निर्वाचनबारे सहमति जुटाउन आयोगले बोलायो ६ राजनीतिक दलका प्रमुख

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ३, बुधबार (८ घण्टा अघि)
  • ६२ पटक पढिएको
निर्वाचनबारे सहमति जुटाउन आयोगले बोलायो ६ राजनीतिक दलका प्रमुख

काठमाडौँ ,०२ मंसिर।  निर्वाचन आयोगले आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्न आगामी शुक्रबार बैठक बोलाएको छ ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त ६ दलका प्रमुखलाई छलफलका लागि बोलाएको हो । आयोगले रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुखलाई बैठकमा बोलाएको छ ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा अलग–अलग गर्ने भन्ने विषयमा चासो बढिरहेका बेला आयोगले दलहरूसँगको छलफलमा ती विषयमा समेत सुझाव लिने गरी बैठक बोलाएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीका अनुसार दलहरूसँग परिचयात्मक छलफल गर्न बैठक बोलाइएको हो । ‘निर्वाचन घोषणा गर्ने विषय सरकारको हो । कतिपय दलमा नेतृत्वसमेत परिवर्तन भएको अवस्थामा आयोगले राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुखहरूसँग परिचयात्मक रूपमा छलफल गर्न बोलाएको हो,’ उनले भने ।

आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदासमेत तयार पारेर गृह मन्त्रालयमा पठाइसकेको छ ।

उक्त मस्यौदामा विदेशमा रहेका गैरआवासीय नेपालीलाई मतदानको अधिकार दिने व्यवस्थालगायतका विषय समेटिएका छन् । शुक्रबारको छलफलमा निर्वाचनको तयारीसँगै एकीकृत निर्वाचन कानुन र विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा समेत कुराकानी हुन सक्ने आयोग स्रोतले जनाएको छ

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा बहस भइरहेका बेला आयोगले दलहरूसँग छलफल गर्न लागेको हो । स्थानीय तह र प्रदेशसभाको निर्वाचनको कार्यकाल, निर्वाचन व्यवस्थापनलगायतका विषयमा आयोगले दलहरूको धारणा बुझ्न सक्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस