१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने प्रहरीको फन्दामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ३, बुधबार (१० घण्टा अघि)
  • ६२ पटक पढिएको
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने प्रहरीको फन्दामा

काठमाडौँ ,०२ मंसिर।  बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने ( विश्वकर्मा) पक्राउ परेका छन् ।

उनलाई सीआईबीको टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गरे ।

यसअघि गृहमन्त्री सुधन गुरुङले समेत सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्वलाई न्याय भएको बताएका छ । गुरुङले बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको लेखेका छन् ।

उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको बताएका छन् ।

उनले अभियन्ता हुँदा वा जेनजी आन्दोलन पश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उल्लेख गरे ।

गुरुङले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने बताएका छन् ।

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले धरान सहित देशभरका चार हजार ७७२ जना भन्दा बढीको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोप लाग्दै आएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि लामिछाने फरार थिए ।

संस्थाका अध्यक्ष सहित सञ्चालक फरार भएपछि रकम फिर्ताको माग राख्दै पीडितहरूले उजुरी दिएका थिए । उजुरीपछि सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ। सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार छन्।

बचतकर्ताको रकममध्ये सबैभन्दा हिनामिना शिवकुमार लामिछानेले गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ। जसमा शिवकुमारले मात्र २ अर्ब ७१ करोड ३१ लख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस