
काठमाडौं, १८ भदौ। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कतिपय आयोजनामा भूमिगत विद्युत् गृहमा फसेका श्रमिक तथा कर्मचारीको आठ दिन बितिसक्दा समेत उद्धार हुन सकेको छैन । आयोजनाहरूका अनुसार अझै ९८३ जना कर्मचारीहरू सम्पर्कविहीन छन् ।
उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय, सम्बन्धित आयोजना र अन्य सरोकारवाला परिचालित छन् । तर अपेक्षित उपलब्धि हात लाग्न सकेको छैन । यही घटनाको सन्दर्भमा जलविद्युत् आयोजनाको सुरक्षा प्रबन्ध, भूमिगत विद्युत् गृह तथा सुरुङमा फसेकाको जीवितै उद्धारको सम्भावना, आयोजनाको डिजाइनमा भएका कमजोरी र आगामी दिनमा यस्ता आयोजना कसरी सुरक्षित बनाउने भन्ने विषयमा पूर्व ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग अनलाइनखबरकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन् । घिसिङसँग गरिएको कुराकानीको सम्पादित अंश :
जलविद्युत् आयोजनामा पावरहाउस सामान्यतया कस्तो ठाउँमा बनाइन्छ र भोटेकोशीको बाढीले त्यसमा कस्ता जोखिम देखायो ?
सामान्यतया अहिलेका आयोजनामा कतिपय पावरहाउस जमिनमुनि एक किलोमिटरभित्र हुन्छन् । माथिल्लो तामाकोशी आयोजनामा पनि करिब एक किलोमिटरभित्र पावरहाउस छ । भोटेकोशी र रसुवागढीका आयोजनामा पनि दुई–चार सय मिटरभित्र पावरहाउस राखिएका छन् ।
पहाडभित्र ठूलो पावरहाउस हुन्छ । त्यहाँ मेसिन, कन्ट्रोल रुम, अपरेसनका लागि आवश्यक संरचना, ब्याट्री र जीआईएस सेटलगायत उपकरण हुन्छन् । दुई–तीन तलादेखि तीन–चार तलासम्मका संरचना हुन्छन् ।
त्यहाँ पुग्न पहुँच टनेल हुन्छ । त्यो टनेल दुई सयदेखि पाँच सय मिटर वा त्यसभन्दा बढी लामो हुन सक्छ । अहिलेको घटनामा यही पहुँच टनेलबाट पानी छिरेको देखिन्छ ।
सामान्यतया पहुँच टनेलको मुख ५० देखि ६० मिटरको उचाइमा हुन्छ । त्यो नदीको सतहभन्दा माथि हुन्छ । नदी एकदम फ्ल्याट छ भने अलि तलै हुन्छ, एकदमै साँघुरो छ भने केही माथि नै राख्ने गरिन्छ । जुन पानी माथि आउन सक्ने अवस्था र बाढीको क्याल्कुलेसन गरेर राख्ने हो ।
सबैभन्दा ठूलो कतिसम्मको बाढी आउन सक्छ भनेर हिसाव गरेर राखिएको हुन्छ । यद्यपि यसपालि अनुमान गरेभन्दा निकै ठूलो प्रलय आएको हो । यसलाई नियमित बाढी भन्न मिल्दैन यो प्रलय नै हो ।
ठूलो मात्रामा बाढी आउँदा सुरुङभित्र बाढी पस्ने घटना जलविद्युत् आयोजनाको डिजाइनकै बेला अनुमान गरिएको हुँदैन ?
यो नियमित बाढीको घटना होइन । अहिले आएको बाढीलाई सामान्य बाढीका आधारमा गरिएको डिजाइनले समेट्न सक्दैन । सामान्यतया माथिल्लो जलाधारमा पानी जम्मा हुने, त्यसपछि निश्चित समयमा वासआउट हुने र पानी तलतिर जाने अवस्थालाई आधार बनाएर डिजाइन गरिएको हुन्छ । तर अहिले एकैचोटि ठूलो, अनपेक्षित बाढी आएको छ, यो नियमित बाढीभन्दा ठूलो घटना हो ।
यसपटक कतिपय ठाउँमा सुरुङभन्दा ५० देखि १०० मिटर माथिसम्म बाढी पुगेको देखिन्छ । त्यसैले सुरुङभित्र बाढी छिरेको हो ।
सुरुङभित्र बाढी छिरेपछि त्यहाँ रहेका कामदार तथा कर्मचारीको अवस्थाबारे के अनुमान गर्न सकिन्छ ?
पानी सुरुङभित्र छिरिसकेपछि पावरहाउस बन्द भएको हुन्छ । त्यसपछि माथिल्लो भागमा मानिसहरू सुरक्षित स्थान खोजेर बस्न सक्छन् । कतिपय पावरहाउसमा तीन–चार तलासम्मका संरचना हुन्छन् । पानी वा ढुंगामाटो धेरै भरिएको अवस्थामा माथिल्लो फ्लोरमा गएर बस्ने ठाउँ हुन सक्छ ।
अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा अक्सिजन हो । ढुंगामाटो तथा पानीले सुरुङ पूर्ण रूपमा भरिएको छैन भने त्यहाँ केही मात्रामा हावा र अक्सिजन बाँकी हुन सक्छ । सुरुङ आधा मात्र भरिएको छ भने जीवितै रहने सम्भावना अझै रहन्छ ।
त्यसैले अहिले नै सबै सम्भावना सकियो भनेर निष्कर्ष निकाल्नु हुँदैन । तर ढुंगामाटो कति माथिसम्म पुगेको छ वा सुरुङको कुन भागसम्म भरिएको छ र मानिसहरू कहाँ थिए भन्ने कुराले धेरै फरक पार्छ ।
यदि सुरुङ पूर्ण रूपमा भरिएको छैन र त्यहाँ हावा बाँकी छ भने केही समय मानिसहरू बस्न सक्छन् । अक्सिजन सिलिन्डरलगायत आपत्कालीन व्यवस्थासमेत केही आयोजनामा हुने गर्छ ।
तर अहिलेको जस्तो अवस्था आयो भने सामान्य अवस्थामा राखिएको आपत्कालीन सामग्री मात्रै पर्याप्त नहुन सक्छ । त्यसैले यस्तो जोखिमलाई नयाँ ढंगले हेर्नुपर्ने देखिन्छ ।
त्यसैले अहिले सुरुङभित्र फसेकाहरू जीवितै भेटिने सम्भावना पूर्ण रूपमा नकार्न मिल्दैन ।
भविष्यमा यस्ता घटना दोहोरिए भने सुरुङभित्र काम गर्ने मानिसलाई कसरी सुरक्षित राख्न सकिन्छ ?
अब जलविद्युत् आयोजनाको सुरक्षा डिजाइनमै पुनर्विचार गर्नुपर्छ । विशेषगरी पावरहाउस र पहुँच सुरुङको डिजाइनमा आपत्कालीन अवस्थामा मानिसलाई बाहिर निकाल्ने वैकल्पिक व्यवस्था हुनुपर्छ ।
अहिले धेरै आयोजनामा एउटा मात्रै पहुँच सुरुङ हुन्छ । त्यो बन्द भयो भने मानिसहरू त्यहीँभित्र फस्ने अवस्था आउँछ । त्यसैले इमर्जेन्सी एक्जिटका लागि सानो छुट्टै मार्ग वा माथितिर निस्कने वैकल्पिक सुरुङ बनाउन सकिने विषयमा सोच्नुपर्छ ।
पहुँच सुरुङलाई नै थप सुरक्षित बनाउन सकिन्छ । पावरहाउस जाने पहुँच सुरुङलाई सम्भावित जोखिमको विश्लेषण गरेर थप सुरक्षित स्थानमा राख्नुपर्छ । यसका साथै त्यस्तो सुरुङमा पानी प्रवेश गर्ने सम्भावना कम गर्ने संरचना, आपत्कालीन अवस्थामा पानी रोक्ने वा मोड्ने प्रणाली तथा वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्छ ।
अहिलेको घटनाले के देखायो भने पहुँच सुरुङ नै जोखिमको प्रमुख माध्यम बन्न सक्छ । त्यसैले यसलाई सामान्य पहुँचमार्गका रूपमा मात्रै हेर्न मिल्दैन ।
पावरहाउसमा मानिस नै नराखी रिमोटबाट सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ ?
अब त्यो दिशामा जानुपर्छ । अहिले प्रविधि धेरै अगाडि बढिसकेको छ । पावरहाउसलाई रिमोट अपरेसनबाट चलाउन सकिन्छ । पावरहाउसमा मानिस बस्नैपर्ने अवस्था कम गर्नुपर्छ । नियमित अपरेसन र निगरानीका धेरै काम बाहिरबाटै गर्न सकिन्छ ।
तर मर्मतसम्भारका लागि भने कहिलेकाहीँ मानिस भित्र जानुपर्ने हुन्छ । त्यसैले त्यस्तो अवस्थामा पनि आपत्कालीन सुरक्षा व्यवस्था अनिवार्य हुनुपर्छ ।
पावरहाउसमा आपत्कालीन अवस्थामा प्रयोग हुने अरू सुरक्षा संरचनामा इमर्जेन्सी निस्किने बाटो, अक्सिजनको व्यवस्था, आपत्कालीन सञ्चार प्रणाली र सुरक्षित स्थानको व्यवस्था गर्न सकिन्छ ।
त्यस्तै, सुरुङभित्र मानिसहरू बसेको ठाउँसम्म अक्सिजन पुग्ने व्यवस्था, आपत्कालीन अवस्थामा बाहिरबाट जानकारी पठाउन सकिने सञ्चार प्रणाली र रिमोट निगरानीलाई प्राथमिकता दिनुपर्छ ।
भूमिगत पावरहाउसमा ‘डिसेन्डिङ बेसिन’ वा पानी जम्मा हुने संरचना बनाएर जोखिम घटाउन सकिँदैन ?
सकिन्छ । सुरुङभित्र पानी थिग्रिने वा जम्मा हुने अवस्थालाई व्यवस्थापन गर्न डिसेन्डिङ बेसिनलगायत संरचना उपयोगी हुन सक्छन् ।
रसुवागढीजस्ता आयोजनामा भूमिगत संरचना र डिसेन्डरको व्यवस्था छ । त्यहाँ मानिसहरू दुई–तीन दिनपछि बाहिर आउन सकेका उदाहरण पनि छन् । त्यसैले भूमिगत संरचनालाई सही ढंगले डिजाइन र व्यवस्थापन गर्ने हो भने आपत्कालीन अवस्थामा मानिसको सुरक्षामा सहयोग पुग्छ ।
अब बाढीको जोखिमलाई जलविद्युत् आयोजनाको डिजाइनमा कसरी समेट्ने ?
सबैभन्दा पहिले जोखिमको नयाँ मूल्यांकन गर्नुपर्छ । अब विगतमा आएको बाढीलाई मात्रै आधार बनाएर डिजाइन गर्नु पर्याप्त हुँदैन ।
जलाधारको अवस्था, जलवायु परिवर्तनका कारण आएको चरम मौसमी घटना, हिमताल तथा ग्लेसियर क्षेत्रमा भइरहेको परिवर्तन, माथिल्लो क्षेत्रमा बन्न सक्ने प्राकृतिक ताल र त्यसबाट अचानक आउने पानीलाई समेत अध्ययनमा समेट्नुपर्छ ।
भोटेकोशीजस्ता नदी प्रणालीमा धेरै आयोजना एउटै जलाधारमा छन् । त्यसैले एउटा आयोजनाको मात्रै जोखिम हेरेर हुँदैन । समग्र नदी बेसिनको जोखिम मूल्यांकन गर्नुपर्छ ।
अहिले निर्माणाधीन आयोजना र निर्माण सम्पन्न भइसकेका आयोजनालाई पनि पुनः जोखिम परीक्षण गर्नुपर्छ । निर्माणाधीन आयोजनामा त डिजाइनमै सुधार गर्न सकिन्छ । निर्माण सम्पन्न भइसकेका आयोजनामा पनि सम्भव भएसम्म पुनरावलोकन गर्नुपर्छ ।
जहाँ इमर्जेन्सी एक्जिट थप्न सकिन्छ, पहुँच (एक्सेस) टनेलको डिजाइन सुधार्न सकिन्छ वा पोर्टललाई सुरक्षित बनाउन सकिन्छ भने ती काम गर्नुपर्छ । अहिलेको घटनालाई ‘यस्तो त कहिल्यै हुँदैन’ भनेर छोड्नु हुँदैन । यसले जलविद्युत् आयोजनाको सुरक्षा मापदण्डमै नयाँ पाठ दिएको छ ।
अहिले हामीले जलविद्युत् आयोजना बनाउँदा सुरक्षालाई अझै बढी प्राथमिकता दिनुपर्ने देखिएको छ । पहिले हामीले नदीको किनारमा बाटो बनायौँ, आयोजनासम्म पुग्ने पहुँचमार्ग बनायौँ । अहिलेको घटनाले ती संरचना नै जोखिममा पर्न सक्ने देखाएको छ ।
त्यसैले अब आयोजना बनाउँदा ‘आयोजना कसरी बनाउने ?’ मात्र होइन, ‘अत्यन्त ठूलो विपद् आयो भने त्यहाँ काम गर्ने मानिस कसरी सुरक्षित रूपमा बाहिर निकाल्ने ?’ भन्ने प्रश्नलाई डिजाइनकै सुरुवाती चरणबाट समेट्नुपर्छ ।
जलविद्युत् आयोजनाको लागत केही बढे पनि सुरक्षा संरचनामा खर्च गर्नुपर्छ । किनभने एउटा ठूलो विपद्मा आयोजना र त्यहाँ काम गर्ने मानिस दुवै गुमाउने अवस्था आयो भने त्यसको क्षति धेरै ठूलो हुन्छ ।
