मधेसमा तीन वर्षभित्र इन्जिनियरिङ पढाइ सुरु हुन्छ : शिक्षामन्त्री पोखरेल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • ३६ पटक पढिएको
मधेसमा तीन वर्षभित्र इन्जिनियरिङ पढाइ सुरु हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २८ भदौ। सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।

मधेसमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले काठमाडौँलगायत अन्य प्रदेश जानुपर्ने बाध्यता घटाउने उद्देश्यसहित क्याम्पस स्थापना गर्न लागिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मधेस प्रदेशबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्य प्रदेश जाने गरेका छन् । यसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसोबास, आवागमन र अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको भन्दै सरकारले प्रदेशमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउने नीति अघि सारेको हो ।

मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया सुरु भइसकेको छ । स्थान छनोटका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापना गरिने स्थान तय गरिनेछ ।

क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भई नसकेको भए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले प्रस्तावित क्याम्पसलाई परम्परागत पठनपाठनमै सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित बनाउने योजना पनि अघि सारेको छ । आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको बताइएको छ ।

सरकारका अनुसार मधेसमा आइओईको क्याम्पस स्थापना भएपछि प्रदेशकै विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरिएको छ । साथै स्थानीय स्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास लिइएको छ ।

हाल त्रिवि अन्तर्गत आइओईका आङ्गिक क्याम्पसहरू पुलचोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् । मधेस प्रदेशमा नयाँ क्याम्पस थपिएपछि इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुने सरकारको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस