सेयर आपूर्ति घटाउन ‘बाइब्याक’ लागू होला त ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
सेयर आपूर्ति घटाउन ‘बाइब्याक’ लागू होला त ?

काठमाडौं, ०२ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार साँझ पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा एउटा अलि फरक विषय परेको छ– कम्पनीहरुलाई आफ्नो सेयर ‘बाइ–ब्याक’ (पुनः खरिद) गर्न सक्ने व्यवस्था मिलाउन बोर्डलाई निर्देशन गर्नु ।

सरोकारवालासँग परामर्श गरी आगामी माघ मसान्तभित्रै यसबारे नियामकीय व्यवस्था तथा नीति नियमलगायत पूर्वाधार तयार गर्न बोर्डलाई भनिएको छ । माघ मसान्तको समयसीमा नै तोकेर दिइएको यो निर्देशनपछि बोर्ड पनि सक्रिय भएको छ ।

यो कार्ययोजनामा लेखिएका धेरैजसो विषय केही वर्ष पहिलेदेखि नै नीति तथा कार्यक्रम बजेट तथा पूँजी बजार सुधारका लागि गर्नुपर्ने काममा पर्दै आएका थिए ।

गैरआवासीय नेपालीलाई पूँजी बजारमा संलग्न गराउने, नेप्से पुर्नसंरचना गर्ने, धितोपत्र बजारलाई प्रविधिमैत्री तथा सुदृढ गराउने, सुरक्षा कोषहरूलाई लगानीका लागि सहजीकरण गर्नेजस्ता विषय नयाँ होइनन्, पटक पटक कागजमा लेखिँदै आएका तर कार्यान्वयन नभएका विषय हुन् । तर, सेयर बाइब्याकको विषय भने केही नौलो हो ।

सरकारले ल्याएको पुनरुत्थान कार्यक्रम समयसीमा तोकेर ल्याइएको र बोर्डले कार्यान्वयन गर्नेगरी काम अघि बढाइसकिएको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘त्यहाँ परेका विषय लागु गर्नेगरी काम सुरु भइसकेको छ’ उनले भने ।

बाइ ब्याक बजारका लागि कति जरुरत ?

बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी बजारका लागि ‘बाइ ब्याक’ व्यवस्था लागु हुनु जरुरत रहेको बताउँछन् । यसका लागि बोर्डले पहिले नीतिगत व्यवस्था गर्नुपर्ने र नीतिगत व्यवस्थापछि कम्पनीले बोर्डमा सेयर बाइ ब्याकका लागि उपयुक्त कारणसहित निवेदन दिनुपर्ने उनले बताए ।

‘सेयर आपूर्ति अत्याधिक बढेको अवस्थामा तथा कम्पनीले पूँजी घटाउन चाहेमा पनि यो बाइ ब्याक राम्रो विकल्प हो’ गिरीले भने, ‘अन्य मुलुकमा पनि लागू भइरहेको यो व्यवस्था यहाँ पनि जरुरत छ ।’

‘बाइ ब्याक’को व्यवस्था लागु हुँदा सेयरको आपूर्ति घट्न जाने र यसले कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन समेत मद्दत पुग्ने उनले बताए । कम्पनीले बाइ ब्याक गर्दा सुरुमा सेयरको माग बढ्ने र खरिद भइसकेपछि आपूर्ति सन्तुलित गराउन मद्दत पुग्नेछ ।

कम्पनीहरूले बजारबाट आफ्नो सेयर आफैँ खरिद गर्दा बजारमा सो कम्पनीको सेयर संख्या नै घट्न जान्छ । जसले कम्पनीको मूल्य मात्रै नभई प्रतिसेयर आम्दानी समेत बढाउन मद्दत पुग्छ ।

यदि कुनै कम्पनीको १ करोड कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ र कम्पनीले २० लाख कित्ता सेयर बाईब्याक गर्‍यो भने सो कम्पनीको बजारमा सेयर संख्या ८० लाखमा झर्दछ । जारी सेयर संख्या ८० लाखमा घट्ने भएकाले प्रतिसेयर आम्दानी पनि ८० लाख कित्ता सेयरकै आधारमा गणना हुन्छ, जसले नाफा उही रहेको अवस्थामा पनि प्रतिसेयर आम्दानी बढ्न जान्छ ।

सेयरको माग बढाउने वा आपूर्तिलाई घटाएर मूल्यमा समर्थन गर्न बाइ ब्याकले भूमिका खेल्दछ ।

यो बेला बाइ ब्याक अत्यन्तै जरुरत रहेको स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् । तर यसका लागि पहिले नीतिगत रुपमा स्पष्टता जरुरत रहेको उनले बताए । ‘अहिलेको परिवेशमा बाइ ब्याक गरेर आपूर्तिलाई केही हदसम्म सन्तुलन कायम हुन सक्छ’ उनले भने ।

सेयर बाइ ब्याक गर्दा कम्पनीले लाभांशको रुपमा वितरण हुनसक्ने सञ्चित मुनाफाबाट रकम खर्च गर्न सक्छन् । त्यसरी कम्पनीले गरेको खर्चले तत्कालको लाभांशलाई भने असर पर्न सक्नेछ । कम्पनीले सेयरधनीलाई दिने लाभांशलाई नै कटौती गरी बाइ ब्याक गर्ने भएकाले यो व्यवस्था उपयुक्त नरहेको कतिपयको भनाइ छ ।

कम्पनी ऐनले बाधा गर्छ ?

नेपालमा बाइ ब्याक पूर्ण रूपमा नयाँ अवधारणा होइन । कम्पनी ऐन, २०६३ को दफा ६१ ले पनि कम्पनीले निश्चित सर्त पूरा गरी आफ्नै सेयर पुनः खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

ऐनमा कम्पनीले लाभांशका रूपमा वितरण गर्न सकिने सञ्चित मुनाफाबाट आफ्नै सेयर खरिद गर्न सक्ने आधार राखिएको छ ।

बाइ ब्याक गर्न कम्पनीको सम्पूर्ण जारी सेयरको रकम चुक्ता भएको, सार्वजनिक कम्पनीको सेयर धितोपत्र बोर्डमा दर्ता भएको, प्रबन्धपत्र तथा नियमावलीमा बाइ ब्याकसम्बन्धी व्यवस्था रहेको र साधारणसभाबाट विशेष प्रस्ताव पारित भएकोलगायतका सर्त पूरा गर्नुपर्ने व्यवस्था रहेको छ ।

बाइ ब्याकको रकमसमेत कम्पनीको चुक्ता पुँजी तथा साधारण जगेडा कोषको निश्चित सीमाभित्र हुनुपर्ने व्यवस्था छ ।

केही कानुनी आधार रहे पनि बाइ ब्याक सञ्चालनका लागि आवश्यक विस्तृत प्रक्रिया, नियामकीय पूर्वाधार र बजार संयन्त्र स्पष्ट नहुँदा नेपालमा यसको व्यावहारिक प्रयोग हुन सकेको छैन ।

कम्पनी ऐनको व्यवस्थाअनुसार आफ्नै सेयर पुनः खरिद गर्न धितोपत्र बजार वा खुला बजारबाट खरिद गर्ने, कम्पनीका कर्मचारीलाई छुट्याइएको सेयर सम्बन्धित कर्मचारीबाट खरिद गर्ने तथा तत्काल कायम रहेका सेयरधनीबाट समानुपातिक रूपमा खरिद गर्नेलगायतका विधि उल्लेख छन् ।

बाइ ब्याकपछिको सेयर के हुन्छ ?

अन्य देशमा बाइ ब्याकपछि सेयरको व्यवस्थापन मुख्यतः दुई किसिमले हुने गरेको छ । एक हो– बाइ ब्याक गरेको सेयर पूर्ण रुपमा रद्द गर्नु र अर्को हो– ट्रेजरी सेयरका रूपमा व्यवस्थापन गर्नु ।

कम्पनीले रद्द नै गरेमा बाइ ब्याक गरिएको सेयर संख्यामा अस्तित्व नै सकिन्छ । ट्रेजरी सेयरका रुपमा संकलन गरेमा भने त्यो सेयर पुनः जारी गर्ने बाटो खुला रहन्छ । कम्पनीले खरिद गरेको सेयरको व्यवस्थापनका लागि नीतिगत स्पष्टता हुन जरुरत रहेको बोर्डका पूर्व कार्यकारी निर्देशक गिरी बताउँछन् ।

कम्पनीले कस्तो किसिमको बाइ ब्याक गर्न चाहेको हो, सोअनुसार नै व्यवस्थापन हुनेछ । बाइ ब्याकपछि सेयर नै रद्द गर्ने वा कानुनी रूपमा अनुमति भएमा ट्रेजरी सेयरका रूपमा व्यवस्थापन गर्ने विषय पहिले स्पष्ट हुनुपर्नेछ ।

सेयर रद्द नै गरिएको अवस्थामा कम्पनीको कुल सेयर संख्या घट्छ । त्यसले बाँकी सेयरधनीको प्रतिसेयर आम्दानीमा सकारात्मक प्रभाव पार्न सक्छ । ट्रेजरी सेयरको व्यवस्था गरिएमा ती सेयर सामान्य रूपमा बजारमा कारोबार भइरहेका ‘आउटस्ट्यान्डिङ’ सेयरमा गणना नहुने र तिनको अधिकार तथा पुनः जारीसम्बन्धी व्यवस्था छुट्टै हुन सक्नेछ । त्यसैले यीसहित बाइ ब्याकको मूल्य निर्धारण, खरिदको सीमा, सेयर रद्द गर्ने वा ट्रेजरी सेयरका रूपमा राख्ने व्यवस्थाबारे बोर्डले नीतिगत व्यवस्थामा समेट्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस