कर्णालीका पाँच पर्यटकीय गन्तव्यमा २१ करोड ३५ लाख लगानी, पर्यटन दशकको आधार तयार हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
कर्णालीका पाँच पर्यटकीय गन्तव्यमा २१ करोड ३५ लाख लगानी, पर्यटन दशकको आधार तयार हुँदै

सुर्खेत, २८ भदौ। कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गर्न चालु आर्थिक वर्षमा करोडौंको बजेट सहित कामको सुरुवात गरेको छ ।

प्रदेशका प्रमुख पाँच पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयनदेखि पर्यटनसँग जोडिएका पूर्वाधार निर्माणसम्मका लागि सरकारले चालु आर्थिक वर्षमा करोडौं रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ ।

मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार तथा बुलबुले उद्यान र चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण तथा विकासका लागि प्रदेश सरकारले २१ करोड ३५ लाख रुपैयाँ विनियोजना गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा यी गन्तव्यको गुरुयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उल्लेख छ ।

गुरुयोजना कार्यान्वयनमा जोड

सरकारले छुट्टाछुट्टै पर्यटकीय गन्तव्य विकाससँगै समग्र पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी गर्ने जनाएको छ । पर्यटन प्रवर्द्धन तथा विकासका लागि ५३ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिका लागि समेत बजेट छुट्याइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का अनुसार कर्णालीको पर्यटनलाई पूर्वाधार विकास, सेवा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने सरकारको नीति छ ।

‘पर्यटनसँग जोडिएका सहायक पूर्वाधार निर्माणमा समेत सरकारले ठूलो बजेट छुट्याएको छ,’ उनले भनिन, ‘सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण तथा पर्यापर्यटनको दिगो विकासलाई प्रवर्द्धन गर्न पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नति हुनेछ  ।’

रारादेखि स्यार्पुसम्म प्राथमिकता

सरकारले प्राथमिकतामा राखेका पाँच गन्तव्य कर्णालीका फरक–फरक पर्यटकीय विशेषता बोकेका स्थल हुन् । मुगुको रारा प्राकृतिक सौन्दर्यका कारण कर्णालीको प्रमुख पहिचान बनेको छ भने सुर्खेतको काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा हो । बुलबुले उद्यान तथा चौहान पार्कलाई सहरी पर्यटनसँग जोड्ने योजना छ ।

त्यस्तै, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु ताललाई प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत यी क्षेत्रलाई कर्णालीका प्रमुख पर्यटनस्थलका रूपमा सूचीकृत गरेको मन्त्री खडकाको भनाइ रहेको छ ।

पर्यटन दशकबाट रोजगारी सिर्जना गर्ने लक्ष्य

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई केवल गन्तव्य विकासमा सीमित नगरी रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति लिएको छ । यही उद्देश्यले ‘कर्णाली पर्यटन दशक’ घोषणा गर्ने कार्यक्रम अघि सारिएको हो ।

दशक अभियानअन्तर्गत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार तथा पर्यटन सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिइनेछ । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरण र स्थानीय रोजगारीको आधार बनाउने सरकारको लक्ष्य छ ।

पर्यटनसँग सम्बन्धित सीप विकास कार्यक्रममार्फत स्थानीय नागरिकलाई हस्पिटालिटी सेवा, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला संरक्षण तथा रैथाने बालीबाट उत्पादित परिकारको प्रवर्द्धनसम्बन्धी तालिम दिने योजना पनि सरकारले अघि सारेको छ । यसबाट पर्यटकीय क्षेत्रमा स्थानीय सहभागिता र रोजगारी बढाउने अपेक्षा गरिएको छ ।

गन्तव्यसँगै पहुँच र सेवा सुधार चुनौती

कर्णालीका पर्यटकीय गन्तव्यमा ठूलो लगानी घोषणा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौतीका रूपमा देखिन्छ । विगतमा रारा, काँक्रेविहार, बुलबुले, कुपिण्डे, स्यार्पु, फोक्सुण्डोलगायतका गन्तव्यमा पूर्वाधार अभाव, कमजोर सडक पहुँच, होटल तथा खानेपानीको कमी र प्रचारप्रसारको अभावका कारण पर्यटन विकासले अपेक्षित गति लिन सकेको थिएन ।

यसअघि प्रदेश सरकारले कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रलाई जोडेर पर्यटन सर्किट विकास गर्ने नीति पनि अघि सारेको थियो । रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, काँक्रेविहार, पञ्चकोशीलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटन सञ्जालमा जोड्ने अवधारणा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रममा समेत समेटिएको थियो ।

अहिले प्रदेश सरकारले पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने मात्र नभई त्यहाँ बसाइ लम्ब्याउने वातावरण निर्माणमा समेत जोड दिएको छ । पर्यटन सूचना तथा अभिलेख केन्द्र, पर्यटकसम्बन्धी सूचना सामग्री, गाइडबुक, सुरक्षा तथा आपत्कालीन सहयोग संयन्त्र विकासका कार्यक्रमसमेत अघि बढाइएको मन्त्री खडकाको भनाइ रहेको छ । कर्णालीमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

पर्यटन पूर्वाधारमा ५३ करोड ८६ लाख

सरकारले समग्र पर्यटन क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका लागि ५३ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । पाँच प्रमुख गन्तव्यको गुरुयोजना कार्यान्वयनका लागि छुट्याइएको २१ करोड ३५ लाख यसै व्यापक पर्यटन कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो ।

प्रदेश सरकारले पर्यटनलाई प्राकृतिक सौन्दर्यमा आधारित घुमघामको विषय मात्र नभई कृषि, संस्कृति, साहसिक पर्यटन, होमस्टे र स्थानीय उत्पादनसँग जोड्ने नीति लिएको छ । स्थानीय रैथाने परिकार, मौलिक वास्तुकला, संस्कृति तथा जीवनशैलीलाई पर्यटन बजारसँग जोडेर गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

लगानीको परिणाम देखिनुपर्ने अपेक्षा

पर्यटन व्यवसायी तथा सरोकारवालाले बजेट विनियोजनलाई सकारात्मक रूपमा लिए पनि प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । डोल्पाका पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीले दुई दशकदेखि आफू यस क्षेत्रमा काम गर्दै आएको बताउँदै उपल्लो डोल्पाका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्यले अझ बढी लगानी गर्नुपर्ने बताए ।

‘शे गुम्बा र क्रिस्टल माउन्टेनलगायतका सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने ।

कर्णालीमा रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिञ्जा, लिमी उपत्यकालगायत असंख्य प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन् ।

तर गन्तव्यसम्म पुग्ने सडक, नियमित यातायात, आवास, खानेपानी, सञ्चार र सूचना प्रणाली कमजोर रहेसम्म पर्यटक आगमन बढाउन कठिन हुने गरेको छ ।

त्यसैले अबको लगानी केवल संरचना निर्माणमा सीमित नगरी गन्तव्य विकास, पहुँच, प्रचारप्रसार, सेवा गुणस्तर र स्थानीय समुदायको आम्दानीसँग जोडिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।

सरकारले घोषणा गरेको ‘कर्णाली पर्यटन दशक’ प्रभावकारी रूपमा कार्यान्वयन हुन सके प्रदेशमा पर्यटक आगमन बढ्नुका साथै होटल, होमस्टे, यातायात, हस्तकला, कृषि तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट पर्यटनलाई कर्णालीको आर्थिक रूपान्तरणको आधार बनाउने प्रदेश सरकारको लक्ष्यले मूर्तरूप पाउने विश्वास गरिएको छ ।

कर्णाली प्रदेशमा प्राकृतिक, धार्मिक, ऐतिहासिक र साहसिक पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण क्षेत्रहरू छन् । जिल्लागत रूपमा हेर्दा प्रमुख पर्यटकीय गन्तव्यहरू यसप्रकार छन्।

१. सुर्खेत

– काँक्रेविहार – ऐतिहासिक तथा पुरातात्त्विक महत्वको बौद्ध–हिन्दू सम्पदा

– देउती बज्यै मन्दिर

– बुलबुले उद्यान

– सिद्धपाइला

– गणेश चौक/वीरेन्द्रनगर आसपासका पर्यटकीय क्षेत्र

– बराहताल

– चिङ्गाड तथा भेरी नदी क्षेत्र

२. दैलेख

– श्रीस्थान, नाभिस्थान, पादुका र धुलेश्वर – प्रसिद्ध पञ्चकोशी क्षेत्र

– कोटिला

– भैरवी मन्दिर

– दुल्लुका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा

– ज्वाला क्षेत्र

– दैलेखका पेट्रोलियम सम्भावना तथा ऐतिहासिक स्थलहरू

३. जाजरकोट

– खलंगा दरबार क्षेत्र

– जाजरकोट दरबार

– कुशे क्षेत्र

– भेरी नदी तथा आसपासका प्राकृतिक क्षेत्र

– नलगाड–ताक्सुगाड क्षेत्र , बारेकोट

– छेडागाड तथा पहाडी प्राकृतिक भू–दृश्य

४. रुकुम पश्चिम

– स्यार्पूताल

– बाँफिकोट क्षेत्र

– चौरजहारी आसपास

– आठबीसकोट तथा गोतामकोट क्षेत्र

– भेरी नदी तथा पहाडी पदमार्ग

५. सल्यान

– कुपिण्डे ताल – प्रमुख पर्यटकीय गन्तव्य

– खैराबाङ भगवती मन्दिर

– छायाँनाथ/धार्मिक तथा ऐतिहासिक स्थलहरू

– कालीमाटी तथा साविकको कर्णाली–राप्ती आसपासका प्राकृतिक क्षेत्र

६. कालीकोट

– पचालझरना – नेपालको अग्ला झरनामध्ये एक

– रास्कोट क्षेत्र

– महावै क्षेत्र

– तिलागुफा क्षेत्र

– कर्णाली नदी तथा आसपासका प्राकृतिक भू–दृश्य

७. जुम्ला

– सिञ्जा उपत्यका – नेपाली भाषा तथा खस सभ्यताको ऐतिहासिक उद्गमस्थल

– चन्दननाथ मन्दिर

– चन्दननाथ–भैरवनाथ क्षेत्र

– पातारासी हिमाल

– तिला नदी क्षेत्र

– सिञ्जाका ऐतिहासिक तथा पुरातात्त्विक स्थल

८. मुगु

– रारा ताल – कर्णालीको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य

– रारा राष्ट्रिय निकुञ्ज

– छायाँनाथ धाम

– मुर्माटप

– रारा आसपासका पदमार्ग तथा गाउँहरू

९. हुम्ला

– लिमी उपत्यका

– लिमीका प्राचीन गाउँ तथा गुम्बाहरू

– नाम्खा क्षेत्र

– सिमकोट

– हिल्सा

– कैलाश–मानसरोवर जाने मार्गसँग जोडिएको क्षेत्र

– कर्णाली नदी र हिमाली पदमार्ग

१०. डोल्पा

– फोक्सुण्डो ताल

– शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

– फोक्सुण्डो झरना

– शे गुम्बा , बाला त्रिपुरासुन्दरी

– डोल्पोका प्राचीन बस्ती तथा गुम्बाहरू

– फोक्सुण्डो–शे–डोल्पो पदमार्ग

– कागमारा तथा अन्य हिमाली पदमार्ग

ताजा अपडेट

खोजी गर्नुहोस