भोटेकोशी बाढीपछि भारतद्वारा नेपाललाई तीन बेलिब्रिज हस्तान्तरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (३४ मिनेट अघि)
  • ३३ पटक पढिएको
भोटेकोशी बाढीपछि भारतद्वारा नेपाललाई तीन बेलिब्रिज हस्तान्तरण

काठमाडौं, २८ भदौ। भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न पुलमा क्षति पुगेपछि तत्काल आवागमन सुचारु गर्न भारत सरकारले नेपाललाई तीन वटा बेलिब्रिज सहयोगस्वरूप हस्तान्तरण गरेको छ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले शनिबार एक कार्यक्रमबीच सडक डिभिजन कार्यालय हेटौंडाका प्रतिनिधि किरण कार्कीलाई बेलिब्रिजका सामग्री हस्तान्तरण गरेका हुन्।

भारतबाट ७० मिटर लम्बाइका तीन वटा बेलिब्रिजका सामग्री ट्रकमार्फत सडक डिभिजन कार्यालय हेटौंडाको परिसरमा ल्याइएको थियो। हस्तान्तरण कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव सिंहले भोटेकोशी बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति भारत सरकार र भारतीय नागरिक दुःखी रहेको बताए।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याउनुका साथै ३५ वटा पक्की पुल र १७ वटा झोलुंगे पुल बगाएको बताइएको छ। बाढीका कारण यातायात तथा स्थानीय आवागमन प्रभावित भएपछि नेपाल सरकारले छिमेकी मुलुक भारत र चीनसँग तत्कालका लागि बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो।

नेपाल सरकारको अनुरोधपछि भारत सरकारले तीन वटा बेलिब्रिज उपलब्ध गराएको हो। प्राप्त बेलिब्रिजका सामग्री तत्काल नुवाकोटतर्फ पठाउने तयारी गरिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।

बेलिब्रिज जडान भएपछि बाढीका कारण पुल भत्किएर अवरुद्ध भएका सडकखण्डमा अस्थायी रूपमा आवागमन सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत राहत पुग्ने जनाइएको छ।

बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा यातायात सेवा सञ्चालनका लागि नेपाल र छिमेकी मुलुकबीचको समन्वयलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस