प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध रौतहटका पत्रकारको सिडियो कार्यालय अगाडी धर्ना

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध रौतहटका पत्रकारको सिडियो कार्यालय अगाडी धर्ना

वर्तमानकाल सम्वाददाता
मंसिर ०९, रौतहट
पत्रकारमाथि सामूहिक गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रतामाथि राज्यपक्षबाट भइरहेको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटले जिल्ला प्रशासन कार्यालय गौरअगाडि धर्ना दिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको संरक्षणको माग गर्दै महासंघले बुधबार विरोध प्रदर्शनसहित धर्ना कार्यक्रम सम्पन्न गरेको हो । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सरकार तथा सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका थिए ।

उनीहरूले पत्रकारलाई समाचार संकलन तथा प्रकाशन गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नसमेत सरका नेपाल पत्रकार महासंघले पछिल्लो समय देशका विभिन्न स्थानमा पत्रकारमाथि भइरहेको धरपकड, सामूहिक गिरफ्तारी तथा सञ्चारमाध्यममाथि सिर्जना गरिएका अवरोधप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघका अनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिनु, पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्नु र सञ्चारमाध्यमको स्वतन्त्र कार्यसम्पादनमा हस्तक्षेप गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको छ ।

त्यसैगरी, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको विषयलाई पनि महासंघले गम्भीर रूपमा लिएको जनाएको छ । स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने तथा सञ्चारमाध्यममाथि सरकारी नियन्त्रण बढाउने कुनै पनि गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि उचित नहुने महासंघको ठहर छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेस्र्याएर अवरोध सिर्जना गर्ने, पत्रकारलाई समाचार संकलनका क्रममा रोक्ने तथा समाचार प्रकाशनमा दबाब दिने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही हुन नसकेको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

यस्ता गतिविधिले पत्रकारको पेसागत स्वतन्त्रता मात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुने महासंघको भनाइ छ । यसैगरी, सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई जबरजस्ती निष्कासन गर्ने, श्रमजीवी पत्रकारको श्रम अधिकार उल्लंघन गर्ने तथा गोरखापत्रलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकारको रोजगारी असुरक्षित बनाउने गतिविधिप्रति पनि महासंघले ध्यानाकर्षण गराएको छ । पत्रकारले पाउनुपर्ने न्यूनतम पारिश्रमिक, सेवा सुविधा र पेसागत सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित सञ्चारगृह तथा
सरकारी निकायसँग माग गरिएको छ ।

पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा समेत महासंघले आपत्ति जनाएको छ । सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने यस्ता निर्णय तत्काल सच्याई लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराउनुपर्ने महासंघको माग छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर’ भन्ने मुख्य नारासहित आयोजित धर्नामा रौतहट जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सहभागी पत्रकारहरूले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब, धरपकड र गिरफ्तारी स्वीकार्य नहुने बताएका थिए । महासंघले पत्रकारलाई सामूहिक रूपमा गिरफ्तार गर्ने, समाचार कक्षमा
प्रहरी प्रवेश गराउने तथा सञ्चारमाध्यमको काममा अवरोध सिर्जना गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

साथै, पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न, पत्रकारमाथि भएको धरपकडको निष्पक्ष छानबिन गर्न र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ । पत्रकारका पेसागत अधिकार, श्रम अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि नेपाल पत्रकार महासंघले देशव्यापी रूपमा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार देशभरका जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयअगाडि
विरोध प्रदर्शन तथा धर्ना दिएका हुन् । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्नु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने गतिविधि नरोकिए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ ।

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस