ओम प्रकाश यादव
मंसिर २५ गते रौतहट
कटहरिया नगरपालिकामा लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गरिरहेका करार, ज्यालादारी तथा डोर हाजिरीका कर्मचारीहरूको माग समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरका सम्पूर्ण कर्मचारीको तलब भुक्तानी सम्बन्धी अन्तिम निर्णय आगामी मंगलवार बस्ने कार्यपालिका बैठकले गर्ने निष्कर्ष निकालेको हो।
नगरप्रमुख अजय प्रकाश जयसवालका अनुसार तलब वितरण रोकिँदा नगरपालिकाको दैनिक प्रशासनिक तथा सेवा प्रवाहमा ठूलो असर परेको थियो। उनले भने, “आर्थिक विवरण, बजेट उपलब्धता तथा मिसिल मिलानको काम पूरा भएपछि मंगलवारको बैठकले कर्मचारीको तलब भुक्तानीबारे अन्तिम निर्णय गर्नेछ।”
आजको कार्यपालिका बैठकले कटहरिया नगरका दुई महत्वपूर्ण परियोजनालाई पनि अघि बढाएको छ।
उक्त दुबै योजनालाई छिटो सुरु गर्न ठेक्का प्रक्रिया अघि बढाउने निर्णय भएको मेयर जयसवालले जानकारी दिए।
नगरपालिकामा लामो समयदेखि रोकिएको बक्यौता (बाँकी रकम) भुक्तानी प्रक्रियालाई समेत गतिशील बनाउने बैठकले निर्णय गरेको छ। यसले सेवा प्रदायक, आपूर्तिकर्ता तथा मजदूर वर्गलाई राहत पुग्ने नगरपालिकाको दाबी छ।
तलब नपाएको कारण करार, ज्यालादारी तथा डोर हाजिरीमा रहेका कर्मचारीहरूले केही हप्ता यता धर्ना, विरोधसभा तथा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गरिरहेका थिए। तलब रोकिँदा परिवार सञ्चालनमा समेत कठिनाइ परेको उनीहरूको भनाइ थियो।
आजको कार्यपालिका बैठकपछि कर्मचारीहरू समस्याको समाधान नजिकिएको भन्दै आशावादी देखिएका छन्।
नगरप्रमुख जयसवालले भने, “कर्मचारी हकहित सुरक्षित गर्दै विकास र सेवाप्रवाहमा अवरोध नआउने वातावरण बनाइन्छ।”
तलब भुक्तानी, बक्यौता निकासा र ठेक्का प्रक्रिया अघि बढेपछि कटहरिया नगरपालिकामा विगतदेखि रोकिएका प्रशासनिक तथा विकासगत काम पुनः तीव्र हुने स्थानीयवासीले बताएका छन्।


