
काठमाडौँ ,०२ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३.७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मंगलबार मध्यराति १ बजेर २५ मिनेटको समयमा सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।
प्रहरीका अनुसार वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका वाङलाई बरामद गरिएको सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
