
काठमाडौँ ,०३ मंसिर। नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई १५ दिनभित्र सम्पूर्ण रकम चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सूचनाअनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम तथा सोमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता लामो समयदेखि बुझाएका छैनन्। बक्यौता रकम नबुझाएकै कारण ती कम्पनीहरूको अनुमतिपत्र (लाइसेन्स) समेत नवीकरण हुन नसकेको प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता रकम चुक्ता गरी जानकारी गराउन निर्देशन दिएको छ। तोकिएको समयावधिभित्र बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम ती सेवा प्रदायकहरूको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ।
बक्यौता तिर्न ताकेता गरिएका २० सेवा प्रदायकहरूः
१. अलिशा कम्युनिकेसन लिंक प्रालि, बछ्यौली–२, चितवन
२. एरोनेट प्रालि, त्रिपुरेश्वर–११, काठमाडौं
३. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, सानेपा, ललितपुर
४. क्लासिक टेक प्रालि, नयाँ बानेश्वर, काठमाडौं
५. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रालि, जावलाखेल, ललितपुर
६. एभरेस्ट वायरलेस नेटवर्क प्रालि, नारायण नगरपालिका–१, दैलेख
७. जीआरएस लिंक इन्टरनेट सर्भिस प्रालि, व्यास नगरपालिका–०२, तनहुँ
८. आई जोन प्रालि, उर्लाबारी–२, मोरङ
९. कालिका नेट प्रालि, चापाकोट, स्याङ्जा
१०। खप्तड नेट प्रा।लि।, मगलसेन, अछाम
११. कनेक्ट नेपाल नेटवर्क्स प्रालि, थसिखेल–५, ललितपुर
१२. मर्कन्टाइल कम्युनिकेसन प्रालि, दरबारमार्ग, काठमाडौं
१३. नेक्स्ट गिकर्स प्रालि, काठमाडौं महानगरपालिका–२९
१४. नुम्बुर नेटवर्क प्रालि, काठमाडौं महानगरपालिका–७
१५. पोखरा इन्टरनेट प्रालि, गैह्रापाटन, पोखरा, कास्की
१६. साङ्ग्रिला इन्फर्मेटिक्स प्रालि, काठमाडौं महानगरपालिका–३३, अनामनगर
१७. सुपर सितापाइला केबल नेट प्रालि, नागार्जुन नगरपालिका–०४, काठमाडौं
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड, भरतपुर–३, चितवन
१९. अल्ट्रानेट कम्युनिकेसन प्रालि, बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि, धुम्बाराही, काठमाडौं
