सरकारी जग्गा किर्ते गरी बिक्री गरेको आरोप, सर्लाहीमा ७ जनाविरुद्ध मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (९ मिनेट अघि)
  • १४ पटक पढिएको
सरकारी जग्गा किर्ते गरी बिक्री गरेको आरोप, सर्लाहीमा ७ जनाविरुद्ध मुद्दा

सर्लाही,११ मंसिर। सरकारी जग्गाको अभिलेख किर्ते गरी व्यक्तिका नाममा दर्ता तथा बेचबिखन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सर्लाहीको ११ कट्ठा दुई धुर जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेशकुमार झाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

त्यसैगरी, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा आफ्नो नाममा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति–२ (ख) अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा नक्कली जग्गाधनी पुर्जा तयार गरी बेचबिखन गरिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा सरकारी अभिलेख नै अनधिकृत रूपमा परिवर्तन गरिएको खुलेको आयोगको दाबी छ।

अनुसन्धानका क्रममा उक्त जग्गा वास्तविक रूपमा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको पाइएको आयोगले जनाएको छ। तर, यसअघि उक्त जग्गाको हकभोगमा नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा जग्गा रहेको देखाएर अभिलेख परिवर्तन गरिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारूका नाममा जग्गा दाखिल खारेज गरेका थिए। उनीहरूले गलत लिखत तयार पार्नुका साथै सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ।

यस प्रकरणमा तत्कालीन मालपोत कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

त्यस्तै, तत्कालीन वडा सचिव रायविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ।

जग्गा आफ्नो नाममा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसुरदारसरह सजाय हुनुपर्ने माग आयोगले गरेको छ।

सरकारी जग्गाको अभिलेख नै किर्ते गरी व्यक्तिका नाममा दर्ता तथा कारोबार गरिएको यो प्रकरणले मालपोत कार्यालयको अभिलेख व्यवस्थापन र सरकारी जग्गाको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ। अब विशेष अदालतमा हुने न्यायिक प्रक्रियाबाट आरोपितहरूको कसुर तथा दोषी–निर्दोषीको टुंगो लाग्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस