मागपत्र प्रमाणीकरणमा कागजातबारे स्पष्ट जानकारी दिन नियोगलाई निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (५९ मिनेट अघि)
  • ४१ पटक पढिएको
मागपत्र प्रमाणीकरणमा कागजातबारे स्पष्ट जानकारी दिन नियोगलाई निर्देशन

काठमाडौं, २८ भदौ। सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयबद्ध बनाउन निर्देशन दिएको छ ।

मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने गरेको तथा प्रमाणीकरणका लागि अपुग कागजातबारे रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिँदा झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि युवा, श्रम तथा राेजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

२०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रमाणीकरण प्रक्रियामा लाग्ने समयसीमा प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

निर्देशनअनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएपछि उक्त आवेदनका लागि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा रोजगारदाता कम्पनीलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।

त्यस्तै, मागपत्र प्रमाणीकरणका लागि प्रचलित कानुनमा तोकिएको समयसीमाभित्रै प्रक्रिया सम्पन्न गर्न पनि नियोगहरूलाई निर्देशन दिइएको छ ।

मागपत्र प्रमाणीकरण प्रक्रियामा रोजगारदाता कम्पनीले अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो बढेपछि सरकारले प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरेको हो ।

यससम्बन्धी निर्देशन परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस