रिंकुकुमारी हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई जेल सजाय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ दिन अघि)
  • १०३ पटक पढिएको
रिंकुकुमारी हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई जेल सजाय

सिरहा, १८ वैशाख। सिरहाको नवराजपुर गाउँपालिका – १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायमाथि भएको सामूहिक बलात्कार र त्यसपछि भएको शङ्कास्पद मृत्युको घटनामा जिल्ला अदालत सिरहाले १४ जनालाई दोषी ठहर गरेको छ।

अदालतले घटनामा प्रत्यक्ष संलग्न व्यक्तिदेखि अपराध लुकाउन भूमिका खेलेका जनप्रतिनिधिसम्मलाई कैद र जरिवानाको सजाय सुनाएको हो। मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि फैसला गर्दै घटनालाई गाउँमै दबाउने प्रयास भएको निष्कर्ष निकालेको अदालत स्रोतले जनाएको छ।

फैसलाअनुसार पञ्चायतीमार्फत घटनालाई मिलाउन खोज्ने वडा सदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायलाई जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना गरिएको छ। वडा सदस्य भएर पनि कानुनी प्रक्रियालाई प्रभावित पार्न खोजेको भन्दै नथुनी साहलाई थप ६ महिना कैद सजाय सुनाइएको अदालतले जनाएको छ।

त्यस्तै, घटनामा प्रत्यक्ष रूपमा जोडिएका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ भने अतिरिक्त क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने निर्णय गरेको छ।

घटना २०८१ साल माघ २७ गते रातिको हो। शौचका लागि घरबाहिर निस्किएकी रिंकुकुमारीलाई स्थानीय तीन युवकले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको अभियोग थियो। रातभरको पीडापछि बिहान करिब ३ बजे घर फर्किएकी उनले आफ्नी आमालाई घटनाबारे बताएकी थिइन्।

तर, घटनाबारे प्रहरीलाई जानकारी गराउनुको सट्टा गाउँमै मिलाउने प्रयास गरिएको थियो। त्यसका लागि माघ २९ र ३० गते वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक पञ्चायती बसेको थियो। उक्त पञ्चायतीले आरोपित पक्षबाट एक लाख ५१ हजार रुपैयाँ जरिवाना उठाएर विषय टुंग्याउने सहमति गरेको खुलेको छ।

पछि रकम बाँडफाँटमै विवाद भएपछि सहमति कार्यान्वयन हुन सकेन। त्यसै दिन रिंकुकुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा शव फेला परेकाले घटनालाई सुरुदेखि नै रहस्यमय र शङ्कास्पद रूपमा हेरिँदै आएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस