
काठमाडौं, २८ भदौ। सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका-३ का ३४ वर्षीय सागर रेग्मी रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् ।
आइतबार बिहान २:५० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनीहरू दुवै जना गम्भीर घाइते भएका थिए ।
दुवै जनाको उद्धार गरी बिहान उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाइएको थियो ।
उपचारका क्रममा रेग्मी र थापाको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
