
काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताइन् ।
साथै, उनले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाइन् ।
‘सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनएको रिपोर्ट म्याच भएपछि मात्रै दिन्छौँ भन्ने रहेको छ । पुलिस अस्पतालमा उहाँहरूले डिएनएको लागि रगत दिएको पनि १५ दिन भइसकेको छ । अझै पनि रिपोर्ट आएको छैन । डीएनए प्रमुखले सबैको डिएनए रिपोर्ट एकैपटक निकाल्ने भएको कारण समय लाग्ने कुरा गरेको पीडितको गुनासो छ,’ उनले भनिन् ।
उनका अनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उनले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताइन् ।
‘हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिनुपर्ने भएको कारण ३, ४ महिना पनि लाग्नसक्छ भन्ने कुरा गर्नुभएको रहेछ । उहाँ एक जना मात्र नभई यो अवस्थाबाट गुज्रिरहेको धेरै जना हुनुहुन्छ । पीडा भएको मान्छे यतिधेरै कुर्न सक्दैन । यस विषयमा राज्यको संवेदनशीलता आवश्यक छ,’ उनले भनिन्, ‘अनुहारसहित स्पष्ट रुपमा शव पहिचान गरेर गरिएको दाबी भएको कारण म राज्यसँग स्पष्ट अनुरोध गर्न चाहन्छु, पहिचान भइसकेका शवलाई सम्बन्धित परिवारलाई जिम्मा दिनुपर्यो । होइन डीएनए नै चाहिने हो भने छिट्टै रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्यो भन्ने उनीहरूको माग छ । पूर्ण पहिचान भएका शवको सनाखत गरी तत्काल हस्तान्तरण गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’
