महिना दिनदेखि निरन्तरजसो चलिरहेको सत्तापक्ष र विपक्षी दलको सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आआफ्नै तर्क लगाएर विरोध गरिरहेका छन्। सामान्यदेखि असामान्य विषयमा उत्पन्न विवादको असन्तुष्टि पोख्ने थलोका रूपमा सडक प्रयोग गर्ने गलत अभ्यासले जनतालाई पारेको मर्कातर्फ भने कसैले पनि सोचेको पाइँदैन। निमुखा जनतालाई देखाएर राजनीति गरेको दाबी गर्ने दलले सत्ताप्राप्तिका लागि आन्दोलन गर्दा तिनै जनताको व्यथा चटक्कै बिर्सने स्वार्थी प्रवृत्ति त्याग्नुपर्छ। एक पक्षले अधिकार प्राप्तिका लागि लडाइँ गर्दा अर्काको अधिकारमाथि हस्तक्षेप गर्नुहुन्न।
संसद् विघटनपछि दुई कित्तामा उभिएको नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच सडकमा सभा, जुलुस, धर्नाको जुहारी चलिरहेको छ। एउटा पक्षले आन्दोलन गरेपछि अर्को पक्षले त्योभन्दा ठूलो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेको छ। गुटगतरूपमा विभाजित कार्यकर्ताबाट हुने टुक्रे आन्दोलनको हिसाब नै छैन। जसले सधैंजसो सडक अशान्त पारेको छ। यात्रु घन्टौंसम्म जाममा बस्नुपर्दा तोकिएको समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। उनीहरूको महत्वपूर्ण काम छुटिरहेको छ। अस्पताल लगिएका बिरामी बाटोमै देह त्याग्नुपर्ने अवस्थमा पुगेका छन्। परीक्षार्थीलाई निर्धारित समयमा केन्द्रसम्म पुग्न समस्या भएको छ। भीड व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई परेको समस्याको बखान गरिसाध्य छैन। आन्दोलनकारीले यी सबै समस्या नबुझेका होइनन्। सत्तालाई मात्रै अर्जुनदृष्टि बनाउने गलत आचरण उनीहरूमा छ। नेकपाको प्रचण्ड समूहद्वारा बिहीबार आह्वान गरिएको आम हड्ताल पनि दलका नेता तथा कार्यकर्तामा झाँगिदै गएको गलत आचरणको उच्चतम नमुना हो। यो कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन। तसर्थ जुनसुकै दलले पनि आन्दोलनका नाममा सडक अवरोधको काम रोक्नुपर्छ।
यतिखेर स्कुल कलेजदेखि लोकसेवा आयोगको समेत परीक्षा चलिरहेको छ। हड्तालका कारण जिन्दगीको गन्तव्य नै बदल्न सहयोगी सावित हुने परीक्षामा कसरी सहभागी हुने भन्ने चिन्ता सर्वत्र व्याप्त छ। सडक आन्दालेनकै कारण यसअघि पनि परीक्षार्थीले पटक-पटक सास्ती खेप्दै आएका छन्। आन्दोलनकारीमा थोरै मात्र मानवीय संवेदना भइदिएको भए यस्तो संवेदनशील अवस्थामा हड्ताल नै गर्ने थिएनन्। कार्यक्रम नै गर्नुपरे पनि सर्वसाधारणलाई सकस नपर्ने गरी निश्चित मिति र स्थान तोक्ने थिए। यसप्रकारको अमानवीय गतिविधिले राजनीतिक दलप्रति जनतामा बढ्दै गएको वितृष्णालाई थप मलजल गरेको छ। मिति नै तोकिसकेको चुनावका लागि जनमत बटुल्न जनपक्षीय कामतर्फ ध्यान दिनुपर्नेमा त्यसविपरीत हुनेगरी गतिविधि तय गर्नु यात्रामा उल्टो बाटो तय गर्नुसरह हो। यस्तो यात्राबाट कहिल्यै गन्तव्यमा पुगिँदैन। यसले जनतालाई थप आक्रोशित तुल्याउँछ। जिम्मेवार दलले यस्ता गतिविधि रोक्नुपर्छ र कार्यकर्तालाई असल राजनीतिक संस्कार सिकाउनुपर्छ।
सरकारको गलत कामको विरोध गर्ने र जनजीविकाका पक्षमा शान्तिपूर्ण सडक प्रदर्शन गर्ने अधिकार लोकतन्त्रले दिएको छ। तर यतिखेर सडकमा पोखिएको असन्तुष्टिले दैनिक गुजारा गरेर जीविका धानिरहेका बहुसंख्यक नागरिकका समस्यालाई छोएको छैन। अकासिएको बजार मूल्य नियन्त्रण, शैक्षिक तथा प्रशासनिक सुधार, बेरोजगारी व्यवस्थापन, न्यायको पर्खाइमा वर्षोंदेखि भौंतारिरहेका नागरिकको मर्कामा मलहम लगाउनेलगायतका विषयलाई चटक्कै बिर्सेर राजनीतिक मिसन पूरा गर्ने नाममा गरिने आन्दोलनको कुनै तुक छैन। सयौंको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रमा बन्दलाई विरोधको औजार ठान्नु हुँदैन। विचारको राजनीतिक लडाइ लडौं। गल्तीको पर्दाफास गरौं र जनताको मन जितौं।