ने गरी अर्थात मास्क स्यानिटाइजर अनिवार्य प्रयोग गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न तथा बैंक, उद्योग, कलकारखाना र यातायातका साधन चलाउन पाइने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा उल्लेख छ । जारी आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग एन २०२० एवं कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०२८ बमोजिम कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । त्यस्तै निषेधाज्ञा अवधीमा प्रशासनले हाट बजार, मेला, भेला, भोजभतेर, नाचगान, सभासम्मेलन गर्न तथा जुलुस निकाल्न प्रतिबन्ध गरेको छ । यस अवधीमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्ने शर्तमा स्थानीय तहको लिखित स्वीकृतिमा १० जनाभन्दा बढी सहभागी नहुने गरी विवाह तथा धार्मिक कार्य अन्तर्गत नृत्य, पुजापाठ इत्यादी गर्न पाउने जनाइएको छ ।